राजनीति

रविको व्यक्तिगत काण्डले रास्वपाकै साख दाउमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले जे जस्तो विवादमा आएका छन्, ती सबै राजनीतिमा नआउँदा नै भएका हुन् । पार्टी गठन भएपछि पनि उनी विवादमा तानिए ।

चुनावमा आफ्नालाई टिकट दिएको, केन्द्रीय समितिमा वरिपरिकालाई च्यापेको, योग्यलाई कुनै भूमिका नदिएको, समानुपातिक टिकट दिँदा पैसा असुलेको जस्ता आरोप उनीमाथि लागेका छन् । यसको व्यवस्थापन गर्ने जिम्मा उनकै हो । अहिलेसम्म यसमा उनी सफल पनि देखिएका छन् ।

तर अमेरिकी बैंकमा ऋण तिर्न नसकेको काण्ड, सहपाठी शालिकराम पुडासैनी आत्महत्या काण्ड, तीन–चारवटी श्रीमती काण्ड, दोहोरो नागरिकता र राहदानी प्रकरण, सहकारी ठगीसम्बन्धी काण्ड नितान्त उनका व्यक्तिगत हुन् । यसमा पार्टीलाई जोड्नै मिल्दैन । तर रविले अहिलेसम्म सबैमा पार्टीलाई नै तानेका छन् । नेतृत्वमा बस्नेमाथि विभिन्न आरोप लाग्न सक्छन् ।

त्यसमा पार्टीलाई नै विवादमा तान्नु हुँदैन । मुछ्ने काम गर्नु हुन्न । तर रविले सोमबार गरेको पत्रकार सम्मेलनमा पार्टीकै साख दाउमा लगाएका छन् ।रविले सबैभन्दा पहिले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्नै हुन्नथ्यो । किनभने त्यो पार्टीसँग जोडिएको विषय नै थिएन । यसमा नितान्त उनी एक्लै जोडिएका हुन् ।

गोर्खा मिडिय नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा रास्वपा गठन भएकै थिएन । तर रविले जानीजानी पार्टी कार्यालय प्रयोग गरे । त्यसपछि उनले आफूमाथि लागेको आरोपबारे बोल्न उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य अनिलकेशरी शाह तथा वरिष्ठ अधिवक्ता सुशील पन्तलाई दायाँबायाँ राखे । उनले यसो गर्नुको पछाडि दिग्गज व्यक्तिले बोलेको कुरा सबैले विश्वास गर्छन् र पत्याउँछन् भन्ने नै हो । यसमा रवि केही हदसम्म सफल पनि भएका छन् । तर कानुनी झन्झटमा पनि उनी पर्ने सम्भावना बढ्दो छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीको रकम दुरपयोग नगरेको बताएका छन् । आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सञ्चालक रहेको ग्यालेक्सी टिभीमा आफ्नो कार्यकालभर सहकारीको पैसा दुरुपयोग नगरेको दाबी पनि गरेका छन् । उनले भनेका छन्, ‘म ग्यालेक्सी टीभीमा आवद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको छैन ।’ सहकारीको करोडौं रकम दुरुपयोगको आरोप लागेका उनको पीडितका पक्षमा अन्तिमसम्म लड्ने दावी छ ।

आफूसँगै मुलुकको अर्थशास्त्री भनेर चिनिएका नयाँ पुस्ताका स्वर्णिम वाग्ले र सेलिब्रेटी बैंकर अनिल शाहलाई राखेर लामिछाने पत्रकारहरूसामु उपस्थित भएका थिए । तर, रवि आफ्नो खाता रहेको ग्लोबल बैंकको पानीपोखरी शाखाले दिएको पत्रको विरुद्ध हुनेगरी प्रस्तुत हुँदा वाग्ले र शाहले ताली ठोकेको दृश्यले ‘…लाई भन्दा देख्नेलाई लाज’ भएको सामाजिक सञ्जालमा टिप्पणी उठेको छ ।

रविको पत्रकार सम्मेलनको निष्कर्ष ‘किर्ते भौचर’ मा पुगेर टुंगियो छ । रविको निष्कर्ष छ, ‘टिभीको सेयर फिर्ता गर्दा किर्ते भौचर पेस भएको रहेछ ।’ तर, सरकारी कार्यालयमा कागजात किर्ते पेस हुँदा त्यसपछिको कामकारबाही पनि स्वतः बदरभागी हुनुपर्छ । यदि पैसा बुझेकै हैनन् भने उनी ग्यालेक्सीबाट अलग्गिएको कसरी मान्ने ? सेयरबापतको रकम लेनदेनबिना स्वामित्व हस्तान्तरण कसरी मान्य हुन्छ ? त्यसो हो भने कम्पनी रजिस्ट्रारमा प्रस्तुत यससम्बन्धी कागजात किर्ते भयो कि भएन ?

ग्लोबल बैंकले रविलाई उपलब्ध गराएको स्टेटमेन्ट विवरणमा उनको नाममा प्राप्त एक करोड ८० लाखको चेक उनकै खातामा जम्मा भएको उल्लेख छ । यदि लामिछानेलाई एक करोड ८० लाख दिनुपर्ने आवश्यकता नै थिएन भने सम्बन्धित व्यक्तिले चेक किन दिए ? रविले त्यो चेक जम्मा गर्न किन लगे ? यस्ता जटिलता अब रविले झेल्नुपर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *