काठमाडौं । यतिबेला सत्ता गठबन्धनमा आठ दल छन् । तर सीके राउत नेतृत्वको जनमत पार्टी विपक्षी दल बनेर प्रस्तुत भइरहेको छ । गठबन्धनको निर्णयको खिलापमा जनमतले राष्ट्रिय सभाको उम्मेदवार उठाएको छ । सरकारले गरेको निषेधाज्ञा क्षेत्र तोड्न सिके राउत नै धोती लगाएर माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपाप्रति सिके राउत आक्रामक देखिएका छन् । जनमतले अहिले मधेस सरकारको प्रत्येक निर्णयको विरोध गर्ने, सडक संघर्ष गर्ने, पुत्ला जलाउने, उपेन्द्र सहभागी कार्यक्रममा अवरोध सिर्जना गर्ने गर्दै आएको छ । गठबन्धनमै बसेर सत्तारुढ दलका शीर्ष नेताकै अपमान गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत अहिले आजित भइसकेका छन् ।
नेताहरूका अनुसार जनमतलाई सत्तारूढ गठबन्धनबाट हटाउन एकीकृत समाजवादीसमेत लागेको छ ।
यसअघि उपेन्द्र यादवले जनमतलाई गठबन्धनमा सहभागी नगराउन प्रचण्डलाई दबाब दिँदै आएका थिए ।
तर सरकार जतिबेला पनि ढल्न सक्ने खतराका कारण सिके राउतलाई प्रचण्डले च्यापेका थिए । तर अहिले माधव र उपेन्द्रले जनमतलाई गठबन्धनबाट हटाउन जोडबल गरिरहेको बताइन्छ ।
राष्ट्रियसभा सिट बाँडफाँटका क्रममा एकीकृत समाजवादीलाई गठबन्धनले थप अर्को मन्त्रालय दिनेगरी सहमति गरेको थियो । जनमतलाई सरकारबाट नहटाएसम्म मन्त्रालय पाउन नसक्ने देखेपछि एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएको नेताहरूले बताएका छन् । प्रचण्डले राष्ट्रियसभा निर्वाचन (माघ ११) लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसक्रममा जनमतले लिइरहेको मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन वा त्यसैको साटो अर्को एउटा मन्त्रालय एकीकृत समाजवादीले पाउने नेताहरूले बताएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव त सिके राउतसँग आजित नै भइसकेका छन् । मधेस प्रदेशका कुनै पनि जिल्लामा उपेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी भयो कि जनमतले अवरोध गर्दै आएको छ । केही दिनअघि बारामा उपेन्द्र सहभागी कार्यक्रममा जनमतले अवरोध गरेको थियो
आइतबार सप्तरीमा आयोजित कृषि विश्वविद्यालयसम्बन्धी कार्यक्रममा उपेन्द्रलाई प्रमुख अतिथि बनाइएपछि जनमतले सडकमै अवरोध गरेको छ । यदि उपेन्द्रलाई प्रमुख अतिथि बनेर विश्वविद्यालय भवनको शिलान्यास नरोकिए अप्रिय घटना हुने चेतावनी जनमतले दिएको छ । उपेन्द्रलाई जसरी पनि अगाडि बढ्न नदिने रणनीति जनमतले अख्तियार गरेपछि गठबन्धनबाट जनमतलाई हटाउने तयारी अघि बढेको हो ।




