राजनीति

पूर्वराजादेखि राजेन्द्रसम्म कसैले नपत्याएका कमल थापा

काठमाडौं । १८ वर्षअघिसम्म कमल थापाको चर्चा निकै थियो । प्रजातन्त्रकालमा नेपाली कांग्रेस र एमालेले राप्रपालाई पालैपालो काँधमा बोक्ने गर्दा थापाहरू मालामाल बनेका थिए । कहिले कांग्रेसको पहलमा त कहिले एमालेको पहलमा बन्ने सरकारमा राप्रपाका मन्त्रीहरूको जगजगी थियो । त्यसबेला रंग बदल्न माहिर मानिन्थे कमल थापा । कहिले सूर्यबहादुर थापा त कहिले लोकेन्द्रबहादुर चन्दतिर लागेर थापाले मन्त्री पद प्राप्त गरेका थिए ।

त्यति मात्र होइन, २०६२ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही शासन लागू गरेपछि त कमल थापाको भाग्य नै बलेको थियो । उनी शक्तिशाली गृहमन्त्री बनेका थिए । तेस्रो जनआन्दोलनका बेला थापा आफूलाई यो देशकै एक मात्र शक्तिशाली नेता दाबी गर्थे । तर आन्दोलनको बलमा देशमा गणतन्त्र स्थापना भएपछि थापाको दिन गयो ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाले समानपातिकमा चार सिट जित्यो । कमल थापाले चुनाव हारे । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राप्रपाको भाग्य उदायो । समानुपातिकमा राप्रपाले २५ सिट जित्यो । थापा आफैं संविधानसभा सदस्य बने । अनि फेरि प्रजातन्त्रकालमा जस्तै पटक पटक मन्त्री बने ।

२०७४ सम्म कमल थापा एमाले अध्यक्ष केपी ओलीलाई रिझाएकै भरमा मन्त्री बने । दुईपटकसम्म परराष्ट्रमन्त्री बने । तर, आमनिर्वाचनमा भने पराजित भए । जब राप्रपाको महाधिवेशनबाट उनी अध्यक्षमा पराजित भए त्यसपछि उनले पार्टी नै छाडे । र, पछि राप्रपा नेपाल गठन गरे । गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्य लिएर मकवानपुरमा उठे । २५ हजार मत ल्याए पनि जित्न असफल भए । बरु उनलाई राप्रपाका दिपक सिंहले पछि पारे । त्यसयता कमल थापा मूलधारको राजनीतिबाट बाहिर छन् ।

त्यसअघि राप्रपा परित्याग गर्दा उनले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले षड्यन्त्र गरेर चुनाव हराएको आरोप लगाए । त्यति मात्र होइन, अब आफूले कहिल्यै पनि राजसंस्था नबोक्ने उदघोष नै गरे । तर आफ्नो घोषणामा उनी डेढ वर्ष पनि टिक्न सकेनन् । अहिले फेरि उनी हिन्दु राष्ट्रसहित संवैधानिक राजतन्त्र चाहियो भन्दै हिँडेका छन् । कतिसम्म भने त्यसका लागि उनको पार्टी राप्रपा नेपालले आन्दोलन नै गर्ने रे ।

अहिले उनै थापाले संघीय गणतन्त्रको नामा कायम रहेको वर्तमान व्यवस्था असफल भइसकेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाए । ‘असफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा बृहत राष्ट्रिय मोर्चा निर्माण गरिनुपर्छ,’ थापाले भने ।

उनले अहिलेको व्यवस्था असफल भएकाले जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने बताए । ‘राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ,’ उनले भने । सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहने उनले बताए ।

राजतन्त्र त्यागेकोमा प्रायश्चित गर्दै पुनः पुरानै बाटोमा फर्किएका थापाले बृहत् राष्ट्रवादी मोर्चा घोषणा गर्ने भएका छन् । एमालेको सूर्य चिन्ह लिएर चुनाव उठेका उनले अब आफू गणतन्त्रवादी भएको सार्वजनिक घोषणा नै गरेका थिए । तर, चुनावमा राजावादीहरूले मनग्य भोट पाएपछि मन फेरेका उनी पछिल्लो समय गणतन्त्र उल्ट्याउने भन्दै देशव्यापी आन्दोलनमा लाग्ने भएका छन् ।

सडकमा धेरै मान्छे जम्मा गरेको देखेर उनले दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गरेका थिए । तर प्रसाईले नै उनलाई पत्याइदिएनन् । उनले राजसंस्था मागसहितको आन्दोलनमा सहभागी हुन धेरैपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत पत्र पठाएका छन् । उनीकहाँ सन्देश पठाएका छन् । तर लिङ्देनले समेत उनलाई वास्ता गरेका छैनन् । देशभर १० हजार जनमत नभएको देखेपछि पूर्वराजा शाहले समेत कमल थापालाई भाउ दिन छाडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *