काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको वर्ष दिन पुगेको अवसरमा सम्बोधन गर्नेक्रममा आफू अब सच्चिने र काम गरेर देखाउने बताएका थिए । आमजनताले प्रधानमन्त्रीले सबैलाई सम्बोधन गरेर भनेकाले पूरा गर्लान् भन्ने अपेक्षासमेत गरेका थिए । तर आमजनताको आशा र विश्वासको कुठाराघात गर्दै प्रचण्डले भोलिपल्टैदेखि खुद्रामसिना कार्यक्रममा आफूलाई व्यस्त राखेका छन् ।
कार्यशैली बदल्छु र नगई नहुनेबाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका प्रचण्ड दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए । पहिलो थियो, उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी पुगेका थिए । त्यसपछि उनी माओवादीले आयोजना गरेको वडास्तरीय कार्यक्रममा सहभागी भएका थिए ।
त्यसपछि आफ्नी नातिनीको घरमा पुगेका थिए । त्यो पनि सैनिक हेलिकोप्टर चढेर । राष्ट्रिय महत्वको कार्यक्रममा प्रधानमन्त्री जाने हो । तर गाउँपालिका अध्यक्ष जान पनि लायक नरहेको कार्यक्रममाधरि प्रधानमन्त्री हेलिकप्टर चढेर पुगिरहेका हुन्छन्, जसको कुनै औचित्य देखिँदैन ।
प्रचण्ड शुक्रबार दोलखा सदरमुकाम चरिकोट पुगे । उनी दोलखा महोत्सव २०८० उदघाटन गर्न सैनिक हेलिकोप्टरमा गएका हुन् । प्रधानमन्त्री लिन सेनाको एनए–०५४ हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मध्य एयर बेसबाट बिहान सवा ११ बजे बालुवाटार प्रस्थान गरेको थियो । चरिकोट महोत्सवको उदघाटन गर्दै प्रचण्डले आफूले देशको नेतृत्व सम्हाल्दा अवस्था भयावहको भए पनि एक वर्षमा धेरै सम्हालिएको दाबी गरे । उनले आफू नेतृत्वको सरकारको एक वर्षे कामले अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्य चिर्दै गएको दाबी पनि गरे ।
‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भयावहको स्थिति थियो । नेपालको अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्यको प्रचार थियो । अवस्था पनि अप्ठेरो थियो । तर, अब हामी धेरै निराश हुनुपर्ने अवस्था छैन । दबाब त छ । तर, मैले नेतृत्व सम्हालेको तुलनामा धेरै आशावादी र उत्साहवद्र्धक छ,’ उनले भने ।
प्रचण्ड घोषणा गर्छन्, कार्यान्वयन गर्दैनन् भन्ने सबैलाई परिसकेको छ । किनभने एक साताअघि उनले मन्त्रीहरू र सचिवहरूको परफर्मेन्स राम्रो नदेखिएको भन्दै आफूले बोल्ड डिसिजन गर्न लागेको घोषणा गरेका थिए । त्यो पनि मिडियामै बोलेका थिए । तर भोलिपल्टै उनले भनेको बोल्ड डिसिजन फिक्का सावित भो ।
किनभने काम नगर्ने मन्त्री हटाउने सामथ्र्य उनमा देखिएन । प्रचण्ड आफ्नै पार्टीका मन्त्रीसमेत हेरफेर गर्न सक्ने हैसियतमा नभएको नेताहरु बताउँछन् । पर्यटनमन्त्री सुदन किराँतीको हर्कतले माओवादीलाई ठूलो धक्का लागेको छ । पार्टी क्रिस्चियन मेसिनरीअन्तर्गत चले पनि सार्वजनिक रूपमा मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही भन्न मिल्दैनथ्यो ।
९० प्रतिशतभन्दा बढी सनातन धर्म मान्ने मुलुकमा पास्टरको शैलीमा किराँतीले भाषण गर्दा प्रचण्ड आफैं पनि असन्तुष्ट रहेको समाचार आएको थियो । चितवनमा आयोजित हात्ती महोत्सवमा मन्त्री किराँतीको नाम लास्टमा हटाएर अर्थमन्त्री प्रकाशशरण महतलाई बोलाइएको थियो । यसले किराँती कतिसम्म बदनाम भइसकेछन् भन्ने प्रचण्डले थाहा पाउनुपथ्र्यो । किराँतीलाई नहटाएमा माओवादीको ड्यामेज हुने क्रम बढ्ने मात्र हो ।
चौतर्फी रूपमा उनलाई हटाउन आवाज उठाए पनि प्रचण्ड अहिले मन्त्री फेर्न डराएका छन् । त्यसैले होला कांग्रेस नेता शेखर कोइरालाले मन्त्री होइन, सरकारको नेतृत्व नै फेर्नुपर्ने र कांग्रेसले सरकारको नेतृत्व हातमा लिनुपर्ने धारणा राखेको । एमाले अध्यक्ष केपी ओलीले त जति दिन प्रचण्ड नेतृत्वको सरकार रहन्छ, त्यति दिन गोली खाएर नेपाली जनताले मर्नुपर्ने घोषणा नै गरेका छन् ।




