काठमाडौं । दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङले सावाँ र ब्याज गरी नेपाल बैंक लिमिटेडको दुई करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको खुलेको छ । नेपाल बैंकले नेम्वाङसमेतको नाममा लिलामीको सूचना निकालेपछि यो तथ्य बाहिरिएको हो ।
नेम्वाङ पूर्वसभामुख, संविधानसभाको अध्यक्ष तथा पूर्वमन्त्रीसमेत हुन् । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि बैंकले धितो लिलामीको सूचना निकालेको हो ।
बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देवकुमारी लिम्बू .(सुवास नेम्वाङको बुहारी) र रुद्रप्रसाद (काजिमान) गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ ९(क)मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैतमा डेढ करोड रुपैयाँ ऋण लिएका थिए ।
तर, ऋण लिएको लामो समय बित्दा पनि ऋणको किस्ता नआएपछि बैंकले ऋण तिर्न ताकेता गर्न सुरु गरेको थियो । ऋण चुक्ता गर्न पटकपटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि अहिले बैंकले धितो लिलामीको सूचना निकालेको छ ।
बैंकका अनुसार नेम्वाङको जग्गा धितो राखेर लिइएको ऋणमध्ये एक करोड ५० लाख रुपैयाँ साँवा र ब्याज करिब ८० लाख रुपैयाँ तिर्न बाँकी छ ।
बैंकले लिलामीको सूचना जारी गरेको मिति (२०८० माघ ५ गते) ले ३५ दिनभित्र ऋणी तथा व्यक्तिगत जमानकिर्तालाई बैंकको सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न अन्तिम मौका दिइएको जनाएको छ । सो अवधिमा पनि ऋण चुक्ता नभए ऋणी र जमानीकर्तालाई कालोसूचीमा राखी धितो लिलामीको प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
बैंकले यसअघि नै कर्जा लिएका ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । तर, नेम्वाङ स्वयं आफैँले कर्जा चुक्ता गर्ने भनेपछि बैंक त्यसबेला ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने कार्यबाट पछि हटेको थियो । नेम्वाङको गत भदौमा निधन भएको थियो । उनका दुई छोरा छन् ।




