काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगरका मुख्य तीन समस्या समाधानको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अपिल गरेका छन् ।
२९ औं महानगर दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा बालेनले प्रधानमन्त्रीलाई महानगरका मुख्य तीन समस्या सुनाउँदै समाधानको पहल गरिदिन अपिल गरेका हुन् । उनले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताए ।
‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन,’ बालेनले भने, ‘विशेष गरी तीनवटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस् ।’ बालेनले अब आफ्नो कार्यकाल साढे तीन वर्ष बाँकी रहेको भन्दै सोही अवधिमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी रहेको बताए ।




