काठमाडौं । नेपालमा एउटा उखान चर्चित छ, ‘हातले पैसा दिँदा खुट्टालाई दुःख ।’ पैसा दिन सजिलो, तर त्यो फिर्ता लिन साह्रै गाह्रो हुन्छ । बरु खुट्टाको जुत्ता फाटिन्छ, तर दिएको पैसा फिर्ता आउँदैन । माथिको उखान अहिले सहकारीका बचतकर्ताहरूमा लागू हुन पुगेको छ । ‘टोलटोलमा सहकारी, घरघरमा भकारी’ भन्ने नारासहित सहकारीको स्थापना भएको थियो ।
सहकारीमार्फत आमसर्वसाधारणको जीवनस्तर उकास्ने भनियो । गरिबी निवारण गर्ने र गरिबलाई समेत धनी बनाउने प्रलोभन देखाइयो । तर, सहकारीले यसको ठीकविपरीत गर्यो । गरिबलाई धनी बनाउनुको साटो धनीलाई सडकपति बनाइदियो । हिजो पैसा लिने समयमा घरघरमा सहकारीका कर्मचारीहरू आएर उठाए ।
तर, फिर्ता दिने बेला अहिले सहकारीका अध्यक्षदेखि कर्मचारीसम्म फरार भएका छन् । मुलुकभरका ३५ हजार बढी सहकारी दर्तामा छन् । करोडौं बचतकर्ताले खर्बौं जम्मा गरेका थिए, ती सहकारीमा । अहिले रातारात ती सहकारी गायब भएको छ । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी लुकेर बसेका थिए । कतिपयले त मुलुकै छोडिसकेका छन् ।
सहकारी खुले पनि बचतकर्ताको रकम फिर्ता गरिँदैन । सञ्चालक। अध्यक्षहरू कार्यालय नै आउँदैनन् । र, सहकारीमा महिला कर्मचारी मात्र भेटिन्छन् । बचतकर्ताको रकम त फिर्ता नगर्ने, तर २० हजार आना नपर्ने जमिन ४५ लाखमा जबर्जस्ती किन्न लगाइरहेका छन् अहिले सहकारीहरू । सय रूपैयाँको सेयर पाँच/छ हजार र दुई लाख नपर्ने थोत्रो गाडी २० लाखमा खरिद गर्न बाध्य पारिरहेका छन् ।
हिजो २२ प्रतिशत ब्याज दिन्छु, पाँच वर्षमा तपाईको रकम दोब्बर बनाएर दिन्छौं भन्दै बचतकर्तालाई रकम जम्मा गर्न बाध्य बनाइयो । अहिले ब्याजको त कुरै छोडौं, साँवा मात्र दिनुस् भन्दा पनि सहकारीले अलिकति पनि बचत फिर्ता गर्न मान्दैनन् । उल्टै महँगोमा घरजग्गा, गाडी र सेयर भिडाउन खोजेर फसाउन खोज्छन् । पैसा माग्दा कहिले घरजग्गा त कहिले गाडी लिनुस् भनिन्छ । फेरि ५० लाख नपर्ने घरजग्गालाई दुई करोड भनेर बचतकर्तालाई लुट्नतिर उनीहरू लागिपरेका छन् ।
बुढाबुढीलाई लौरो, युवायुवतीलाई जन्मदिनमा केक, स्वास्थ्य बीमालगायत विभिन्न प्रलोभन देखाएर सहकारीले हिजो बचतकर्तासँग पैसा उठायो । यतिसम्म कि कसले घरजग्गा बेचेको छ ?, कसको छोराछोरी विदेशमा छ ? कोसँग कति पैसा छ ? भनेर बुझ्न लगाई त्यो पैसासमेत आफ्नै सहकारीमा ब्याजको प्रलोभन देखाएर राख्न लगाइयो ।
अहिले बचतकर्ताको रकम फिर्ता गर्ने बेला सहकारीका सञचालक, अध्यक्ष र कर्मचारीको दाँतबाट पसिना आएको छ । सहकारीकै कारण अधिकांशको घरपरिवार वा जीवन तहसनहस हुन पुगेको छ । खातामा पैसा हुँदाहुँदै पनि सहकारीले फिर्ता नदिँदा मानिसहरूले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ ।
कतिपय भोकभोकै हिँड्न बाध्य भएका छन् भने कतिपयले बालबच्चा पढाउन सकेका छैनन् । सहकारीले नै पैसा खाइदिएपछि कतिपय लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद नै हुन पुगेको छ । बुढाबुढीलाई घरबाट निकालिएको छ । सहकारीका बचतकर्ताहरू त पीडित भए नै सँगै सहकारी सञ्चालन गर्न आफ्नो घर भाडामा दिएकाम घरधनीहरू पनि अहिले तनावमा छन् । बैंकमा तरलता अभाव हुँदा घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आयो । मालपोत कार्यालयमा चहलपहल छैन । घरजग्गा नामसारी गर्न कोही आउँदैन ।
बजारमा समेत घरजग्गा किन्नेभन्दा बेच्न चाहने धेरै भेटिन्छन् । सेयर र गाडी बेच्ने पनि यत्तिकै छन् त किन्ने कोही छैन । बुढोपाकाले भन्थे, ‘सप्रिन समय लाग्छ, तर बिग्रिन समय लाग्दैन ।’ मानिसहरूले जीवनभर दुःख गरेर खाई नखाई कमाएर राखेको रकम सहकारीमा राख्दा एक क्षणमै सकियो ।
दुई वर्षअघि एउटै घरमा सातवटासम्म सहकारी सञ्चालनमा रहेको देखिन्थ्यो । सबै सहकारीले बचतकर्तालाई बढी ब्याज दिने प्रलोभन देखाएका थिए । अनि त्यो रकम छिट्टै नाफा हुने आशमा सहकारीले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह गर्यो । तीन दशकअघि आनाको पाँच हजार नजाने जमिन सहकारीकै कारण ७५ लाखसम्म पुग्यो ।
सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरूले जग्गा दलाली वा भूमाफियासँगको मिलेमतोमा खेतीयोग्य जमिन जग्गा प्लानिङ गर्दै आएका थिए । जसकारण घरजग्गाको मूल्य बढेको बढ्यै थियो । यिनीहरूले नै बैंकले सय रूपैयाँमा निष्कासन गरेको सेयर पाँच हजारमा बेचेका थिए भने भारतमा लाख नपर्ने गाडी यहाँ ल्याएर करोडमा बेचे ।
कतिपय सहकारीले त बिना धितो एक लाखको मासिक पाँच हजारदेखि ३० हजारसम्ममा ऋण दिएका थिए । धेरै सहकारीले मिटरब्याजमा कर्जा लगानी गर्दै आएको थियो । सहकारी अध्यक्ष, सञ्चालक र कर्मचारीले सर्वसाधारणलाई ठग्नु ठगेका छन् । सहकारीका ऋणी त सुकुम्बासी भएकै थिए, सँगै अहिले बचतकर्ता पनि सडकछाप भएका छन् ।
यस्ता ठग सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीलाई सरकारले समातेर कारबाही गर्नुपर्छ । जनताले खाई नखाई राखेको रकम सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीको सम्पत्ति बेचेर भए पनि फिर्ता गरिनुपर्छ । सञ्चारमाध्यम जनताको ऐना हो । त्यसकारण सञ्चारमाध्यमहरूले पनि सर्वसाधारणलाई सचेत गराउन आवश्यक छ । बाटोमा जुत्ता सिलाउनेदेखि साग बेच्ने, चिया बेच्ने सबैको सहकारीमा रकम फसेको सुनिन्छ । सहकारीले दलका नेतादेखि सरकारी कर्मचारी, पत्रकार, व्यापारीसमेतलाई ठगेको छ ।
सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी आफन्त भए पनि यस्ता ठग, चोरलाई समातेर चौकी बुझाउनैपर्छ । सहकारी विभागमा बचतकर्ताको लाम देखिन्छ । प्रदेशमा पनि बचतकर्ताकै भीड हुन्छ । हुँदाहुँदै स्थानीय तहहरूमा समेत बचतकर्ताहरू भरिपूर्ण देखिन्छन् । अब सरकारले यस्ता ठग, चोर सहकारीलाई कारबाही नगरे पनि जनताले आफ्नो टोल–टोलका सहकारीमा ताला लगाउनुपर्छ । सरकारले जनताको पैसा फिर्ता नगर्ने सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीलाई समात्न ढिलो गर्नुहुन्न ।
चैत मसान्तभित्र बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सहकारीहरूलाई निर्देशन त दिएको छ । तर, सबै सहकारी भागिसकेका छन् । अनि कुन सहकारीले चाहिँ सरकारको निर्देशन मान्छ ? सहकारीमन्त्री रञ्जिता श्रेष्ठ र सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई तत्काल समस्याग्रस्त घोषणा गर्नुपर्छ । र, त्यस्ता सहकारीका अध्यक्ष र सञ्चालकलाई पक्राउ गर्न सिआइबीलाई पत्र लेख्नुपर्छ ।




