काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
संसदको अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।
यसैगरी, बैठकले जापान सरकारबाट कोटेश्वर सडक सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्री शर्माले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असीम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय बैठकले गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन्।




