राजनीति

रास्वपामा देखिन थाल्यो विग्रहको संकेत, तयार हुँदैछ नयाँ धार

काठमाडौं । पार्टी खोलेको डेढ वर्षमै सभापति रवि लामिछाने एकपछि अर्को काण्डमा मुछिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विग्रह देखिन थालेको छ । हरेक मान्छेमा सामान्य कमीकमजोरी हुन्छन् । कमजोरी नभएको मानिस भेटाउन मुस्किल पर्छ । तर रवि लामिछाने भने नैतिक, चारित्रिक, संगठित गिरोह, कमिसनमा मुछिएका छन् ।

एक वर्षअघि दोहोरो नागरिकता प्रकरणमा सांसद नै गुमाएका रवि मिडिया क्षेत्रमै हुँदा आत्महत्या दुरुत्साहन मुद्दामा तीन महिना चितवनमा जेल परेका थिए । न्युज २४ टेलिभिजनमा सँगै काम गरेका शालिकराम पुडासैनीले रविकै कारण आफू आत्महत्या गर्न विवश भएको भिडियो सार्वजनिक गरेका थिए । मिडियामा लागेको फाइदा उठाउँदै रविले त्यसमा सफाइ त पाए, तर उनलाई त्यो घटनाले पछ्याइरहेको छ । यदि सञ्चारकर्मी नभएको भए रविलाई प्रहरी प्रशासनले उनको पेसामा पूरै अनुसन्धान र छानबिन गर्ने थियो ।

त्यसबाट उम्केका रविले डेढ वर्षअघि दोहोरो नागरिकताकै कारण सांसद पद गुमाए । दोहोरो राहदानी प्रकरण मुल्तबीमा छ । गत वैशाखमा चितवन २ मा उपनिर्वाचनकै क्रममा उनको घरको छतबाट ड्राइभर खसेर मरे । उनले आत्महत्या गरेका हुन् वा नियोजित हो भन्ने प्रहरीले अनुसन्धान नै नगरेकाले रवि छानबिनको दायरामा आएनन् ।

अहिले ग्यालेक्सी फोरके टेलिभिजनमा विभिन्न जिल्लाका सहकारीबाट ऋण लिएर लगानी गरेको र सहकारी बन्द हुन पुगेपछि विवादमा तानिएका छन् । रविकै आकर्षक व्यक्तित्व र लोकप्रियताको फाइदा उठाउँदै गितेन्द्रबाबु राई (जीबी) ले विभिन्न सहकारीसँग विना धितो करोडौं रुपैयाँ ऋण लिएको देखिएको छ । जसकारण अहिले ती सहकारी डुब्न पुगेका छन् । रविकै भनाइमा पनि जीबी राईले उनलाई १५ प्रतिशत सेयर दिएका थिए । रविले भदौमा मात्र ग्यालेक्सीसँगको आफ्नो सेयर बाँडफाँट गरेको पत्र सार्वजनिक गरेका छन् ।

आफूविरुद्ध मिडियामा समाचार आएपछि रविले पार्टी खोल्नुअघि नै ग्यालेक्सीसँगको आबद्धता छाडेको दाबी गरेका थिए । तर उनले बुधबार सामाजिक सञ्जालमा पोस्ट गरेको डकुमेन्टले भदौमा मात्र अलग भएको देखाउँछ । जबकि दुई वर्षअघि नै सहकारीबाट विना धितो कर्जा लिएर ग्यालेक्सी फोरकेमा हालिएको थियो । स्रोतका अनुसार रविले सेयरबाहेक मासिक साढे आठ लाख तलब बुझ्थे । त्यो तलब सहकारीमा निक्षेप राख्ने बचतकर्ताकै भएको पुष्टि भइसकेको छ ।

दिनहुँ रविबारे समाचार आउन थालेपछि पार्टीका नेताहरू असन्तुष्ट बन्न थालेका छन् । रास्वपा संसदीय दलका प्रमुख विराजभक्त श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत रवि लक्षित स्टाटस लेखेका छन् । जसमा रविलाई पछाडि हट्न भनिएको छ । उनले लेखेका छन्, ‘यदि तपाईं कसैको लागि, समाजका लागि अथवा देशका लागि सम्पत्ति बन्न सक्नु हुन्न भने घाँडो पनि नबनी दिनुहोला । यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भए पछाडि हटेर सहयोग गरिदिनु होला,’ उनले लेखेका छन् । श्रेष्ठले आधा जलेको सलाईको काँटी र आधा बाँकी काँटी राखेर थप ड्यामेज नगर्न आग्रह गरेका छन् ।

रास्वपामा श्रेष्ठलाई हालै मात्र संसदीय फाँटको जिम्मेवारी दिइएको हो । उनलाई अझै केन्द्रीय समितिमा राखिएको छैन । रास्वपा स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गणेश कार्की अहिले एक्लो भएका छन् । उनलाई टिम बाहिर राखिएको छ । पछिल्लो समय कार्की काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनसँग देखिन थालेका छन् । यस्तै, रास्वपालाई चर्चित बनाउन भूमिका खेल्ने डा.तोसिमा कार्की र सोविता गौतमलाई केन्द्रीय सदस्य नै बनाइएन । उनीहरूलाई कुनै भूमिका दिइएको छैन ।

सोविताले काठमाडौं २ र तोसिमाले ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । सोविता र तोसिमा पछिल्लो समय सभापति रवि लामिछानेको भूमिकाप्रति असन्तुष्ट देखिन थालेका छन् । रवि र स्वर्णिम वाग्लेबीच पनि सम्बन्ध ठिकठाक चलिरहेको छैन । कुनै बेला पनि स्वर्णिम पार्टी छाडेर हिँड्ने मनस्थितिमा पुगिसकेको बताइन्छ । रविले आफ्ना केही पत्रकार साथीलाई किचेन क्याबिनेटमा राखेपछि सिनियर नेताहरू रुष्ट बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *