काठमाडौं । सत्तारुढ माओवादीको पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो ।
माओवादीले सरकारले राम्रै काम गरेको निष्कर्ष निकालेको छ । बैठकमा प्रचण्डले गठबन्धन दलबीच भएको सहमतिअनुसार आफ्नो कार्यकाल एक वर्ष रहेको जानकारी दिए । उनले बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने बताए । ‘सरकारको काम राम्रै छ । गठबन्धनमा भएको सहमतिअनुसार कार्यकाल एक वर्ष बाँकी छ ।
यो वर्ष काममा तीव्रता दिनुपर्छ । कामको गियर बढाउँछु,’ प्रचण्डले भने । प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए । गठबन्धनमा दुई वर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको नेताहरूले बताउने गरेका छन् ।
संविधानअनुसार चल्ने हो भने कि त प्रचण्डले पूरै पाँच वर्ष प्रधानमन्त्री हुनुपर्छ । होइन भने यही गठबन्धन कायम भएमा कांग्रेसका सभापति देउवा मात्र प्रधानमन्त्री बन्न सक्छन् । बीचमा अरु दलबाट प्रधानमन्त्री बन्ने सम्भावना छैन । किनभने कांग्रेस संसदमा सबैभन्दा ठूलो दल हो । प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपछिले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान गर्नेछन् ।
संविधानको धारा ७६ को २ अनुसार प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । उनले राजीनामा दिनेवित्तिकै संविधानको धारा ७६ को उपधारा (३) अनुसार नयाँ सरकार गठनका लागि आह्वान हुनेछ । सो उपधारामा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री हुने उल्लेख छ । त्यसैले प्रचण्डले राजीनामा दिएमा माधव नेपाल कसरी प्रधानमन्त्री बन्छन् भन्ने चासो देखिएको छ ।
प्रचण्डले अब आफ्नो कार्यकाल एक वर्षमात्र बाँकी रहेको सार्वजनिक रूपमै बताइसकेकाले बीचको एक वर्ष माधव नेपाल र पछिल्लो दुई वर्ष कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने गठबन्धनमा मोटामोटी बुझाई छ । तर संविधानअनुसार चल्ने हो भने माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना छैन । राष्ट्रपति रामचन्द्र पौडेल गठबन्धनबाटै विजयी भएकाले उनले संविधानको धारा ७६ को उपधारा (५) अनुसार माधव नेपाललाई प्रधानमन्त्री नियुक्त गर्ने विश्वासमा माओवादी र एकीकृत समाजवादीका नेताहरू रहेको देखिन्छ ।
तर माधव नेपाल प्रधानमन्त्री बनिहाले र उनले सहमतिअनुसार एक वर्षपछि प्रधानमन्त्रीबाट राजीनामा दिएमा राष्ट्रपतिले कसरी पछाडि फर्केर संविधानको धारा ७६ को उपधारा (३) अनुसार कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्लान् भन्ने वरिष्ठ कानुन व्यवसायीहरूको तर्क छ । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा पर्ने र त्यसले गठबन्धनको भविष्यमै संकट आइपर्ने बताइन्छ । त्यसैले बरु प्रचण्ड र देउवाबीच आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने र यही गठबन्धनलाई अर्को चुनावसम्म लैजानुपर्नेमा गठबन्धनभित्रै बहस चलेको छ ।




