काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरुले रोजगारीमा प्रत्यक्ष असर परेको भन्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाएका छन् । सिमरामा ध्यानकर्षण पत्र बुझाउदैँ ६ हजारभन्दा बढी मजदुरहरुको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् ।
इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत् नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं , पत्रमा उल्लेख छ ।
‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच द्वोन्द्वको अवस्था सिर्जना हुन पुगेको छ । पुस ७ गते नेपाल विद्युत प्राधिकरणले बारा जिल्लास्थित जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स, हुलास स्टिल, अशोक स्टिलसहितका उद्योगहरुमा विद्युत लाइन काटिदिएको थियो । प्राधिकरणले उद्योगको लाइन काटेपछि हजारौ मजद्ुरहरुको रोजगारीमा प्रत्यक्ष असर पुगेको छ ।
उनीहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार, रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर पदर्शनमा उत्रिएर जुलुससहित इलाका प्रशासन कार्यालय सिमरामा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत छन् ।





