काठमाडौं । माओवादी उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पार्टीको मन्त्रीभन्दा बाहिर जान सकेका छैनन् । सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालेका श्रेष्ठ आफ्नो पार्टीका नेता कार्यकर्ता जोडिएको अपराधबारे मौन बस्ने गरेका छन् । तर अरु दलका नेता कार्यकर्ता जोडिएको भेटेमा तत्काल पक्राउ गराउने, फेला नपरे पक्राउ पुर्जी जारी गर्न लगाउने, मुद्दा चलाउन दबाब दिने काम उनले गर्दै आएका छन् ।
१५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो ।
हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ ।
छोराले त्यसविरुद्ध आवाज उठाएपछि हत्या भएको नन्दबहादुरको आरोप छ । उनका अनुसार वीरेन्द्रनगर–३ स्थित तातापानीमा आफन्तको घरमा बस्ने राजबहादुर बसपार्कमा खाना खान्थे । खाना खाएर फर्कंदै गर्दा तत्कालीन अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहसहितका माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको देउती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यत्रो ठूलो घटनामा अदालतले पक्राउ पुर्जी जारी गर्न लगाउँदा पनि गृहमन्त्री श्रेष्ठले चासो देखाएका छैनन् । आफ्नै पार्टीको भ्रातृसंगठन अखिल क्रान्तिकारीकी अध्यक्ष भएकाले पनि श्रेष्ठले मौनता साँधेका हुन् ।
यसअघि माओवादीका नेताहरू वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरालगायत सुन तस्करीमा जोडिए पनि श्रेष्ठले त्यसलाई सामसुम पार्न लगाएका थिए । उनले पार्टीका नेताहरूलाई प्रतिवादी बनाएर मुद्दा नहाल्न निर्देशन दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मुद्दा कमजोर बनाएको थियो ।
आफ्नो पार्टी इतरका नेता कार्यकर्ता जोडिएको मुद्दामा भने उनी निकै सक्रिय रहन्छन् । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी पक्राउ पर्दा गृहमन्त्री श्रेष्ठले आफूले कसैलाई पनि नछाड्ने चेतावनी दिएका थिए । जबकि नक्कली शरणार्थी प्रकरणमा मुख्य डिजाइनर नै माओवादी कार्यकर्ता सन्देश शर्मा र सानु भण्डारी हुन् । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफ्ना नेताहरू तानिने भएपछि श्रेष्ठले मुद्दा कमजोर पार्न लगाएको बताइन्छ ।
यतिबेरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध सहकारी विभागमा उजुरीसमेत परेको छ । गृहमन्त्री श्रेष्ठले सिआईबीलाई भनेर रविविरुद्धको उजुरीमाथि छानबिन गर्न निर्देशन दिइसकेका छन् । केही समयअघि संसदीय समितिको बैठकमै श्रेष्ठले रविलाई पटकपटक उम्कन नसक्ने भन्दै जुनसुकै बेला उनी जोडिएको मुद्दामा कारबाही हुन सक्ने चेतावनी दिएका थिए ।




