काठमाडौं । स्थानीय तहको निर्वाचन भएको २१ महिना हुँदैछ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसैले अब चानचुन तीन वर्ष स्थानीय तहका जनप्रतिनिधिले सरकार चलाउन पाउनेछन् । काठमाडौंका मेयर बालेन्द्र साह बालेनमा चुनावताका जे जस्तो मनस्थिति देखिएको थियो, त्यो अहिलेसम्म पनि कायमै रहेको सोमबार आयोजित एक कार्यक्रममा उनले देखाएको व्यवहारले पुष्टि गरेको छ ।
स्थानीय तहको निर्वाचनका बेला एमाले अध्यक्ष केपी ओलीसँग बालेन जस्तो रूपमा प्रस्तुत भएका थिए, सोमबार उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति पनि त्यस्तै स्वरूपमा देखिए । त्यसबेला बालेनले ओलीलाई आफूले मेयर शतप्रतिशत जित्ने, साइत हेराएर मतदान गरेको, काठमाडौंको विकास अरुबाट होइन आफैंले गर्ने भनेर जवाफ दिएका थिए । ओलीले दिएको सल्लाह र सुझावलाई बालेनले एक कानले सुनाएर अर्को कानले उडाएका थिए । सार्वजनिक कार्यक्रममा त्यति धेरै देखा नपर्ने र सहभागी भए पनि आफू बोलेर अर्काको कुरै नसुनी हिँड्ने उनको व्यवहारप्रति प्रधानमन्त्री प्रचण्डसमेत आक्रोशित भएका छन् ।
ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिँड्नेसँग पनि अलेली इरिटेसन हुन्छ,’ प्रचण्डले भने, ‘आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’ आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यसबारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए ।
‘उहाँले भन्नुभो, यहाँबाट निक्लनेबित्तिकै हुन्छ । म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो बाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ?,’
बालेनप्रति निकै आक्रोशित देखिएका प्रचण्डले प्रश्न गरे, ‘के अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ ?’ प्रधानमन्त्री प्रचण्डले ‘काम गर्न बलचाहिँ गरिरहेको भन्न केले रोक्यो ?’ भन्दै प्रश्न पनि गरे । ‘तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ ? तपाईं काठमाडौं पालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुरलाई समन्वय गर्ने तपाईंको बढी जिम्मेवारी छ । मैले तपाईंलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाइज गर्न केले रोक्यो ?
’
तीन दिनअघि मात्र काठमाडौं महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए । त्यसबेला आफैंले बोलाएको प्रमुख अतिथि भएकाले बालेन पूरै समय बसे । प्रधानमन्त्रीको भाषण सुने । तर सोमबार ललितपुर महानगरको वार्षिकोत्सव थियो । बालेन अतिथि थिए । प्रचण्ड प्रमुख अतिथि थिए । सामान्यतः प्रमुख अतिथि त्यसमा पनि प्रधानमन्त्री नै उपस्थित भएको कार्यक्रममा बालेन अन्तिम समयसम्म र आफूले राखेका प्रश्नको जवाफ सुनेर मात्र हिँड्नुपथ्र्यो । तर बालेनमा त्यो धैर्यता देखिएन ।
बालेनको व्यवहार देखेर आक्रोशित भएका प्रचण्डको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कसैले बालेनले प्रधानमन्त्रीको अपमान गरेको भनेका छन् । कसैले प्रधानमन्त्रीलाई जस्तो सामान्य कार्यक्रममा प्रमुख अतिथि बनेर जाने प्रवृत्ति बालेनमा नभएको र उनीसँग प्रचण्डको जस्तो फुर्सद नभएको भनेर आलोचना गरिएको छ । तर केही हदसम्म बालेनको यसमा कमजोरी भने देखिएको छ । बालेन आफूलाई अरुभन्दा भिन्न देखाउन खोज्छन् । अरु जस्तै देखिएमा कसरी भिन्नता देखिन्छ त भन्ने सोच बालेनमा देखिन्छ । यदि बालेनले अर्को चुनावका बेला पार्टी खोलेर गएमा उनले पनि अहिले प्रचण्डले भने जस्तै सबैको कुरा सुन्नुपर्ने अवस्था आउन सक्छ ।




