राजनीति

गोकर्ण फोरेस्ट रिसोर्टमा बगेको प्रचण्डको जनवाद

काठमाडौं । यतिबेला दुई कम्युनिस्ट नेता पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई चर्चामा छन् । बाबुराम सकारात्मक चर्चामा छन् भने प्रचण्ड नकारात्मक । नेपालमा अब कम्युनिस्टले कुनै नयाँ कार्यदिशा दिन सक्दैनन् भन्ने अभिव्यक्तिले बाबुराम चर्चामा आएका हुन् । उनले किटानीका साथ यस्तो दाबा गरेका छन् । जुन किसिमका नेपाली कम्युनिस्टका व्यवहार र कार्यशैली देखिएको छ, त्यसले निकट भविष्यमै नेपालबाट कम्युनिस्ट उन्मूलन हुने उनको भनाइ छ ।

नेपालका कम्युनिस्ट नेताहरूको कुनै व्यवसाय वा पारदर्शी आयस्रोत देखिँदैन । उनीहरू आफूलाई ‘पूर्णकालीन राजनीतिकर्मी’ मान्ने गर्दछन् । उनीहरूको आयस्रोत पारदर्शी छैन । राज्यले दिने सीमित तलबभत्ताबाटै तामझाम र तडकभडकपूर्ण जीवन बाँच्न कसरी सम्भव हुन्छ ? हालै सम्पन्न कम्युनिस्ट नेताकी नातिनीको बिहेले यस्तो बहस सिर्जना गरेको छ ।

प्रचण्ड नातिनी (रेनु दाहालकी छोरी) प्रतिभा पाठकको तामझाम विवाहका कारण नकारात्मक चर्चामा छन् । रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन् । अघिल्लोपटक उनलाई जसरी पनि जिताउन गरिएका कार्यले चितवनका जनतामा व्यापक वितृष्णा उत्पन्न भएको थियो । त्यसैले पनि चितवनको जनमत पुराना दल र नेताप्रति पूरै भाँडिएको छ । चितवन प्रचण्डको गृहजिल्ला हो, जहाँ चुनाव लड्ने आँट नभएर उनी गोरखा–२ पुगे ।
गृहजिल्लाको मनोविज्ञानलाई समेट्दै लानुको साटो यसपटक प्रचण्डले जसरी नातिनीको भड्किलो विवाह गरे, यसले उनलाई थप राजनीतिक घाटा हुन सक्छ ।

प्रचण्डले नातिनीको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा मात्र होइन, चन्द्रमामा समेत गर्न पाउँछन् । वैयक्तिक अधिकार उनलाई छ । हुन त छोरीकी छोरीको बिहे भएकोमा प्रचण्डलाई मुछ्नु हुन्न भन्ने पनि छन् । रेनु दाहाल र अर्जुन पाठक आफैं सम्पन्न माओवादी नेता हुन् । तर विगतमा जनवादी बिहे गरेका कम्युनिस्ट नेताका छोराछोरीको बिहेमा पाँच सयभन्दा बढी निम्तालु आउनु, राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरूको ताँती लाग्नुले यसमा प्रचण्ड नै मुछिने गर्छन् ।

गोकर्ण फोरेस्ट रिसोर्टमा प्रतिअतिथि एक दिनको खर्च २५ हजारभन्दा बढी आउँछ । लामो समय सशस्त्र आन्दोलनमा लागेको, कुनै पेसा व्यवसाय तथा पारदर्शी आय नभएको प्रचण्ड परिवारले यतिको महँगो विवाह गर्ने रकम कसरी जुटायो होला भनेर प्रश्न पनि भइरहेको छ । बिहेका जन्ती र निम्तालु गरेर सयौंको संख्यामा थिए । त्यसबाट सामाजिक सुधार तथा संहिता ऐनको उल्लंघन भएको समेत गुनासो छ । कानूनको पालना र सामाजिक सुधार गर्नु, गराउनु पर्नेहरूबाटै यस्तो व्यवहार हुनु निकै उदेकलाग्दो भएको भन्दै प्रचण्डको आलोचना गर्ने बढिरहेका छन् ।

माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नै अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई व्यंग्य गर्दै लेखेका छन्– ‘लुम्बिनी विकास कोषको नियुक्ति (ल्यार्केल लामा) बाट सुरू भएको पार्टी रूपान्तरण प्रक्रिया गोकर्ण रिसोर्टमा पुगेर समापन भएको छ ।’ माओवादीमा अहिले ‘पार्टी रूपान्तरण अभियान’ चलिरहेको छ । तर प्रचण्डको व्यवहारले माओवादीको जनवाद गोकर्ण रिसोर्टमा बगेको टिप्पणी भइरहेको छ ।

माओवादी नेता कार्यकर्ताका अनुसार प्रचण्डले आफ्ना छोरीज्वाइँ सबैलाई आफैंसँग राखेका छन् । राजनीति, व्यापार, व्यवसाय अन्यत्र गरे पनि बसोबास भने प्रचण्डकहाँ नै हुने गरेको छ । यसले गर्दा पनि अहिले प्रचण्डले नातिनीको बिहेले धेरै नकारात्मक चर्चा बटुलेका हुन् । प्रचण्डले प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक तोला सुन, चितवनमा चार कट्ठा जग्गा रहेको देखाएका थिए । तर छानबिन गर्ने हो भने प्रचण्ड नेपालकै अर्बपतिमा गनिने बताइन्छ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा सञ्चालनमा रहेका फ्रेन्चाइज रेस्टुरेन्टमा प्रचण्डकै अघोषित लगानी रहेको स्रोतले बतायो । होटल रेस्टुरेन्टबाट दैनिक कमाई प्रशस्त हुने भएकाले पनि उनले त्यसमा आफ्नो भएभरको लगानी गरेको माओवादी नेता कार्यकर्ताको अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *