देश

फुटपाथ पसल र पार्किङ हटाउनु स्वागतयोग्य कदम

काठमाडौं । फुटपाथ पैदलयात्री हिँड्न र सडक सवारीसाधन गुड्नका लागि बनाएको हो । फुटपाथ होस् या सडक दुवै राज्यकै लगानीमा बनेको छ । फुटपाथ पसल थाप्ने र पार्किङ गर्ने ठाउँ होइन । तर, घरधनीहरूले कोठावालसँग भाडा उठाउँछन्, पार्किङ दिँदैनन् ।

कोठावालहरूले आफ्नो सवारीसाधन फुटपाथमा पार्किङ गर्छन् । एउटै कोठाको मासिक आठदेखि १० हजार रुपैयाँसम्म उठाउने घरधनीले कोठावाललाई पार्किङको सुविधा पनि दिँदैनन् । भाडा आफू उठाउँछन्, गाडी चाहिँ सडकमा लगेर पार्किङ गर्छन्् ।
सटर लिनेहरूको अवस्था पनि त्यस्तै छ । अधिकांश घरमा अन्डरग्राउन्ड पार्किङ छैन । भएकामा पनि घरधनीले पैसा लिएर पसल सञ्चालन गर्न दिएका छन् । पसलमा सामान किन्न आउनेहरूले फुटपाथमै सवारी रोकेर राखिदिन्छन् । घरधनीहरू भने भाडा असुल्नतर्फ मात्र केन्द्रित छन् ।

घरधनीहरूले फुटपाथसमेत भाडामा लगाएका छन् । आफ्नो घरअगाडि फुटपाथमा पसल थाप्नेहरूबाट घरधनीहरूले मासिक भाडा असुल्ने गरेका छन् । फुटपाथमा पसल राखिदिँदा र सवारी पार्क गरिदिँदा पैदलयात्री बीच सडकबाट हिँड्न बाध्य छन् । जसकारण दुर्घटना बढेको छ ।

फुटपाथ पसल र सवारी पार्किङले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको छ । फुटपाथ पसलेहरू एकदमै गैरजिम्मेवार छन् । पसल राख्ने, आफू कमाउने अनि सडक फोहोर पारेर हिँडिदिने । अस्तव्यस्त फुटपाथ पसलका कारण सहरको सुन्दरतामा ह्रास आएको छ । फुटपाथबाट हिँड्नेलाई उत्तिकै सास्ती छ ।

घरधनीहरूले बाटो मिचेर घर बनाएका छन् । थोरै जग्गामा अग्लाअग्ला भवन ठड्याएका छन् । ती घर सबै भाडामा लगाइएको छ । घरधनीहरू लाज पचाएरै कोठावालहरूबाट पैसा उठाइरहेका छन् । भाडा लिन सक्नेले घर बनाउँदा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्दैन ?

भक्तपुर र ललितपुरमा सडकमा हिँड्न सक्ने अवस्था छैन । फुटपाथ पसल र पार्किङका कारण यी जिल्ला फोहोर र कुरूप देखिन थालेको छ । भक्तपुरमा त पैदलयात्रीहरू ज्यान जोखिममै राखेर सडकको बीचबाट हिँड्छन् । काठमाडौं महानगरपालिकाले त फुटपाथ पसल र पार्किङ हटाउन थालेको छ ।

जुन राम्रो कुरा हो । ‘कसैको व्यापारका लागि कोही बलि चढ्ने’ अवस्थाको अन्त्य हुन्छ । भक्तपुरमा चारवटा नगरपालिका छन् । सबै उस्तै छन्, भाषण गर्ने काम नगर्ने । नगर प्रहरी पनि मेयरजस्तै छन् । दिनभरि गफिने, ३ बजेबित्तिकै कुलेलम ठोक्ने ।

ललितपुर महानगरपालिका पनि पछिल्लो समय सुस्ताएको छ । भक्तपुर र ललितपुरका मेयर सुस्ताउँदा काठमाडौका मेयर बालेन्द्र साह बालेन आफ्नो काम गरिरहेका छन् । महानगरका प्रहरी सहर सुन्दर बनाउन जोडतोडका साथ लागिपरेका छन् । फुटपाथमा पसल राखेर खान पल्केका र सवारी पार्क गरेर पैसा उठाउन नपाएकाहरूले मात्रै नगर प्रहरीको विरोध गरेका छन् ।

पैदलयात्रीहरू महानगरको यो कामप्रति खुसी छन् । यहाँका व्यापारीलाई विरोध गर्नु छ भने घरधनीको गर, महानगरको होइन । व्यापारीहरूले घरधनीलाई भाडा बुझाएका छन् । महँगो भाडा लिएर सेवासुविधा नदिने घरधनी हुन्, महानगर होइन् । महानगरले काठमाडौंलाई सफासुन्दर र व्यवस्थित सहर बनाउन खोजेको छ । यो सबैको लागि राम्रो कुरा हो ।

राजधानीका घरधनीहरू आफूलाई सुकिलामुकिला ठान्छन् । आफू चट्ट परेका हिँडेका छन्, तर आफू हिँड्ने र बस्ने सहर कस्तो छ ? तिनलाई मतलब छैन । शहर अस्तव्यस्त बनाएर आफूलाई ‘हाई स्ट्यान्डर्ड’ भन्न यिनीहरूले लाज लाग्नुपर्ने हो । फुटपाथ सरकारी सम्पत्ति हो । तर, घरधनीहरूले त्यसलाई आफ्नो व्यक्तिगत सोचेका छन् । पैसा महिनैपिच्छे आफू लिने अनि फुटपाथमा गएर पार्किङ गर भन्ने ।

घरधनीहरूले कि पार्किङको व्यवस्था गर, नत्र भाडामा लगाएर भाडा पनि नलेऊ । सरकारको सम्पत्ति कब्जा गर्ने अधिकार कसैलाई छैन । घरधनीहरू आफ्नो घरभित्रको फोहोर पनि सडकमा ल्याएर फ्याक्छन् । जसले गर्दा बाटो हिँड्नेलाई कम्ता सास्ती हुँदैन । महानगरले पटकपटक फोहोर वर्गीकरण गर्न आग्रह गरिसकेको छ, तर यिनीहरू टेर्दैनन् । आफ्नो घरभित्र फोहोर हुन नहुने अनि सडक फोहोर पार्न मिल्ने ?

महानगर अझै पनि घरधनीहरूमाथि नरम भएको छ । आफ्नो घरअगाडिको बाटाघाटा, फोहोर व्यवस्थापनको जिम्मा महानगरले घरधनीलाई नै दिनुपर्ने हो । नटेर्नेलाई कारबाहीको व्यवस्था मिलाउनुपर्छ । घरभित्र सफा चाहिनेलाई सडक सफा चाहिँदैन ? उनीहरूले गर्दा सयौं पैदलयात्रीलाई सास्ती हुन्छ । दुर्गन्धको सामना गर्नुपर्छ । तरकारी केलाएकोदेखि महिनावारी हुँदा लगाएको प्याडसमेत सडकमा फालिन्छ । यही हो काठमाडौंबासीको सभ्यता ? मुलुकभरका आमनागरिकमध्ये काठमाडौंबासी सबैभन्दा पढेलेखेकामा गनिन्छन् ।

बाटाघाटामा फोहोर फाल्नु हुँदैन । आफ्नो हकअधिकारको प्रयोग गर्दा उनीहरूको बारेमा पनि ख्याल गर्नुपर्छ । समाज र सरकारप्रति जिम्मेवार हुनुपर्छलगायतका कुरा यिनले पढेनन् जस्तो छ । सरकारले मात्रै सबैतिर हेरेर भ्याउँदैन । घरघर सफा गर्दै हिँड्नु सरकारको दायित्व होइन । घरधनीहरूको कर्तव्य हो । तर, यो कुरा उनीहरू बुझ्दैनन् । अब उनीहरूलाई पढेलेखेको भन्ने कि ‘अनपढ’ । सरकारले कोठा भाडा र सटर भाडा तोकिदिएको होइन ।

घरधनी र बहालवालाको आपसी सहमतिमा कोठा र सटर भाडामा लिइएको हो । हजार तिरुन् या लाख, पाउने घरधनी हो । अहिले महानगरले पार्किङ गर्न दिएन, आफ्नो व्यापार भएन भनेर रोदन मच्चाएर के गर्नु ? यो गुनासो महानगरलाई सुनाएर केही फाइदा छैन । घरधनीलाई लगेर सुनाउँ । घरधनीलाई दबाब दिऊ । अनि मात्र तिनको आँखा खुल्छ कि ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *