काठमाडौं । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफ्ना पूर्वसहकर्मी बाबुराम भट्टराईलाई त्यत्तिकै अल्झाइराख्ने रणनीतिमा लागेका छन् । प्रचण्डसँग चार दशकभन्दा बढी सँगै राजनीति गरेका बाबुराम अहिले विभिन्न पार्टी चहारेर नेपाल समाजवादी पार्टी खोलेर अध्यक्ष बनेका छन् । जसपाबाट अलग्गिएर नेसपा खोलेको डेढ वर्ष बितिसकेको छ । तर बाबुरामको राजनीतिक भविष्य उत्तराद्र्धतिर पुगेको छ ।
प्रचण्डले चाहेको भए बाबुरामलाई पहिले नै माओवादीमा फर्काएर महत्वपूर्ण जिम्मेपवारी दिन सक्थे । तर उनले त्यसो गर्न चाहेनन् । आफ्नो राजनीति दाउमा लगाएर गोरखा–२ प्रचण्डलाई सुम्पेका बाबुराम घरी यता, घरी उता डुलिरहेका छन् । प्रचण्डले भविष्यमा पार्टी एक गरी बाबुरामलाई नेतृत्व दिने सहमति गरेका थिए । तर अहिलेसम्म भोलि भोलि भन्दै पार्टी एकता गर्न मानिरहेका छैनन् । धेरै दबाब परेपछि माओवादी स्थायी कमिटी बैठकले प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।
नेसपाले भने यसअघि नै बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ । नेसपा र माओवादीबीच वार्ताका लागि विभिन्न पटक छलफल तथा वार्ता भएका छन् । दुवै दलका अध्यक्षहरू पार्टी एकताका लागि छलफलमा बसेका थिए । यी दुई दल ०७९ को निर्वाचनअघि नै एकता हुने चर्चा थियो । तर, विविध कारणले दुई दलबीच एकता रोकियो । अहिले सरकारको नेतृत्व गरेका प्रचण्डले बाबुरामसँग एकताका लागि ठोस पहल लिएका छन् ।
प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग पनि एकताको लागि गृहकार्य थालिसकेका छन् ।
विप्लवले पनि सार्वजनिक रूपमै माओवादी घटकहरू एक हुनुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रचण्डले यही साता बाबुरामसँग पार्टी एकताको लागि निर्णायक वार्ता गर्ने तयारी गरेका छन् । बाबुरामसँगको वार्ता सकारात्मक हुनेबित्तिकै विप्लवलाई पनि एकतामा ल्याउनको लागि ठोस पहल चालिने उनको तयारी छ ।
माओवादीमा बाबुराम र विप्लव फेरि आउने हल्लाले धेरैको निद्रा खल्बलाइसकेको छ । खासगरी जनार्दन शर्मा र वर्षमान पुन बाबुराम र विप्लव ल्याउन इच्छुक छैनन् । देव गुरुङ पनि विप्लव भित्र्याउने विषयमा असहमत देखिएका छन् । यिनै कारण पनि प्रचण्डले बाबुराम र विप्लवलाई अल्झाइराख्ने रणनीति अख्तियार गरेको स्रोतको भनाइ छ ।
कतिसम्म भने अहिले एमाले र माओवादीबीच फेरि एकताको हल्ला चलाइएको छ । नेपाली कांग्रेसलाई साइजमा ल्याउन र प्रचण्डलाई अबको चार वर्ष प्रधानमन्त्रीकै कुर्सीमा राख्ने योजनाअनुसार माओवादी वृत्तबाटै यस्तो हल्ला चलाइएको हो । प्रचण्ड र केपी ओलीबीच एक्लाएक्लै भेटवार्ता हुनुलाई पार्टी एकताको रूपमा प्रचार गरिएको छ ।




