रिबन

नुवाकोट महोत्सवले जिल्लाको पहिचान बढाओस्

हरेक वर्ष जस्तै यस वर्ष पनि नुवाकोट महोत्सवको तयारी भइरहेको छ । नुवाकोटको पहिचान, ऐतिहासिक, सांस्कृति परम्पराको प्रचार–प्रसार, स्थानीय कृषि तथा घरेलु उत्पादन र पर्यटन विकासको लागि नुवाकोट महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नुवाकोट देशकै एक महत्वपूर्ण विशिष्ट ऐतिहासिक पहिचान बोकेको जिल्ला हो । यससँगै नुवाकोट सांस्कृतिक, धार्मिक एवम् भौगोलिक विशिष्टताले भरिपूर्ण जिल्ला भएकाले पनि विशेष रूपमा पर्यटन विकासका दृष्टिकोणबाट ज्यादै महत्वपूर्ण छ । नुवाकोट बाग्मती प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी जिल्ला हो । कुल १,१२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुरमा रहेको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय सिमानालाई नछुने र भौगोलिक विभाजनअनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झन्डै अर्ध–चन्द्राकार रूपमा पूर्व–पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरूलगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ ।

नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुअघिसम्म पश्चिम एक नम्वरअन्तर्गत रहेको यस जिल्लाको नामाकरण गोपालवंशीय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक पृष्ठभूमि छ । भौगोलिक वनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, वेसी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ ।

नुवाकोट तत्कालीन समयमा नेपाल एकीकरणको एउटा महत्वपूर्ण सामरिक राज्य थियो । उपत्यकाको कान्तिपुर राज्यको महत्वपूर्ण पश्चिमी मूलढोका मात्र नभएर तिब्बतसँग व्यापार गर्ने मुख्य नाका पनि भएकाले उपत्यका एकीकरणको आधार नुवाकोटलाई नै बनाएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा तत्कालीन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णालीपारीका बाइसे–चौबीसे भनिने स–साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने अभियानअन्तर्गत उपत्यका विजयको अभियान यही जिल्लाबाट सुरु गरिएको थियो । त्यसबेला कान्तिपुर राज्यको अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो ।

नुवाकोट विजयपछि व्यापक तयारी गर्दै तेस्रोपटकको आक्रमण र व्यापक तयारीपछि गरिएको युद्धबाट मात्रै वि.सं. १८०१ मा गोर्खालीको विजय भएको थियो । नुवाकोट विजयपछि यसलाई दोस्रो राजधानीका रूपमा मानिन्थ्यो । कान्तिपुर उपत्यकाको निगरानी हुँदै वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर विजय गरियो । यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्दै गयो । साथै, वि.सं १८३१ मा बडामहाराजको स्वर्गवास हुन गएकाले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्धाहरूले यस अभियानलाई अझै व्यापक बनाए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वि.सं १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोटमै व्यतित भएको थियो । उनको अन्त्येष्टि नुवाकोटको देवीघाटमै गरिएको थियो । सो स्थानमा अहिले पनि पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ ।

नुवाकोट जिल्लामा तादी र त्रिशूली नदीको पवित्र संगमस्थल देवीघाट रहेको छ । ऐतिहासिक साततले नुवाकोट दरवार जस्ता पुरातात्विक एवं ऐतिहासिक महत्वका ठाउँहरू रहेका छन् । प्रसिद्ध धार्मिक क्षेत्र गोसाइँकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको यस जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूलढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मूलद्वार पनि रहेको थियो । बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौवटा कोट वा किल्लाहरूको संगम भूमिको रूपमा परिचित छ ।

नुवाकोट जिल्लामा भैरवी, जालपादेवी, दुप्चेश्वर महादेव, पञ्चकन्या, राम मन्दिर, उग्रतारा, उत्तरगया, सुगतपुर विहार, बाराही, वासुकी, वाघ भैरव, भैरमकोट, जलेश्वरी, शिवालय आदि प्रमुख धार्मिकस्थलहरू र नुवाकोट दरवारक्षेत्र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह स्मृति उद्यान, श्री ५ विरेन्द्र स्मृती उद्यान आदि ऐतिहासिक सम्पदाहरू पनि छन ।

जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित ककनी आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण प्रस्थान मानिन्छ । नुवाकोट दरवार क्षेत्र, नुवाकोट संग्रहालय, नुवाकोट स्वयम्भू चैत्य, सागरकुण्ड, देवीघाट, उत्तरगया, बोल्देहीताल, ककनी, चिसापानी, शिवपुरी, पञ्चकन्या सुरुङ आदि अन्य ख्याति प्राप्त पर्यटकीय क्षेत्रहरू हुन् । नुवाकोट धार्मिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ । जातिगत र सांस्कृतिक विविधता रहेको यस जिल्लाका वासिन्दाहरूले मनाउने प्रमुख चाडपर्व र मेलाहरूमा पनि विविधता पाउन सकिन्छ ।

विजयादशमी, दीपावली, ल्होछार, रामनवमी, माघे संक्रान्ति, साउने संक्रान्ति, तीज, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, बुद्ध पूर्णिमा, इद आदि प्रमुख चाडपर्वहरू र सिन्दुरेजात्रा, देवीयात्रा, लाखेनाच, गाईजात्रा, वैशाख पूर्णिमा यात्रा, एकादशीयात्रा, विवाहपञ्चमी–त्रिशूली, देवीघाट, नुवाकोट), माघेसंक्रान्ति जात्रा, साँढे जुधाउने, दुप्चेश्वरमेला आदि जात्रा तथा मेलाहरूले जिल्लाको सांस्कृतिक वैभवलाई उच्च राखेको छ ।

विभिन्न स्थानहरूवाट बग्ने नदी तथा खोलाहरू र उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैयाहरू नै जिल्लाका प्रमुख जलसम्पदाहरू हुन् । त्रिशूली र तादी जस्ता मुख्य नदीहरू र सलाखु, लिखु, कुमरी, फलाखु, सिन्दुरे, छत्रे, कोल्पुलगायतका अन्य साना नदीहरूलगायत सूर्य कुण्ड, सागर कुण्ड, बोल्देही ताल जस्ता ताल तलैयाहरूले जिल्लाको जलाधार क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् । साथै, यी जलक्षेत्र र नदीहरूको धार्मिक तथा पौराणिक महत्वसमेत रहँदै आएको पाइन्छ ।

भौगोलिक अवस्थाका हिसाबले नुवाकोट जिल्ला समुद्र सतहबाट ४५७ मिटरदेखि ५१४४ सम्मको उचाइमा अवस्थित छ । देशान्तर ८५ डि देखि ८५ डि ४५ पूर्वसम्म र अक्षांस २७ डि ४५ देखि २८ डि २० उत्तरसम्म रहेको छ । जलवायु र तापक्रमको दृष्टिकोणबाट पनि नुवाकोट विविध जलवायुयुक्त जिल्ला हो । नदीदेखि उच्च पहाडहरू पर्ने नुवाकोटमा उत्पादनको दृष्टिकोणले अत्यन्त उर्वर टार तथा वेसी र फाँटहरूले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनीय योगदान दिएका छन् । होचो भू–भागमा अवस्थित बट्टार, पीपलटार, गेर्खुटार, वागटार, खरानिटार, समुन्द्रटार, आँगपुटार, कोल्पुटार, रातमाटेटार, तारुकाघाटटार, दर्शनटार, मैरेटार, शहरेटार, ताप्केटार, रिट्ठेटार आदि टारहरू र थानसिङफाँट, लिखुफाँट, शेराफाँट, महादेवफाँट, सिमराफाँट, रैकरफाँट, चाउथेफाँट, फिर्केफाँट आदि ठूल्ठूला बेसी र फाँटहरू छन् । मध्यपहाडी भौगोलिक अवस्थिति भए तापनि प्रशस्त सिंचित फाँटहरू र हावापानीको विविधता भएका कारण जिल्लाले उल्लेख्य रूपमा धान, मकै, गहुँ, कोदो, जस्ता खाद्यान्नबालीहरू, बाह्रै महिना ताजा तरकारी र आलु उत्पादन गर्दे आइरहेको छ । ककनी क्षेत्रमा उत्पादित स्ट्रबेरी देशभरि नै प्रख्यात छ ।

भौगोलिक अवस्थितिअनुसार हिमाली जिल्ला नजिक रहेकाले वर्षे र हिउँदे आलु, कालो मुसुरो, सिमी, मकै, कोदो, ताजा तरकारीको उल्लेखीय उत्पादन भइरहेको र अझै उत्पादन वृद्धि गर्न सकिने सम्भावना भएको ठाउँ हो ।

कृषि उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण यी क्षेत्रहरूमा अहिले पनि खाद्यान्न र नगदेबालीहरू उत्पादन भइरहेका छन् । नुवाकोट कृषि उत्पादनका हिसाबले निर्भर मात्रै छैन, निर्यातको प्रचुर सम्भावना बेकेको जिल्ला पनि हो । नुवाकोट जिल्लामा यथेष्ठ मात्रामा जमिनको उपलब्धता छ । अहिले सडक पूर्वाधारको विकासले गति लिइरहेको अवस्थामा यहाँ औद्योगिक विकासको सम्भावना पनि ज्यादै ठूलो छ । राजधानी काठमाडौँका साथै देशका विभिन्न स्थानमा चीनसँगको नाका जोड्ने केरुङ नाका तर्फको अन्तर्राष्ट्रिय सडक पनि यसै जिल्लामा पर्दछ ।

अझ योजना भइरहेको नुवाकोटको छहरेदेखि टोखासम्मको सुरुङमार्ग निर्माण भएपछिको नुवाकोटको अवस्था एउटा जिल्लाबाट बढेर काठमाडौँसम्मको सहज पहुँचमा नुवाकोट पर्न आउनेछ । नुवाकोटको यी विविध सम्भावनाहरूलाई नुवाकोटले उजागर गर्न सक्नु पर्दछ । कृषि उत्पादन, घरेलु उत्पाद, सांस्कृति पहिचान झल्कने गतिविधि, पर्यटकीय क्षेत्रहरूको प्रचार हुनेगरी प्रदर्शनी हुनेगरी महोत्सव केन्द्रीत हुनुपर्दछ ।

बाह्य सामानहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रमको तामझामले मात्र व्यापार बढाउन सके पनि खास रूपमा नुवाकोटको स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई बाहिर ल्याउन सक्दैन । महोत्सवमा नुवाकोटका हरेक जातीय पहिचान, क्षेत्रीय विविधता, पर्यटकीय तथा धार्मिक क्षेत्रहरूको प्रचार र उत्पादन र स्थानीय कृषि तथा खाद्य परिकारहरूको उपस्थितिलाई बढाउन सके महोत्सवको भव्यता र महत्वमात्र बढ्दैन, प्राचीन समयदेखि रहँदैआएको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैभवयुक्त नुवाकोटको नयाँ पहिचान परिष्किृत हुँदै जानसक्छ ।

धार्मिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले आपूरित नुवाकोट जिल्लामा १२ वटा स्थानीय तहको छुट्टा छुट्टै स्टल व्यवस्थापन गरी हरेक स्थानीय तहको पहिचान स्थापित गर्न पर्यटकीय, स्थानीय उत्पादन, धार्मिक स्थलहरूको जानकारीलगायतका ऐतिहासिक पक्षहरूलाई स्पष्ट्रसँग झल्काउने माध्यमको रूपमा विकास गर्न सके जिल्लामा पर्यटनहरूको आगमनमा वृद्धि हुनका साथै पर्यटकको बसाई लम्ब्याउन सकिने र कृषि क्षेत्रको ब्यावसायिक विकास, बजारीकरण, बजार सञ्जाललाई थप सघाउ पुग्नेछ । कृषि तथा अन्य क्षेत्रका सफल जिल्लाका कुनाकाप्चामा रहेका युवाको बौद्धिक क्षमताबाट उपलब्ध असल अभ्यासहरू परम्परागत प्रविधिले युवाहरूलाई उत्प्रेरित गरी स्थापित गर्ने माध्यमको रूपमा हेरिनुपर्दछ ।

यहाँका कतिपय क्षेत्रहरू प्रचार प्रसारको अभावमा ओझेल परेका ऐतिहासिक, सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न स्थानीयको आर्थिक पुनरुत्थान तथा विकासको लागि युटर्नको माध्यम बन्न सक्छ । विश्वमा नै धेरै जनसंख्या भएका दुई मुलुकहरू जोड्ने महत्वपूर्ण त्रिदेशीय मार्ग भएकाले पनि यहाँको हरेक पक्षहरूको उजागर, प्रचार प्रसार गरी पर्यटकको आगमन तथा बसाई अवधि बढाउन नुवाकोट महोत्सव कोशेढुंगा सावित हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *