राजनीति

एमालेको संकल्प यात्रामा गोकुल बास्कोटा र महेश बस्नेत गायब

काठमाडौं । यतिबेला एमालेको मध्यपहाडी संकल्प यात्रा तेह्रथुम पुगेको छ । पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर संकल्प यात्रा समापन हुनेछ । बैतडीको झुलाघाटकबाट सुरु भएको पदयात्राले चिवाभञ्ज्याङसम्म १८७० किलोमिटर तय गर्ने छ । यसलाई नेपालको सबैभन्दा ठूलो ‘लङ मार्च’ पनि भनिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा पार्टीको पूरै संगठन पदयात्रामा छ । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याललगायत प्रायः सबै पदाधिकारी पदयात्रामा छन् ।

पार्टीका केन्द्रीय सदस्यदेखि सबै भ्रातृसंगठनका अध्यक्ष, जिल्ला जिल्लाका ठूला नेता सबै गाडी लिएर संकल्प यात्रामा हिँडेका छन् । तर शुक्रबार १६ दिन पुगिसक्दा पनि एमालेका दुई चर्चित नेता संकल्प यात्रामा कतै देखिएका छैनन् । संकल्प यात्रा काभ्रेको मण्डन देउपुर र धुलिखेल पुग्दा गोकुल झुलुक्क देखिएका थिए । आफ्नै गृहजिल्ला भएकाले पनि गोकुल केही घन्टाका लागि यात्रामा देखिएका हुन् । तर त्यसअघि र पछि उनको अनुहार एमाले नेता कार्यकर्ताले देखेका छैनन् ।

गोकुल र महेशको नाम जाजरकोटको भूकम्पपीडित क्षेत्रमा पार्टीले सञ्चालन गरेको राहत तथा पुनर्निर्माण कार्यक्रम र संगठन सुदृढीकरणका लागि झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मको लङ्मार्चमा नदेखिएपछि यसबारे व्यापक सोधीखोजी भएको छ । पार्टीले खर्च नदिने भएपछि निम्न आय भएका सर्वहारा एमालेहरू फिल्डमा जान सक्ने अवस्था छैन । सहयोग गर्न इच्छा हुँदा चन्दा उठाएर जानुपर्ने वा ओलीको पछिपछि लाग्दै वा ताँती लगाउँदै जानुपर्ने अवस्था रहेकाले पनि गोकुल र महेशले संकल्प यात्रालाई महत्व नदिएको बुझिएको छ ।

पछिल्लो समय गोकुल र महेश पार्टी अध्यक्ष ओलीसँग सन्तुष्ट छैनन् । ओलीले पनि त्यति महत्व नदिएको बताइन्छ । खासगरी ७० करोड बार्गेनिङ गरेको आरोपमा सञ्चारमन्त्रीबाट आफू हट्नुमा ओली जिम्मेवार भएको गोकुलको दुखेसो छ । महेशसँग पनि ओली सन्तुष्ट छैनन् ।

एक वर्षअघिको निर्वाचनमा भक्तपुर २ बाट पराजित भएपछि महेशलाई ओलीले वास्ता गर्न छाडेका हुन् । ओली बस्दै आएको भक्तपुरको बालकोट महेशको निर्वाचन क्षेत्रमा पर्छ । आफू प्रधानमन्त्री हुँदा ओलीले बस्नेतमार्फत सो निर्वाचन क्षेत्रमा अर्बौंको बजेट पारेका थिए । बस्नेतले जति विकास गरें भने धाक लगाउने गरेका छन्, त्यसको पछाडि ओलीकै हात रहेको मानिन्छ । यति गर्दा पनि चुनाव जित्न नसकेपछि महेश ओलीको किचेन क्याबिनेटबाट आउट हुन पुगेको एमाले नेता कार्यकर्ता बताउँछन् ।

त्यसमाथि पनि गोकुल र महेशको प्वांख काट्ने काम उपमहासचिव विष्णु रिमालले गर्दै आएको बताइन्छ । अहिले सिंगो एमाले विष्णु रिमालको कम्प्युटरमा छ । रिमालले जे चाह्यो ओलीबाट निर्णय गराउन सक्छन् । गोकुल र महेश अघि बढेमा आफ्नो हैसियत खुम्चिने डरले पनि रिमालले दुवैलाई अगाडि बढ्न नदिएको र संकल्प यात्रामा उनीहरूको नाम नभेटिएको एक एमाले नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *