देश

सेनापतिको लाइनमा रहेका अर्का उपरथीको पनि जन्ममिति छानबिन हुँदै, सेनामा धेरै किन हुन्छ यस्तो ?

काठमाडौं । एकपछि अर्को नेपाली सेनाका अधिकृत जन्ममिति विवादमा तानिएका छन् । केही कारबाहीमा परेका छन् भने केहीले कारबाहीको डरले पहिले नै राजीनामा दिएर घर हिँडेका छन् ।

पछिल्लो समय सेनापतिको लाइनमा रहेका दुई उपल्ला अधिकृत जन्ममिति विवादमा तानिएका छन् । रथीमा सिफारिस उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादकै कारण राजीनामा दिइसकेका छन् । हालै रथीमा सिफारिस अर्का उपरथी अशोक सिग्देल पनि जन्ममिति विवादमा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रथी पदमा बढुवाका लागि सिफारिस भएका सिग्देलको जन्ममिति विवादबारे छानविन गर्न निर्देशन दिएको छ । रथी बढुवाका लागि जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनका लागि निर्देशन दिएको हो ।

शुक्रबार जंगी अड्डाले उनलाई बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसलतत्तै उनको जन्ममिति विवादबारे छानविन गर्न अख्तियारले रक्षा मन्त्रालयलाई निर्देशन दिएको बुझिएको छ ।

सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्म मिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् ।२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।

२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको स्रोतको दाबी छ ।

भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल जन्ममिति विवादले समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछन्। हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *