काठमाडौं । बायाँ हाते युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर बुधबार पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए ।
भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे । सूर्यले पाँच विकेट लिँदै सिनियर टोलीबाट खेलेका आठ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन कटाउन पनि दिएनन् ।
सूर्य तामाङले घरेलु एकदिवसीय क्रिकेटमा ऐतिहासिक प्रदर्शन गरेका छन्। अघिल्लो वर्ष मात्र पाँच विकेट लिएका सूर्यले यसपटक दुई दिनमा भएको दुई खेलमा ११ विकेट लिएका छन् ।
बायाँ हाते स्पिनर सूर्य एक वर्षअघि पहिलोपटक नेपाली टोलीमा परेका थिए । अघिल्लो वर्ष टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजका लागि नामिबिया र स्कटल्यान्डसँग खेल्ने १४ सदस्यीय टोलीमा सूर्य पनि परेका थिए ।
त्यसअघि विराटनगर सुपर किंग्सलाई फाइनलसम्म पुर्याउन सूर्य उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी चुनिएका थिए । सूर्यले आठ खेलमा ४.३५ को इकोनीमा रन खर्चिदै १२ विकेट लिएका थिए ।




