राजनीति

देशकै नेता बन्नुपर्ने भीम रावललाई वडा र जिल्लामा खुम्च्याइँदै

काठमाडौं । भनिन्छ राजनीतिको भविष्यवाणी गर्न निकै कठिन हुन्छ । आज भइरहेको भोलि हुन्न । कसैले नसोचेको एक्कासि राजनीतिमा हुने गर्छ । झन्डै दुई वर्षअघिको स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन्द्र साह बालेन र धरानमा हर्कराज साम्पाङ राईको उदय होला भन्ने कसैले पनि सोचेका थिएनन् । एक वर्षअघिको प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पनि रवि लामिछाने राजनीतिमा स्थापित होलान् भन्ने कमैले सोचेका थिए । तर आज बालेन, हर्क र रविकै चर्चा परिचर्चा छ । तर उनीहरू अर्को निर्वाचनसम्म अहिलेकै जस्तो रापतापमा रहिरहलान् भन्ने सोच्नु पनि मूर्खता हुन्छ ।

कुनै समय एमालेमा वामदेव गौतम र भीम रावलको जगजगी थियो । वामदेव जता ढल्किन्छन्, त्यसकै पल्ला भारी हुन्थ्यो । एमाले अध्यक्ष केपी ओली अहिले जुन अवस्थामा छन्, त्यहाँसम्म ल्याउन वामदेवको ठूलो भूमिका छ । तर वामदेव भने ओलीबाट किनारामा पारिएका छन् । आज वामदेव एमालेमा छैनन् । एमालेकै पहलमा राष्ट्रिय सभा सदस्य भए पनि उनी अहिले आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् ।

पचासको दशकको वामदेवको चार्म जस्तै साठीको दशकमा भीम रावल पनि त्यस्तै चर्चित थिए । एमालेमा वैचारिक र सांगठनिक क्षमता भएको नेता मानिन्थ्यो रावललाई । २०७४ को निर्वाचनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नु नै धेरै एमाले नेताको राजनीतिक करियर समाप्त हुने दिन सुरु भएको हो । एमाले र माओवादी मिलेर नेकपा गठन हुनु र त्यसभित्र निस्केको किचलोले धेरै एमाले नेता पाखा पारिए । पाखा पार्ने क्रम अहिले पनि जारी छ । कतिसम्म भने अहिले एमालेमा वैचारिक नेता पाउन हम्मे हम्मे पर्छ ।

भीम रावलले धेरै मन्त्रालय चलाइसकेका छन् । खासगरी परराष्ट्र र गृह मन्त्रालयमा उनको दख्खल देखिएको थियो । एमालेमा रावललाई भावी अध्यक्षको समेत चर्चा गरिन्थ्यो । तर नेकपाकालमा माधव नेपाललाई साथ दिएको आरोप लगाउँदै ओलीले पेल्न थाले । त्यसपछि एमाले विभाजन भयो । माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे । रावलहरू एमालेमै बसे । तर दशौं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएपछि उनलाई बसिखान दिइएन । दुई वर्ष भइसक्यो रावल एमालेमा तिरस्कृत पात्रका रूपमा रहेको ।

न त उनी पार्टी केन्द्रीय कमिटीमा छन् । न त पार्टीले नेताकै हैसियत दिएको छ । कतिसम्म भने सुदूरपश्चिम प्रदेशमा भएका एमालेका औपचारिक कार्यक्रममा समेत रावललाई बोलाइँदैन । एमालेका नेताहरू ओलीको डरले उनलाई भेट्नै डराउँछन् । रावललाई पार्टीमा उचित हैसियत र जिम्मेवारी दिन भन्दै एक वर्षअघि विष्णु पौडेलको संयोकत्वमा एक कमिटी गठन भएको थियो । सो वार्ता कमिटीले एकपटक रावलसँग कुराकानी पनि गरेको थियो । त्यसपछि ओली र रावलबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता पनि भयो ।

तर ओलीले रावललाई पार्टीमा उचित भूमिका र जिम्मेवारी दिने कुरा गरेनन् । त्यसयता रावलको काम सामाजिक सञ्जालमा सरकार र दलका नेताहरूको गलत क्रियाकलाप, सामाजिक विकृति विसंगतिबारे लेख्नु रहेको छ । पार्टीले कुनै भूमिका नदिए पनि रावलले एमाले त्याग्न सकेका छैनन् । आफ्नो सिंगो राजनीति एमालेमै बिताएकाले होला उनलाई पार्टी त्याग्न सकस परेको । पार्टी कुनै वास्ता नगरे पनि अहिले रावल गृहजिल्ला अछाममा पार्टीका वडा सम्मेलन, स्थानीय तहस्तरीय कार्यक्रममा सहभागी हुने गरेका छन् । स्थानीय नेता कार्यकर्तालाई भेट्ने, छलफल गर्ने उनको दैनिकी छ । देशकै नेतृत्व गर्नसक्ने खुबी भएका रावल आज किन यसरी किनारामा पारिए भनेर कुनै पनि एमालेका ठूला नेताले भन्न सकेका छैनन् । उनीहरू ओलीको डरले थुरथुर हुने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *