राजनीति

यसकारण राष्ट्रपति भन्दा राजा पाल्न महँगो

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिका लागि तलब भत्तामा वर्षको ४० लाख रुपैयाँ जति खर्च हुन्छ । तर राजतन्त्रकालमा राजाका लागि मात्रै तलब भत्ताको व्यवस्था गरेर पुग्दैनथ्यो । राजपरिवार तथा उनका नातागोता गरी ३४ जनाले देशको ढुकुटीबाट तलब भत्ता खान्थे ।

यतिसम्म कि २०४५ सालमा प्रधानमन्त्रीको तलव मासिक सात हजार रुपैयाँ तोकिएको थियो भने राजाका भान्जाभान्जीका लागि मासिक तलव ११ हजार रुपैयाँ तोकिएको थियो । त्यतिबेला शाखा अधिकृत स्तरको सरकारी कर्मचारीको मासिक तलब ११ सय रुपैयाँ थियो ।

राजा पाल्न महँगो कि, राष्ट्रपति पाल्न महँगो ? भन्ने प्रश्नको उत्तर खोज्न २०४५ सालमा तत्कालीन अर्थमन्त्री भरतबहादुर प्रधान, २०६० सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी र २०८० सालमा अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेट तुलना गर्ने हो भने छर्लंग हुन्छ ।

२०४५ सालमा तत्कालीन अर्थमन्त्री प्रधानले १९ अर्ब ५२ करोड रुपैयाँको बजेट ल्याएका थिए । त्यसमध्ये राजपरिवारको तलव भत्ताका लागि दुई करोड ९५ लाख छुट्याइएको देखिन्छ । यो दुई करोड ९५ लाखमध्ये राजाका लागि ४० लाख, राजाकी आमाका लागि ६ लाख, राजाकी श्रीमतीका लागि १२ लाख, राजाको जेठो छोराका लागि चार लाख, राजाको कान्छो छोरा र छोरीका लागि दुई–दुई लाख रुपैयाँ छुट्याइएको देखिन्छ ।

यसैगरी राजाका भाइहरूका लागि ६–६ लाख भाइका श्रीमतीहरूका लागि तीन–तीन लाख रुपैयाँ छुट्याइएको देखिन्छ । राजाका भाइका छोराछोरी र दिदीबहिनीका लागि एकमुष्ठ ९० लाख रुपैयाँ छुट्याइएको देखिन्छ । राजाका भान्जाभान्जीका लागि एकमुष्ठ दुई लाख रुपैयाँ छुट्याइएको देखिन्छ ।

यसैगरी राजाका कान्छाबाबुहरूका परिवारका लागि पाँच लाख रुपैयाँ छुट्याएको देखिन्छ । चौतारियाहरूका लागि एक लाख ५० हजार, त्रिभुवन शाहकी ल्याइते श्रीमतीका लागि एक लाख २० हजार रुपैयाँ बजेट छुट्याएको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *