अर्थ

एनसेलको सेयर खरिद–बिक्री प्रकरणले ठूलै रूप लिने संकेत

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा.प्रकाशशरण महतको मत बाझिएको छ । प्रधानमन्त्रीले सेयर खरिबबिक्रीमा कानुनी प्रावधान पालना भए–नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नियामक निकायहरूलाई त्यसका लागि निर्देशन दिइसकेको र अध्ययनको निष्कर्षका आधारमा मात्रै निर्णय लिइने बताएका छन् । मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको सार्वजनिक गरिसकेको छ । शंकास्पद रूपमा सेयर बिक्री भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पनि नियामक निकायहरूसँग जवाफ मागेको छ ।

‘क्रेता र बिक्रेता कम्पनीको मात्रै कुरा मिलेर हुँदैन । हाम्रा कानुन छन्, दूरसञ्चार प्राधिकरणसहितका नियामक निकायहरूको पनि चासो छ,’ सोमबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भनेका थिए, ‘मैले आज मात्रै मुख्यसचिवलाई यस विषयमा विस्तृत अध्ययन गर्न भनेको छु । अध्ययनको निष्कर्षअनुसार गरिन्छ । कम्पनीले भन्दैमा हुँदैन ।’

तर अर्थमन्त्री महतले एनसेलको सेयर बिक्रीबारे हालसम्म सरकारलाई कुनै जानकारी नभएको दाबी गरेका छन्। चितवनमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दैै उनले एनसेलको सेयर किनबेचका विषयमा आफूलाई जानकारी नभएको बताएका हुन्। ‘हामी सूचना लिइरहेका छौं। यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण हो। यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,’ उनले भने। देशकै ठूलो दूरसञ्चार कम्पनीको सेयर बिक्रीबारे सरकारलाई आधिकारिक जानकारी नदिइएको उनले स्पष्ट गरे।

लेखा समितिले आइतबार नियामक निकायहरू दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागलाई पत्र लेख्दै नौवटा प्रश्नको जवाफ मागेकोमा अन्य समितिका सदस्यहरूले पनि छलफलको प्रस्ताव गरेका छन् । अब यो प्रकरणले ठूलै रूप लिने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *