रिबन

फेरि कोरोनाले महामारीको रूप लिने सम्भावना छ ?

अहिले जोकोही रुघाखोकी, ज्वरो, टाउको दुख्नेलगायत समस्याबाट ग्रसित छन् । कोरोनाको नयाँ सबभेरियन्ट जेएन वान नेपालमा समेत पुष्टि भएसँगै आमनागरिक त्रसित छन् । अन्य भेरियन्टझैं जेएन वानको पनि सामान्य लक्षण रहेको हुँदा अहिले मानिसहरू आफूलाई रुघाखोकी, ज्वरो, टाउको दुख्दासमेत कतै कोरोना त लागेन ? भनेर डराइरहेका छन् ।

छिमेकी मुलुक भारत र चीनमा जेएन वान फैलिसकेको छ । तर, सरकारले सीमाना, नाका, विमानस्थललगायतमा कोरोना चेकजाँचको व्यवस्था मिलाएको छैन । यसले बाहिरी मुलुकबाट आएका व्यक्तिहरू सिधै आफ्नो घर वा होटल, रेस्टुरेन्ट गएका छन् । र, उनीहरू संक्रमित रहेमा अन्यलाई पनि कोरोना सर्ने जोखिम बढ्दो छ ।

सरकारले घर–घरमा कोरोना संक्रमण परीक्षण गरेमा आधाभन्दा बढी मानिस संक्रमित रहेको भेटिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न अनुरोध गर्यो । मन्त्रालयले भीडभाड हुने ठाउँमा नजान, सामाजिक दूरी कायम राख्न, साबुन पानीले अनिवार्य हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र मास्क अनिवार्य रूपमा लगाउन भनेको छ ।

अहिले मठमन्दिरमा मानिसहरूको भीड देखिन्छ । तर, त्यहाँ कसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । न कसैले मास्क लगाएको देखिन्छ, न त सामाजिक दूरी नै कायम गरेको हुन्छ । फिल्म हलहरूमा पनि त्यस्तै छ । न त मुखमा मास्क लगाइएको हुन्छ, न त दूरी कायम गरिएको हुन्छ ।

गोंगबु नयाँ बसपार्क, जडीबुटी, कलंकी, कोटेश्वरलगायतमा मानिसहरूको भीडभाड देखिन्छ । तर, त्यहाँ पनि सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरिएको छैन । काठमाडौं उपत्यकाका तरकारी तथा फलफूल बजारमा पनि त्यस्तै भीड छ । त्यहाँ पनि मानिसहरूले मुखमा मास्क लगाएका छैनन् । ड्राइभिङ सेन्टरहरूमा पनि यस्तै हालत छ ।

त्यहाँ आएका सेवाग्राहीहरूले न मुखमा मास्क लगाएका छन्, न दूरी कायम गर्छन् । राहदानी विभाग र सिडियो कार्यालयमा पनि भीडभाड छ । दोहोरी साँझ, डान्स रेस्टुरेन्टलगायतमा पनि यस्तै छ । ग्राहकहरूले जनस्वास्थ्यमा मापदण्ड पालना गरेको हुँदैन । पार्टी प्यालेसहरूमा पनि विवाह, व्रतबन्ध, भोजभतेर गर्नेहरूको भीड छ ।

भाटभटेनी, सुपरमार्केट, बिग मार्टलगायतमा पनि मानिसहरूको चाप बढ्दो छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना गर्न भने कसैले ध्यान दिएको देखिँदैन । बैंकमा बस्ने कर्मचारी तथा सेवाग्राहीहरूले पनि मुखमा मास्क लगाएको हुँदैन । वर्कसपहरूमा पनि मानिसहरूको भीड छ । लामो वा छोटो रोडमा चल्ने सवारीसाधनमा कोचाकोच यात्रु हालिएको हुन्छ । न चालक, सहचालकले मुखमा मास्क लगाएको देखिन्छ, न त यात्रुले नै ।

निजी वा सरकारी विद्यालय, कलेजमा समेत जनस्वास्थ्यका मापदण्ड पालना गरिएको हुन्न । शिक्षक, शिक्षिकाले मुखमा मास्क लगाएको देखिन्छ, न त बालबालिका, विद्यार्थीले । पसलमा बस्ने व्यापारीहरूले पनि मास्क लगाएका हुन्न । बाटोमा हिँिडरहेको व्यक्ति वा सार्वजनिक स्थलमा बसिरहेको व्यक्तिले समेत मुखमा मास्क लगाएको देखिँदैन । सरकारी कार्यालयमा समेत कर्मचारीहरूले मास्कको प्रयोग गरिएको देखिँदैन । उल्टै सबै कर्मचारी एकै ठाउँमा भेला भई गफ गरेर बसेको देखिन्छ । बाटोमा खटिएका सुरक्षाकर्मीले समेत मास्क लगाउँदैनन् । राजनीतिक दलका नेताहरूले अहिले पनि सभा, गोष्ठीलगायत विभिन्न कार्यक्रम गरिरहेको पाइन्छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना गरिएको देखिँदैन ।

राष्ट्रपति, प्रधानमन्त्रीसमेत त्यस्ता कार्यक्रममा सहभागी भएको देखिन्छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेपछि कोरोना चेकजाँच गर्दैन । सिधै अदालतमा म्याद थप गर्न लगिन्छ । स्वास्थ्य मन्त्रालय सूचना निकालेर जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध त गर्छ, तर अनुरोध गर्दैमा सबै काम हुन्छ र ? अनुगमन गर्नु पर्दैन ? ०७६ सालमा विदेशबाट नेपाल आएको एक व्यक्तिमा कोरोना संक्रमण देखिनेबित्तिकै सरकारले लकडाउन गर्यो । लकडाउन गर्दागर्दै पनि हजारौं सर्वसाधारणले कोरोनाका कारण ज्यान गुमाए । कोरोनाको नयाँ सब–भेरियन्ट नेपालमा पनि पुष्टि भइसकेको छ ।

सरकारी होस् या निजी विद्यालयमा बिरामी र डाक्टरहरूले नै मुखमा मास्क लगाएकोे देखिँदैन । सरकार कोरोना परीक्षणसमेत निःशुल्क गर्न सक्दैन । अहिले पनि कोरोना परीक्षणको महँगो शुल्क लिइन्छ । मानिसहरूलाई बिहान–बेलुकाको छाक टार्न हम्मेहम्मे परिरहेको अवस्थामा कसले यत्रो महँगो शुल्क तिरेर कोरोना परीक्षण गर्छ ? भारतबाट आएका विभिन्न व्यापारी व्यवसायी घरघरमा आउँछन् । अनि उनीहरूमा कोरोना संक्रमण भएमा सबैलाई सर्ने छ । कोरोनाले भयावह रूप लिने त्रास बढेको छ । जनताहरू बिरामी हुँदै गएका छन् ।

तर, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत गम्भीर देखिएका छैनन् । गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यापारी व्यवसायी, व्यक्ति, संघसंस्थालाई कारबाही गर्न ७७ ओटै जिल्लाका सिडियो कार्यालयलाई परिपत्र गरेको छैन । अब पनि कोरोनाकै कारण आफ्नो परिवार गुमाउनुपर्ने हो कि भन्ने त्रास जनतामा छ । कोरोना कसरी नियन्त्रण गर्ने ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म चासो देखाएका छैनन् । पैसा, सामानलगायत विभिन्न वस्तुबाट समेत कोरोना सर्ने बताइन्छ । अघिल्लो चोटि आएको कोरोनाले नेतादेखि सरकारी कर्मचारी,जनप्रतिनिधि, पत्रकार, सर्वसाधारण सबैको ज्यान लियो ।

अबको कोरोनाले भने क–कसको ज्यान लिन्छ ? यो हेर्न मात्र बाँकी छ । कोरोनाले फेरि पनि महामारीको रूप लिनुअघि सरकारले आवश्यक कदम अघि चाल्नुपर्छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न लगाउनुपर्छ । नत्र कारबाही गर्नुपर्छ । भीडभाड हुन दिनुहुन्न । हरेकलाई मास्कको अनिवार्य प्रयोग गर्न लगाउनुपर्छ ।

बुढाबुढी, दीर्घरोगी, गर्भवती, बालबालिकालगायतलाई अनावश्यक रूपमा घर बाहिर निस्कनमा रोक लगाउनुपर्छ । सरकारले कोरोना नफैलिएको दाबी गरिरहँदा अस्पतालहरूमा पनि बिरामीहरूको चाप लाग्न थालिसकेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू पैसा नभएपछि अस्पताल गएका छैनन् । पैसा भएका व्यक्तिसमेत अस्पताल गएमा कोरोना संक्रमण देखिने डरले घरमै बसेका छन् ।

सरकारले समयमै ध्यान दिएमा कोरोनाका कारण सर्वसाधारणले आफ्ना ज्यान गुमाउनुपर्दैन । तर, लापरबाही गरेमा फेरि पनि हजारौंले आफ्नो ज्यान गुमाउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयकै अगाडि सार्वजनिक यातायातमा सहचालक, चालकले गुन्द्रुक कोचेझैं यात्रु कोचेका हुन्छन् । मानिसहरू मास्क नलगाई हिँडिरहेको देखिन्छ । तर, मन्त्रालय भने एउटा सूचना निकालेर आफ्नो काम पूरा भएको ठान्छ । सरकारले जनताबाट कर उठाउने मात्र होइन । सर्वसाधारणको बाँच्ने अधिकार सुरक्षित पनि गर्नुपर्छ । कोरोना नियन्त्रणका लागि सरकारले अहिले नै आफ्नो गाउँघर फर्किन चाहनेलाई सचेत गराउनुपर्छ । सरकारलाई त जनताको मतलब छैन ।

जनताले आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नुपर्छ । भीडभाडमा जानुहुन्न । मास्क अनिवार्य प्रयोग गर्नुपर्छ । सरकारले ऐन, कानून बनाउन सक्छ, कार्यान्वयन गराउन सक्छ, तर मान्छे जन्माउन सक्दैन । सरकारले मान्छे जन्माउन सक्दैन भने उसलाई मार्ने अधिकार पनि छैन । त्यसैले, सर्वसाधारणको बाँच्न पाउने हक, अधिकार सरकारले सुरक्षित गर्नुपर्छ । पछिल्लो समय सरकार गोली ठोकेर जनताको ज्यान लिन अनि दश लाख क्षतिपूर्ति दिन्छ । के नागरिकको ज्यानको मूल्य दश लाख हो ? दश लाख दिएर जनताको ज्यान लिन पाइन्छ ? त्यसैले, अब सरकारले मतलब नगरे पनि जनताले आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नुपर्छ । कोरोनाबाट आफू पनि बच्नुपर्छ र आफ्नो परिवारलाई पनि जोगाउनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *