काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सातजना नेताको नाम सिफारिस गरेको छ ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगाना र दोस्रो स्थानमा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम छ । अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव बारा, रामचन्द्र तिवारी महोत्तरी, राजेन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहटलगायत छन् ।
मधेस प्रदेशका आठ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता पुस २३ लाई तोकिएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एकजनाको पद पनि खाली हुँदैछ ।




