राजनीति

एउटा खोयाको मूल्य यतिसम्म चुकाउनुपर्ने रविले कल्पनासम्म पनि गरेका थिएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पुर्पुरोमा विवादबाहेक अरु केही नै नलेखिएको हो कि भन्ने टीकाटिप्पणी हुन थालेको छ । सञ्चारकर्मी हुँदै पार्टी गठन, प्रतिनिधिसभा सदस्य विजयी र सांसद पद खारेज, उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा, पार्टी सभापतिबाट राजीनामा, फेरि पार्टी सभापति हुँदै आजसम्म आइपुग्दा उनी विवादैविवादले घेरिएका छन् ।

राजनीतिमा नआउँदै उनी सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा जेल परेका थिए । तीन महिनापछि अदालतले सफाइ दिएपछि उनी बाहिर आएका थिए । त्यसपछि उनले न्युज २४ टेलिभिजन छाडे । खाली समयमा उनले ग्यालेक्सी फोरके टेलिभिजन खुल्न गितेन्द्रबाबु राई (जीबी) लाई उक्साए । तर आठ महिनामै उनले टेलिभिजन छाडे । टेलिभिजन छाड्ने बेला उनले एक करोड ८० लाख रुपैयाँ लिएको समाचार सार्वजनिक भएको छ ।

एकपछि अर्को विवादको लहरो भने पोखरामा उनीमाथि प्रहार भएको खोयाले तानेको हो । यदि पोखराको आमसभामा रविमाथि सन्तोष रानाभाटले खोया नहानेको भए रवि सहकारी ठगी प्रकरणमा मुछिँदैनथे । आफूमाथि खोया प्रहार भएको समाचार कान्तिपुर अनलाइनले छापेलगत्तै रविले सामाजिक सञ्जालमा कान्तिपुरप्रति गम्भीर लाञ्छना लगाउन पुगे ।

कतिसम्म भने उनले कान्तिपुरकै डिजाइनमा आफूमाथि खोया प्रहार भएको भन्ने आरोप लगाए । यसले कान्तिपुरले मिडियाको स्वतन्त्रतामा रविले प्रहार गरेको ठहरसहित उनी सहकारी ठगीमा मुछिएको समाचार धारावाहिक ढंगले छाप्यो ।

सोही कारण रवि र कान्तिपुरबीच अहिले शीतयुद्ध चलेको छ । आफूमाथि लागेको आरोपको रविले औपचारिक ढंगले खण्डन गर्न चाहेनन् । बरु सामाजिक सञ्जालबाटै मिडिया र पत्रकारको हुर्मत लिन खोजे । उनले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दासमेत दर्ता गर्दै ५१ रुपैयाँ क्षतिपूर्ति माग गरे ।

सोमबारको अंकमा कान्तिपुरले रविले सहकारीको बचतबाट १५ प्रतिशत सेयर लिएको र एक करोड ८० लाख रुपैयाँ उनको खातामा गएको समाचार प्रमाणसहित छापेपछि रवि साँच्चै अत्तालिएका छन् । उनले सोमबार नै पत्रकार सम्मेलन गरेर आफ्नो निजी खातामा एक करोड ८० लाख नआएको र जम्मा भएको भए समाचार छाप्ने मिडियालाई नै दिने घोषणा गरे ।

उनले आफ्नो खातामा पैसा जम्मा गर्न स्लिप भएको तर त्यही स्लिपमा मिडिया स्लिप भएको आरोप लगाए । गत वर्ष दोहोरो नागरिकताका कारण आफ्नो सांसद पद खारेज भएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री पदबाट राजीनामा दिँदै पत्रकार सम्मेलनमार्फत रविले मिडियाको हुर्मत लिएका थिए । उनले ‘१२ भाइ’ भन्दै जनमानसमा मिडियाप्रति अविश्वास सिर्जना गरेका थिए । तर कालान्तरमा त्यही मिडिया रविका लागि चुनौती बनेको छ ।

आफूविरुद्ध धारावाहिक रूपमा समाचार सार्वजनिक हुँदा पनि रविले कुनै नैतिकता देखाउन सकेका छैनन् । सञ्चारकर्मी हुँदा अरुलाई नैतिकताको पाठ सिकाउने रवि अहिले दलको नेता भएपछि पत्रकार र मिडियालाई नैतिकता सिकाउन लागेको भन्दै उनको आलोचना हुन लागेको छ । पार्टी गठन गरेर चुनावमा होमिएसँगै रविको दोहोरो नागरिकता र राहदानी काण्ड सार्वजनिक भयो ।

नागरिकता प्रकरणमा उनले आफ्नो गल्ती सच्चाए पनि दोहोरो राहदानीमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विश्वासको मत साटेका छन् । जसकारण उनले दोहोरो राहदानीमा उन्मुक्ति पाएका छन् । तर त्यो धेरै समय टिक्ने देखिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *