काठमाडौं । पछिल्लो समय एमालेमा अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलबीच दूरी बढ्दै गएको महसुस नेता कार्यकर्ताले गर्न थालेका छन् । पार्टीमा अध्यक्ष मात्र हर्ताकर्ता भएको र अन्य पदाधिकारीलाई शो पिस बनाएर राखेकोमा शंकर खुसी छैनन् ।
खासगरी एमालेको ११ महाधिवेशनमा नयाँ नेतृत्वको खोजीमा शंकर पनि जुटेको भन्ने भान ओलीलाई परेको छ । शंकर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । भण्डारीलाई पार्टी अध्यक्ष बनाउन सके सबै कम्युनिस्ट शक्तिलाई गोलबद्ध बनाएर जान सकिने सोच शंकरको छ ।
तर ओली भने यसप्रति पूरै विमति जनाउँछन् । उनले सार्वजनिक रूपमै आफ्नो र भण्डारीबीच सम्बन्ध बिगार्न नेतृत्वमा ल्याउने हल्ला चलाएको र त्यसलाई थप विस्तार नगर्न चेतावनीसमेत दिएका थिए । त्यसपछि नै हो ओलीले शंकरको अधिकार कटौती गरी आफूमा निहित गरेको ।
कम्युनिस्ट पार्टीमा पार्टीका महासचिव शक्तिशाली मानिन्छ । तर शंकर एमालेका अहिलेसम्मकै कमजोर महासचिव मानिएका छन् । पार्टीको औपचारिक कार्यक्रममा महासचिवले सञ्चालन गर्ने मौकासमेत पाउँदैनन् । पार्टीको बैठक सञ्चालन, सुरुवात र समापन ओली एक्लैले गरेपछि आफूहरू पेण्डुलममा परेको महासचिव शंकरसहितका पदाधिकारीको गुनासो छ ।
केही समयअघि एमाले दार्चुलाको अधिवेशन गर्न महासचिव शंकर पोखरेलले जिल्ला नेतृत्वलाई निर्देशन दियो । अधिवेशनको उद्घाटनमा पार्टी महासचिवलाई राख्न भने । त्यसैअनुसार जिल्ला कार्यसमितिले अधिवेशनको मिति आह्वान गरेको थियो । त्यहीबीचमा एमालेले झुलाघाट–चिवाभन्ज्याङ पदयात्रा अभियान थाल्यो । ओली दार्चुला पुगे ।
उनले दार्चुला जिल्ला अधिवेशनको मिति तय भइसकेको र महासचिव पोखरेलले राख्न निर्देशन दिएको थाहा पाए । ओलीले आफूसँग कुनै सल्लाह नै नगरी महासचिवले कार्यक्रम तय गरेकोमा आक्रोश व्यक्त गरे । जिल्ला अधिवेशनमा महासचिव पोखरेलको ठाउँमा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाइदिए । त्यसयता ओली र पोखरेलबीच झन्डै पानी बाराबारको स्थिति रहेको एमाले नेता कार्यकर्ता बताउँछन् ।
अहिले पोखरेल सकभर अध्यक्ष ओली सहभागी हुने कार्यक्रमबाट तर्किन चाहन्छन् । धेरै समय उनी जिल्लाका कार्यक्रममै सहभागी हुने गरेका छन् । पछिल्लो समय ओलीले आफ्ना विश्वास पात्र गुमाउने क्रम जारी छ । महाधिवेशनताका उनले गोकुल बासकोटा, महेश बस्नेत, कर्ण थापालगायत आफ्ना अति निकट नेताहरूको साथ गुमाएका थिए ।
अहिले महासचिव पोखरेल नै उनीबाट टाढिएका छन् । महासचिव पोखरेल ओलीलाई आपतमा परेका बेला सुझबुझपूर्ण सल्लाह दिने नेतामा पर्छन् । तर अहिले ओलीले उनैलाई टाढा राख्दै आएका छन् ।
ओलीले पोखरेलको भूमिकामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि बढाउने संकेत गरेका छन् । हुन त पोखरेल पनि पूर्वराष्ट्रपति भण्डारीकै विश्वास पात्र हुन् । तर पनि अरु विकल्प नभएकाले उनले मौका पाएका हुन् ।
अहिले नै विष्णु पौडेललाई मौका दिँदा आफ्नो लोकप्रियता खस्किँदै जाने ओलीको बुझाई छ । त्यही भएर पार्टीका महत्वपूर्ण निर्णयमा पौडेललाई सहभागी गराउन छाडिएको एक एमाले नेताले बताए ।




