काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा २ बाट पराजित भए । उनलाई तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले फराकिलो मतान्तरले पराजित गराएका थिए । भट्टराईले श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गराएका थिए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि श्रेष्ठको सत्ता यात्रा भने रोकिएन ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनपछि उनलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइयो । तत्कालीन नेकपा गठनपछि प्रवक्ता बनेका उनी आमनिर्वाचन हारेको दुई वर्षपछि राष्ट्रियसभा उम्मेदवार बन्दै संसद् छिरे । श्रेष्ठ अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीमा छन् ।
श्रेष्ठ मात्रै होइन, उनीजस्ता थुप्रै यसैगरी ‘चोर बाटो’ प्रयोग गरी संसद् छिरेका छन् । २०७६ मा श्रेष्ठसँगै वामदेव गौतम, जगतप्रसाद शर्मा, भगवती न्यौपाने, विमला घिमिरे, सिंगबहादुर विश्वकर्मा पनि तत्कालीन नेकपाबाट राष्ट्रियसभामा छिरेका थिए । उल्लेखित सबै निर्वाचनमा हारेका थिए । कतिपय प्रतिनिधिसभा निर्वाचनमा हारेका थिए भने कतिपय स्थानीय तहको निर्वाचनमा ।
तत्कालीन समय जुन खालको अभ्यास राष्ट्रियसभा सदस्य बनाउन गरियो, अहिले पनि त्यस्तै अभ्यास दोहो¥याउन खोजिँदैछ । निर्वाचनमा टिकट नपाएका वा हारेकालाई राष्ट्रियसभाको ‘चोर बाटो’ बाट सत्तामा समेट्ने प्रयास भएको छ । कतिलाई भने समानुपातिक बन्दसूचीमा रहेको नाम फिर्ता लिएर राष्ट्रियसभामा लैजाने प्रयास भएको छ । आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा निर्वाचनमा यसअघि जस्तै हरुवाहरूलाई उम्मेदवार बनाउने तयारी देखिएको छ ।
गत वर्ष भएको आमनिर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा–३ मा पराजित भएका थिए । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । कांग्रेसको समानुपातिक सूचीमार रहेका गोपालमान श्रेष्ठ सांसद चयन हुन सकेका थिएनन् । कांग्रेसका अर्का नेता आनन्दप्रसाद ढुंगाना पनि समानुपातिक सूचीमा रहे पनि सांसद बन्न सकेका थिएनन् । उनलाई राष्ट्रियसभाको मधेस प्रदेशबाट उम्मेदवार बनाउने चर्चा छ । यस्तै, माओवादीको सिन्धुली जिल्ला कमिटीले नाम अस्वीकार गरेपछि उम्मेदवार बन्नबाट वञ्चित हरिबोल गजुरेलको नाम पनि राष्ट्रियसभामा चर्चामा छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बुधबार अनुपम फुडल्यान्डमा भएको भेलामा हरुवा वा पटकपटक अवसर पाएकालाई राष्ट्रियसभामा लैजानु नहुने आवाज उठेको छ । कांग्रेस नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताए । सिटौला र श्रेष्ठप्रति लक्षित गर्दै घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताएका हुन् । सोही भेलामा कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभामा पुरानालाई नभई नयाँलाई अवसर दिनुपर्ने भनाइ राखेका थिए । यसले नेतृत्वलाई एकप्रकारको दबाब पर्ने देखिएको छ ।
कांग्रेस मात्र होइन, माओवादी, एकीकृत समाजवादीले पनि हारेका र समानुपातिक सूचीमा भएका ठूला नेतालाई राष्ट्रियसभामा लैजाने प्रयास गरेका छन् । अहिलेसम्म एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । तर विगतमा एमालेको इतिहास त झनै बदनाम छ । उसले नै विकृत अभ्यास गरेको हो । वामदेव, नारायणकाजी प्रवृत्तिलाई राष्ट्रियसभामा लैजाने अहिलेकै एमाले नेतृत्व हो ।




