काठमाडौं । सात महिनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले माओवादी र आफ्नै दल नेपाली कांग्रेसबाट थप एक एकजनालाई मन्त्री बनाएका हुन् ।
गत जेठमा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ । माओवादीले दुई मन्त्री पाउनुपर्ने हठ नछाडेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
माओवादीबाट कृष्णा केसी र कांग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् । आइतबार बिहान उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम छ । मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्युठानका राणालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
रोज राणा नेपाली चलचित्रका निर्माता हुन् । उनी निर्माता संघका महासचिव थिए । चलचित्र, रेस्टुरेन्ट व्यवसाय हुँदै उनी कांग्रेसको राजनीतिमा होमिएका थिए । पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत भएका छन् ।




