काठमाडौं । बुधबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार र केन्द्रीय सचिवालय गठन ग¥यो । पार्टीमा दुई उपसभापति, तीन सहकोषाध्यक्ष, तीन सहप्रवक्ता बनाइयो । मिसन–८४ को नारा बोकेर हिँडेको रास्वपाले मधेस प्रदेशको महोत्तरीमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर यस्तो निर्णय गरेको हो ।
रास्वपाले केन्द्रीय समिति विस्तार र बहुलवाद लोकतान्त्रिक शासन व्यवस्था अपनाउने विचार सार्वजनिक गरेकै राति बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले मिसन–८४ ले देश नबन्ने बताए । उनले सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखे । राजनीतिक दलहरुले आगामी २०८४ मा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।
‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ ¥यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबुकमा लेखे । उनको स्टाटसले क्षणभरमै हजारौं लाइक पायो । बालेनको आक्रोशपूर्ण स्टाटस पुराना दल र नेताप्रति मात्र नभएर नयाँ दल र तिनका नेताप्रति पनि लक्षित रहेको धेरैको विश्लेषण छ ।
बालेनले स्वतन्त्र रूपमा काठमाडौंको मेयर जितेपछि नै रवि लामिछाने त्यसबाट प्रभावित भएर रास्वपा गठन गर्ने निर्णयमा पुगेका थिए । तर अहिले रास्वपाका हकमा पनि ‘मन परेको केटो जेठाजु’ भन्ने नेपाली उखान चरितार्थ हुन पुगेको छ । अर्थात् महाधिवेशन गर्नुपर्ने बेलामा रास्वपामा टीकेप्रथाबाट पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय गठन भएको छ ।
गत मंसिरको संघीय चुनावताका उम्मेदवार छनोट गर्न आन्तरिक चुनाव गरेको भनेर चर्चामा आएको रास्वपाले यसपटक केन्द्रीय समितिमा अन्य दलहरु जस्तै टीके प्रथा लागू गरेको छ । महाधिवेशन गर्ने चाइँचुइँ छैन । कम्तीमा अन्य दलले महाधिवेशन गरेरै नेतृत्व चयन गर्दै आएका छन् ।
तर रास्वपाले अर्को निर्वाचनअघिसम्म महाधिवेशन गर्ने छनक पछिल्लो केन्द्रीय समिति र संसदीय दलको बैठकले दिएको छैन । रास्वपाभन्दा अघि गठन भएको माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीले आगामी माघमा महाधिवेशन गर्दैछ । सिके राउत नेतृत्वको जनमत पार्टीले समेत छिट्टै महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसका लागि उसले तल्ला कमिटीको अधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।
रवि लामिछानेका दाजु हरिशरण लामिछानेसमेत अहिले रास्वपाको निर्णयप्रति आगो भएका छन् । उनले केही दिनयता लगातार सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेखिरहेका छन् । मिसन ८४ जनतालाई बेवकुफ बनाउने आइडिया भन्दै उनले आक्रोश पोखेका छन् । धेरैले हरिशरणको यो आक्रोश केन्द्रीय सदस्य नबनाएकोमा भाइ रवि लक्षित भएको बताएका छन् । रविले पार्टी गठन गर्ने बेलामै एकाघरका कसैलाई पनि पार्टीको केन्द्रीय समितिमा स्थान नदिने घोषणा गरेका थिए । हरिशरण रेडियो नेपालका कर्मचारी हुन् । उनको अझै ६ महिना कार्यकाल बाँकी छ । हरिशरणले रास्वपाको केन्द्रीय सदस्यको अपेक्षा गरेको बुझिएको छ । तर आगामी असारसम्म उनलाई पार्टी राजनीतिमा ठाउँ नदिने मनस्थितिमा रवि रहेको बुझिएको छ ।




