राजनीति

सिटौलाको उदयले संघीय संसदमा ल्याउन सक्ने फेरबदल

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियरको उत्तराद्र्धको व्यवस्थापन सभापति शेरबहादुर देउवाले बडो सहजताका साथ गरेका छन् । एक वर्षअघि झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौला जनप्रतिनिधि नभएकै ६ वर्ष भइसकेको थियो । नेपालमा सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन विशेष भूमिका खेलेका सिटौला पार्टी र संसद् दुवैमा प्रभावकारी भूमिकामा देखिएका थिएनन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समानखाले सम्बन्ध भएका सिटौलाको उत्तराद्र्धको राजनीतिलाई देउवाले कूटनीतिक तरिकाले केन्द्रमा राख्ने संकेत गरेका छन् । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि देउवाले उनलाई कोशी प्रदेशबाट उम्मेदवार बनाएका छन् । त्यो पनि विवादरहित ढंगले । सिटौलाको उम्मेदवारीबारे कहीँकतै विरोध देखिएको छैन । उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेवार बनाउन खोजेको थाहा पाएसँगै सिटौला पार्टीमा सर्वसम्मत भएका हुन् ।

फागुन २० पछि हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा सिटौलाले उम्मेदवारी दिने निश्चित छ । किनभने पार्टी सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड दुवैले राष्ट्रिय सभा अध्यक्ष बन्नुहोस् भनिसकेका छन् । यसलाई सिटौलाले पनि स्वीकार गरेका छन् । संघीय संसद् मात्र होइन, संवैधानिक परिषदको पदेन सदस्य हुने भएकाले राष्ट्रिय सभाको अध्यक्षको भूमिका ठूलो र महत्वपूर्ण हुने गर्छ । अभिवक्तासमेत रहेका सिटौला कानुन निर्माणमा पूर्ण जानकार मानिन्छन् । संविधान लेखन सुझाव समितिका संयोजकसमेत रहेका सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्नेवित्तिकै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई निकै भारी पर्ने देखिन्छ । घिमिरे र सिटौला दुवै झापाकै हुन् ।

संघीय संसद् अब झापाली नेताले नै चलाउने छन् । संघीय संसद् अहिले एमालेको पूर्ण नियन्त्रणमा छ । एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरे र गणेशप्रसाद तिमिल्सिनालाई संसदको बागडोर सुम्पेका छन् । एमालेको त्यही दबदबा तोड्नका लागि पनि सिटौला जस्ता राजनीति र कानुन दुवैमा पूर्ण मानिएका नेतालाई ल्याउन देउवा र प्रचण्ड सहमत भएका हुन् ।

पार्टीमा तेस्रो धार जन्माएका सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्नेवित्तिकै कांग्रेसमा पनि समीकरणमा ठूलो फेरबदल आउने निश्चित छ । सिटौला ६ वर्षका लागि सांसद बन्दैछन् । त्यसकारण उनको यो राजनीतिक करियर उत्तराद्र्धको हो । त्यसैले उनको समूहमा रहेका नेताहरू संस्थापन र इतर समूहमा खुल्ने निश्चित छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाएपछि झापामा आफू अझ बलियो हुने महामन्त्री विश्वप्रकाश शर्माले अपेक्षा गरेका छन् । त्यसकारण सिटौलाको मनोनयन दर्ता गर्न शर्मा पनि सोमबार विराटनगर पुगेका थिए । झापामा सिटौला र शर्माको ठूलो लडाइँ रहेको मानिन्छ । तर शर्मा महामन्त्री भएसँगै सिटौलाले उनलाई बधाई दिएर दूरी कम गरेका थिए ।

कांग्रेसमा सिटौलाको समूह पहिले निकै प्रभावशाली थियो । अहिलेका महामन्त्री गगन थापालाई सुरुमा महामन्त्रीको उम्मेदवार सिटौलाले नै बनाएका थिए । तर त्यसबेला थापा पराजित भए । सिटौलाको समूह छाडेपछि थापा शेखर कोइराला समूहमा गए र महामन्त्री निर्वाचित भए । सिटौलाले पछि प्रदीप पौडेललाई महामन्त्री उठाए । तर उनी जित्न असफल भए । अहिले प्रदीप गगन थापाकै समूहमा पुगेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार अबको एक वर्षपछि प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेछन् । त्यसबेला सरकार र संसद् चलाउन अनुभव भएका नेता चाहिने भएकाले पनि सिटौलालाई दुई दुईपटक सांसदमा पराजित भए पनि राष्ट्रिय सभामा पठाउन लागिएको हो । त्यसमा पनि सिटौला र एमाले अध्यक्ष केपी ओलीको हार्दिक सम्बन्ध छ । ओलीलाई वैचारिक ढंगले जवाफ दिन सक्ने क्षमता सिटौलामा भएकाले पनि उनलाई त्यो चुनौतीको सामना गर्न देउवाले महत्वपूर्ण भूमिका दिन लागेको कांग्रेस नेताहरूको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *