राजनीति

सामसुम पारिएको दोहोरो राहदानी प्रकरण ब्यूँतिने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी सभापति रवि लामिछाने फेरि एकपटक कानुनी झमेलामा फसेका छन् । आफ्नो पुरानो नागरिकता प्रयोग गरी पोखराको सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जाअन्तर्गत एक करोड ऋण लिएको देखिएपछि उनी झमेलामा फसेका हुन् । रविले भने यसलाई अस्वीकार गर्दै आएका छन् । १९ हजार बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना भएपछि सो सहकारीलाई अहिले पोखरा महानगरपालिकाले छानबिन गरिरहेको छ । महानगरले रविलाई बोलाएरै ऋण लिएको देखिएको भन्दै जानकारी लिएको छ । रविको पूरै ठेगानासहित संलग्नता देखिएपछि सर्वसाधारणमा उनीप्रतिको मोहभंग हुँदै गएको छ ।

यही रिसमा रविले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि धावा नै बोले । जबकि गृहमन्त्री श्रेष्ठले यस विषयमा केही बोलेका छैनन् । उनीमाथि छानबिन अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिएका छैनन् । तर कान्तिपुर अनलाइनमा पोखराका रिपोर्टरले लेखेको न्युजलाई आधार मान्दै रविले गृहमन्त्री श्रेष्ठकै निर्देशनमा आफूलाई फसाउने प्रपञ्च गरिएको आरोप लगाएका छन् । जबकि रविले श्रेष्ठमाथि लगाएका आरोपको कुनै तुक छैन । विषयलाई अन्यत्रै मोड्न रविले यस्तो हर्कत गरेको सबैले बुझेका छन् ।

सोमबार नवलपुरको गैैडाकोटमा रविले गृहमन्त्री श्रेष्ठले आफूलाई फसाउन लागेको आरोप लगाए । सहकारी ठगी आरोप लागेका जेबी राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनको आरोप छ । जेबी राई ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष पनि हुन् । उनी हाल फरार छन् ।
‘यसअघि राष्ट्रिय परिचयपत्रको ठेक्का प्रकरणमा मलाई फसाउन सकिन्छ कि भनेर छानविन समिति गठन गर्नुभयो सक्नुभएन ।

अब यही सहकारीभित्र छिरेर यसलाई फसाउन सकिन्छ भन्ने कुनै योजनाभित्र तपाईं हुनुहुन्छ कि भन्ने मलाई आशंका छ’, लामिछानेले भने, ‘योजनाअनुसार समाचार निकालेर फसाउन खोजिएको छ ।’ उनले पोखरामा योजनाअनुसार आफूमाथि आक्रमण गराउन खोया बोकेर मान्छे पठाएको पनि दाबी गरे । ‘कुन योजनाअन्तर्गत खोया बोकेर मान्छे गएको हो । अहिलेसम्म चासो छैन । ममाथि आक्रमण भयो । समाचारका ठूलाठूला हेडलाइन आउन सुरु भए । तर मलाई गृह मन्त्रालय गृह प्रशासन कसैले पनि एकपटक कन्सर्न राख्नुपर्ने त होला नि छैन् ।

किनकि ठूलो शक्ति योजनाबद्ध छ,’ उनले भने ।सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रविले व्यक्तिगत रूपमै ओर्लेर गृहमन्त्रीमाथि गम्भीर लाञ्छना लगाएका छन् । ‘गृहमन्त्रीज्यू तपाई आफ्नो पद जोगाउनुहोस् । केही फरक पर्दैन । किनभने चुनाव जित्नुपर्ने होइन । म चुनाव जितेर आएको सबैभन्दा धेरै मत ल्याएको हिसाबले तपाईलाई भन्न चाहन्छु, कुनै सहकारीको पैसा अपचलन गरेको प्रमाणित गर्नुहोला । म तयार छु तपाईहरूका लागि मेरो शुभकामना छ,’ लामिछानेले भने, ‘जहाँबाट समाचार सुरु भयो त्यो लेख्ने व्यक्ति उहाँको पार्टी निकटको पत्रकार रहेछ । उहाँ अघिल्लो चुनावमा सोही पाटीको प्रचारक हुनुहुन्थ्यो । झुटो कुराको जगमा बसेर लेखेका समाचारलाई आधार बनाएर छानविन समिति बनाउन खोज्नुभएको छ ।

कतिसम्म भने रविले गृहमन्त्रीको संरक्षणमा सुन तस्करमा संलग्नहरू छुटेकोसमेत आरोप लगाए । ‘गृहमन्त्रीलाई भेटरे मैले सुन तस्करमा संलग्न भएका व्यक्तिहरूको नाम दिएको थिएँ । राजश्व अनुसनधानका डिजी, झलकराम सुवेदीहरूलाई बचाउन लागियो,’ उनले भने, ‘आफ्ना सन तस्करलाई बचाउन राजश्व विभागलाई अनुसन्धान गर्न नदिएर प्रहरी मातहत मुद्दा चलाउन लागियो । प्रधानमन्त्रीअन्तर्गतको राजश्व अनुसन्धानले गरेको मुद्दा प्रहरीमा ल्याउनुभयो । प्रहरीमा ल्याएपछि मुद्दा कमजोर गर्न पाइयो । मुद्दा कमजोर बनाएपछि न्यायाधीशहरू बदनाम हुने भए । पहिल्यै मुद्दा कमजोर बनाएपछि न्यायलयलाई देखाएर आफू जोगिन पाइने भयो । आफ्ना मान्छेलाई जोगाइरहनुभएको छ ।’

रविले आज बहालवाला गृहमन्त्रीमाथि लगाएको लाञ्छना सामान्य होइन । यो निकै संवेदनशील छ । गम्भीर प्रकृतिको छ । अहिलेसम्म गृहमन्त्री श्रेष्ठले यसबारे कुनै प्रत्युत्तर दिएका छैनन् । तर गृहमन्त्री श्रेष्ठले आफूमाथि लगाएको आरोपको प्रस्टीकरण भने दिनैपर्ने हुन्छ । आज र भोलि सार्वजनिक बिदा भएकाले पनि गृह मन्त्रालयले आधिकारिक रूपमा केही नबोलेको हुन सक्छ । तर नारायणकाजीमाथिको पंगा रविलाई धेरै महँगो पर्नेमा कुनै शंका छैन । किनभने दोहोरो नागरिकता र राहदानी प्रकरणमा प्रचण्ड सरकारले रविलाई जोगाइदिएकै हो ।

यदि दोहोरो राहदानी प्रकरण पुनः ब्यूँतिएमा रवि जेल पर्ने सम्भावना निकै छ । महान्यायाधिवक्ता डा.दीनबन्धु पोखरेलकै कारण दोहोरो राहदानी प्रकरण सामसुम भएको हो । यसबारे मुद्दा अगाडि नबढेको हो । यदि महान्यायाधिवक्ताको कार्यालयले दोहोरो राहदानी प्रकरणबारे अदालतले मुद्दा अगाडि बढाउन सकिने राय दिएमा रवि फस्ने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *