काठमाडौं । ‘खाने मुखलाई जुँगालाई छेक्दैन’ भन्ने भनाइ चर्चित छ । पछिल्लो समय यसलाई माता, धामीझाँक्रीले चरितार्थ गरेका छन् । काठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा अहिले पनि माता, धामीझाँक्रीको नाममा आमसर्वसाधारण लुटिने क्रम जारी छ ।
साधारण ज्वरो आएको व्यक्तिलाई बोक्सी, भूतको आरोप लगाएर मरणसन्न पिटिन्छ । यति मात्र होइन, कतिपयको माता, धामीझाँक्रीकै कारण ज्यान गएको छ । झारफुक गर्ने नाममा कतिपय धामीझाँक्रीले बलात्कारसमेत गर्ने गरेका छन् । घरपरिवार राम्रोसँग चलिरहँदा आफ्नो स्वार्थका लागि लोग्ने वा स्वास्नी अरुसँग नै लागेको भनी तहसनहस पारिदिने गर्छन् । माता, धामीझाँक्रीको नाममा ठग्ने व्यक्तिहरूको बजारमा बिगबिगी छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा माताको नाममा सर्वसाधारण ठगिने क्रम जारी छ । साताको दुई दिन (बुधबार र शनिबार) खोलिने माताको घरमा सर्वसाधारणको भीड लागेको हुन्छ । विशेषतः महिलाहरू । त्यहाँ खुट्टा टेक्नेसमेत ठाउँ हुन्न । महिलाहरूले माथिदेखि तलसम्म हरियो टीका, चुरा र साडी लगाएका हुन्छन् ।
सदस्य बनाएर लेबीसमेत उठाइन्छ । मानिसअनुसार पाँच हजारदेखि तीन लाखसम्म लिइन्छ । यत्रो पैसा दिएपछि पनि मातासँग भेट्न पाइँदैन । माताको नाममा त्यहाँ एउटा मूर्ति राखिएको हुन्छ । माइक जोडिएको छ । र, त्यही माइकबाट मूर्तिको पछाडि बसेको महिला बोल्छिन् ।
यो–त्यो रोग लागेको भन्दै उपचारको नाममा लाखौं रकम असुलिन्छ । फलफूल, सुनका गहनालगायत सामग्री पनि चढाउन लगाइन्छ । यस्ता माताहरूको भर पर्दा बिरामीहरूले आफ्नो घरखेत नै सकिएको थाहा पाउँदैनन् । समयमै अस्पताल नजाँदा अकालमै ज्यानसमेत गुमाउँछन् ।
मानिस बिरामी हुँदा पहिले अस्पताल होइन, माता, धामीझाँक्रीकहाँ पुग्छन् । सरकारले गरिब, निमुखालाई निःशुल्क औषधि, उपचार गरिदिने भन्दाभन्दै यस्ता माता, धामीझाँक्रीहरू जनतालाई अस्पताल जान दिँदैनन् ।
भक्तपुर उपत्यकाभित्र पर्छ । तर, उपत्यकाभित्र अहिले पनि माताको नाममा ठगिन्छ भने अन्य दुर्गम, ग्रामीण जिल्लाको हालत के होला ? हरेक बुधबार र शनिबार सिर्जनानगरस्थित माताको घरमा मानिसहरूको भीडमा दुधे बालकदेखि बृद्धवृद्धासमेत भेटिन्छन् । त्यहाँ आएका मानिसहरू सुकुम्बासी अवस्थामा पुगेको सुनिन्छ । एकपटक त्यहाँ गएपछि त्यो व्यक्तिको सम्पूर्ण विवरण लिइन्छ । अनि हुँदै नभएको कुरा पनि भइरहेको भन्दै उसको घरपरिवार तहसनहस बनाउनुका साथै उपचारका नाममा ठगिन्छ ।
भक्तपुर २ का सांसद दुर्लभ थापाको घर सल्लाघारीमा छ । उनको घरदेखि माताको घरसम्म पुग्न करिब पाँच मिनेट लाग्छ । तर, त्यो माताले ठगेको थापाले देख्दैनन् ।वडा नम्बर ५ का अध्यक्षको घर सुशील भैरवस्थानअगाडि नै छ । उनले मन्दिरको जग्गा मिचेर घर बनाएका छन् । कानुनमा विश्वसूचीमा परेको मन्दिरभन्दा अग्लो घर बनाउन पाइँदैन । सुशील भैरवस्थान मन्दिर विश्वसूचीमा सूचीकृत छ । तर, त्यो मन्दिरभन्दा अग्लो घर छ वडाध्यक्षको । वडाध्यक्षसहित तीनजनाले मन्दिरको जमिन अतिक्रमण गरेर घर बनाएका छन् ।
यस्ता वडाध्यक्षलाई माताले सर्वसाधारण ठगेको विषयमा के मतलब ? माताको घरबाट पाँच मिनेटको दूरीमा सूर्यविनायक नगरपालिका पुगिन्छ । तर, माताको नाममा सर्वसाधारणलाई दिउँसै रात पारेर ठगेको न त नगर प्रमुख वासुदेव थापाले देख्छन्, न त भक्तपुरका सिडियोले नै ।
माताको घर गुण्डुको केभीचोक हो भने लोग्नेको घर सुशील भैरवस्थानअगाडि छ । उनले पहिला सल्लाघारीमा होटल सञ्चालन गरेकी थिइन् । उनका श्रीमान् साइकल बनाउँथे । गरिब परिवारकी उनले आज करोडौंको सम्पत्ति आर्जन गरेकी छन् । सिर्जनानगरमा उनको भव्य महल छ । देशका विभिन्न ठाउँमा जग्गा छ ।
लिटल बुद्धको नाममा सर्वसाधारणलाई ठग्नुका साथै विभिन्न काण्डमा संलग्न रामबहादुर बम्जनलाई प्रहरीले केही दिनअघि मात्र समात्यो । उनको घरबाट मात्र प्रहरीले करोडौं रकम बरामद गरेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब माता, धामीझाँक्रीको नाममा लुट्ने ठगहरूलाई समात्न ७७ वटै जिल्लाका सिडियोलाई परिपत्र गर्ने कि ?
भक्तपुरका सिडियोले सिर्जनानगरमा माताको आवरणमा ठगी गर्नेलाई नसमातेको सर्वसाधारणको गुनासो छ । तर, उजुरीबिना केही पनि गर्न नमिल्ने सिडियो कार्यालयको जवाफ छ । माता, धामीझाँक्रीको नाममा मोटो रकम असुल्नु गैरकानुनी कार्य पनि हो । यसरी झारफुक गर्ने वा माताको नाममा ठग्न पाइँदैन । तर भूत, बोक्सीको नाममा यस्ता माता, धामीझाँक्रीले सर्वसाधारणलाई ठग्ने गरेका छन् । कानुनमा कसैले कसैलाई भूत, बोक्सीको आरोपसमेत लगाउन पाउँदैन ।
सरकारले रोगअनुसारको अस्पतालको स्थापना गरेको छ । त्यहाँ नागरिकको उचित उपचारका लागि डाक्टरको व्यवस्थापन गरिएको छ । सञ्चार क्षेत्रमा धेरै परिवर्तन आएको छ । मानिसमा सचेतना बढ्दै गएको छ । तर, अझै पनि राज्य र सञ्चारमाध्यमको आँखा छलेर शिक्षित, अशिक्षित व्यक्तिलाई समेत भ्रममा पारी यस्ता माता, धामीझाँक्रीले ठगिरहेका छन् । सरकारले यस्ता ठगलाई अब समात्नुपर्छ ।
अब अन्य सर्वसाधारणलाई ठगिनबाट सरकारले जोगाउनुपर्छ । मिडिया जनताको ऐना हो । त्यसकारण मिडियाले समाजमा भइरहेका यस्ता आपराधिक कार्य बाहिर ल्याउन जरुरी छ । मिडियाले यस्ता घटना बाहिर ल्याएपछि नै सरकारले कारबाहीको प्रक्रिया अघि बढाउँछ ।




