राजनीति

सहकारी काण्डले रविमाथि नै घन्टी बज्दै

काठमाडौं । रफ्फु भरेर बनाएको चरित्र टिकाइराख्न गाह्रो हुन्छ भनिन्छ । आज यता टाल्यो, भोलि उता भ्वाङ पर्छ, भोलि उता टाल्यो पर्सि यता भ्वाङ पर्छ । टाल्दाटाल्दै उसको सबै सर्वांग देखिन्छ ।

अहिले यस्तै हालत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको देखिएको छ । स्थानीय तहको निर्वाचनमा बालेन्द्र साह बालेनहरूको उदय भएको देखेपछि उनले त्यसको दुई महिनामै सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोले । उनले पार्टी खोल्ने बेला निर्वाचन आउन पाँच महिना मात्र बाँकी थियो । आफूसँग मिडियामा काम गरेका र केही शुभचिन्तकलाई बटुलबाटुल पारेर उनले रास्वपा खोले । र, निर्वाचन आयोगमा पार्टी दर्ता गरे ।
स्थानीय चुनावमा बालेन, हर्क साम्पाङहरूले जितेका थिए ।

सबैतिर उनीहरूकै मात्र चर्चा थियो । त्यही लोकप्रियतालाई क्यास गर्न रवि लामिछाने दौडिए । कांग्रेस, एमाले, माओवादीहरूको पुरानै ढर्राको सोच र गतिले जनता वाक्क दिक्क भइसकेका थिए । त्यही भएर धेरै मानिस रविको भाषणमा मख्ख भए । यही मौका हो भनेर काठमाडौं, ललितपुर, चितवनमा रास्वपाले दह्रो उपस्थिति जनायो । रविले चितवन २ मा सानदार मतका साथ चुनाव जिते । पुस १० गते माओवादीका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे । र, प्रचण्ड सरकारमा ३३ दिन उपप्रधानमन्त्री र गृहमन्त्री बने ।

मन्त्री भएकै बेला रविको एक पछि अर्को काण्ड बाहिर आउन थाल्यो । त्यसअघि नै उनी मिडिया क्षेत्रमै हुँदा उनका सहकर्मी शालिकराम पुडासैनीले रविकै कारण आफूले आत्महत्या गर्नुपरेको भन्दै भिडियो बनाएर भरतपुरको एक होटलमा झुन्डिएका थिए । यो घटनामा रवि तीन महिना जेल पनि परे । तर जिल्ला अदालत चितवनले उनलाई सो घटनामा सफाइ दियो । त्यहीबेलादेखि चितवनमा रवि लोकप्रिय बनेका हुन् । सुञ्चार क्षेत्रमा कमाएको लोकप्रियता नै रविको पुँजी थियो ।

तर दोहोरो नागरिकता काण्डले उनको सांसद पद गुम्यो । मन्त्रीबाट राजीनामा दिए । पार्टीको सभापति पदबाट हटे । तर जब नयाँ नागरिकता लिए तब पार्टीको सभापतिमै फर्के । चितवन २ मा उपनिर्वाचनबाट फेरि सांसद चुनिए । पार्टीको संसदीय दलको नेता बने । राहदानी प्रकरणमा भने रविले सफाइ पाउने चान्स थिएन । दोहोरो राहदानी प्रयोग गरेकोमा उनी फस्ने निश्चित थियो । तर प्रचण्डले आफ्नो सरकारलाई जुनसुकै बेला संकट आइपर्दा रविले साथ दिने बाचा गरेको भन्दै महान्यायाधीवक्ता कार्यालयमार्फत दोहोरो राहदानी मुद्दा अघि बढ्न नसक्ने भन्दै मुल्तवीमा राख्न लगाए ।

यतिबेला भने उनी फेरि विवादमा तानिएका छन् । यसपटक भने उनी सहकारी लफडामा परेका छन् । त्यसमाथि पनि नेपालको नम्बर एक दैनिक मानिने कान्तिपुरसँग उनको वारपारको लडाइँ सुरु भएको छ । पोखरामा खोया प्रहार भएको विषयमा कान्तिपुरले पहिल्यै कसरी थाहा पायो र समाचार लेख्यो भन्दै उनले प्रश्न गरेपछि अहिले रवि संलग्न सहकारी हिनामिना प्रकरण उत्खनन् हुन थालेको छ । सिरिजवाइज रूपमै हरेक दिन मेनस्टोरी आउन थालेपछि पार्टी खोलेको डेढ वर्षसम्म अरुलाई घन्टी बजाएका रविमाथि अहिले आफैं घन्टी बज्न थालेको छ । सूर्यदर्शन सहकारीमा उनले एक करोड लिएको खुलिसकेको छ । यस्तै, उनी ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक हुँदा चितवनको साहरा बचत सहकारीसँग १२ करोड लिएको र त्यो सहकारी अहिले डुबेकाले रविमाथि नैतिक संकट देखिएको छ ।

धन देखेपछि अमेरिकामा श्रीमती र दुई छोरी त्यागे, विदेशी प्रेमिका र त्यसबाट जन्मेको छोरो त्यागे, आफ्नै सहपाठी शालिकराम पुडासैनीलाई मर्न बाध्य पारे, गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र विदेशीलाई बेचेर एक अर्ब बढी अपचलन गरेको भन्दै विवादमा तानिए, सुराकीबापत दैनिक ५० हजार लिने गरेको पाइयो, सांसद र मन्त्री बनाउँदा कोर टिममार्फत करोडौं कमिसन लिएको आरोप लाग्यो, अहिले पोखरेली र चितवने ३० हजार जनताको घरबार बिग्रिनमा रविको पनि संलग्नता देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *