राजनीति

मनांगेको नाममा मरिहत्ते गरेर कद घटाउँदै माधव नेपाल

काठमाडौं । छँदाखाँदाको एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालले भएका नेता पनि गुमाउँदै आएका छन् । एकीकृत समाजवादीका धेरै धेरै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य एमालेतिरै फर्केका छन् । पार्टी गठन गरेको दुई वर्ष भइसक्दा पनि उनले महाधिवेशन गर्न सकेका छैनन् । बरु माघमा तय महाधिवेशनको मिति सारेर जेठमा गर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डको यही कार्यकालमा आफ्ना पार्टीका सबै नेतालाई मन्त्री बनाउन चाहेका माधव नेपाल अहिले दीपक मनांगेलाई प्रदेश मन्त्री बनाउन लागिपरेका छन् । त्यसका लागि उनले कांग्रेस र माओवादीका शीर्ष नेतालाई दबाब दिइरहेका छन् । एकीकृत समाजवादीबाट गण्डकी प्रदेशमा एकजना पनि सांसद जितेका छैनन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेलाई पार्टीमा भित्र्याएर एकीकृत समाजवादीले एक सांसद जोडेको छ । अहिले तिनै मनांगेलाई मन्त्री बनाउन भन्दै माधव नेपालले रोइकराई गरिरहेका छन् ।

मनांगे अघिल्लो कार्यकालमा पनि घरी यता घरी उता गरेर पटकपटक मन्त्री बनेका थिए । उनकै कारण तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद गुमाएका थिए । तर यसपटक गण्डकीमा कांंग्रेसको सांसद संख्या धेरै छ । त्यही भएर कांग्रेसले जति दबाब दिए पनि मनांगेलाई मन्त्री बनाउने सम्भावना नभएको बताइन्छ । तर माधव नेपालको दीपक मनांगे मोह देखेर सबै आश्चर्यमा परेका छन् । उनले सार्वजनिक रूपमै अभिव्यक्ति दिएर आफ्नो अग्लो कद घटाउँदै गएको विश्लेषण हुन थालेको छ ।


पछिल्लो केही दिनयता माधव नेपाल पार्टीमा बढ्दो ध्रुवीकरणका कारण चिन्तित छन् । नेपालका निर्णय र कार्यशैलीमाथि झलनाथ खनालले कडा प्रतिवाद गर्दै दुई समूह बनाएपछि नेता कार्यकर्ता चिन्तित छन् । पार्टीमा कुनै नयाँ विचार दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । भएका सारथीहरुले पनि छाड्दै गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *