राजनीति

बाबुरामसँग नजिकिँदा उपेन्द्र भड्किने प्रचण्डलाई डर

काठमाडौं । केही दिनयता माओवादी र नेपाल समाजवादी पार्टीबीच एकताको प्रयास चलिरहेको छ । नेसपाका अर्का अध्यक्ष महीन्द्र राय यादव र गंगा श्रेष्ठलाई भविष्यको राजनीति देखाएर माओवादीले हतारहतार पार्टी एकता गर्न चाहेको थियो । जसकारण यादव र श्रेष्ठले अध्यक्ष बाबुराम भट्टराईलाई दबाब दिएका थिए । यदि चाँडो एकता नगरे विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए । तर हालै बाबुरामले निजी निवास टोखामा यादव र श्रेष्ठलाई डिनर दिएका थिए । जसमा बाबुरामले हतारमा पार्टी एकता नगरौं भनेपछि दुवै अहिले नरम देखिएका छन् ।

बाबुरामसँगको पार्टी एकतामा हतार र बाबुरामलाई बाइपास गरेर प्रचण्डले यादव र श्रेष्ठलाई च्याप्नुमा जसपा अध्यक्ष उपेन्द्र यादव फ्याक्टर प्रमुख कारक मानिन्छ । उपेन्द्रको पार्टी त्यागेर बाबुरामले नेसपा गठन गरेपछि दुवैबीच सम्बन्धमा तिक्तता आएको छ । उपेन्द्र अहिले प्रचण्ड नेतृत्वको सरकारमा छन् । नेसपासँग माओवादीले एकता गरेरमा बाबुराम प्रचण्डसँग मिल्ने उपेन्द्रलाई डर छ । सोही कारण पछिल्लो समय उपेन्द्र प्रचण्डबाट टाढिँदै गएको मात्र होइन, एमालेसँग मिलेर अर्को गठबन्धन बनाउन लागिपरेका छन् ।

जसमा रवि लामिछानेको रास्वपा पनि सामेल हुने बताइन्छ । यो कुराको सुइँको पाएपछि प्रचण्ड र रविबीच हालै बालुवाटारमा भेट भएको थियो । रविले पनि कांग्रेसलाई छाडेर एमालेसँग अर्को गठबन्धन बनाउन प्रचण्डलाई प्रस्ताव गरेका थिए । तर प्रचण्डले तत्काल स्वीकार गरेनन् । प्रचण्ड अबको एक वर्षसम्म कांग्रेससँगै गठबन्धन बनाएर जाने मनस्थितिमा छन् । कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बेला उनले एमाले र रास्वपालाई मिलाएर नयाँ गठबन्धन बनाउने अनुमान गरिएको छ ।

उपेन्द्र यादवलाई आफूले राजनीतिक रुपमा ठूलो गुण लगाए पनि उनले भने आफ्नै विकल्प खोज्नेगरी एमाले नेतृत्वसँग उठबस गरेको प्रचण्डको बुझाई छ । उपेन्द्रकै कारण आफूले बाबुरामसँग हुन लागेको एकता प्रक्रियालाई पनि लत्याएर समाजवादी मोर्चामा सहभागी नगराएको उनको भनाइ छ । समाजवादी मोर्चा घोषणा हुँदै गर्दा यसका सूत्राधार बाबुराम नै समेटिएका थिएनन् । गत मंसिरको निर्वाचनमा प्रचण्डलाई गोरखा–२ को चुनावी मैदान खाली गरी दिएर बाबुराम समाजवादी मोर्चा गठन गर्नेगरी गृहकार्यमा जुटेका थिए ।

तर, समाजवादी मोर्चा घोषणा हुँदा बाबुरामले नेतृत्व गरेको नेसपा भने छुट्यो । प्रचण्डले आफ्नो सत्ता जोगाउन उपेन्द्रको प्रभावमा परेर मोर्चाबाट बाबुरामलाई अलग गरेको आरोप छ । उनले बाबुरामलाई पनि मोर्चामा समावेश गर्ने हो भने आफ्नो दल सरकारबाटै बाहिरिने चेतावनी दिइसकेका छन् ।
मोर्चा घोषणा गर्दा आफूहरुलाई अलग राखिएको भन्दै बाबुराम प्रचण्डसँग फायर भएका थिए ।

उनीहरुबीच करिब करिब पानी बाराबारको अवस्था सिर्जना भएको थियो । चुनावअघि नै पार्टी एकताको तयारी थालेका माओवादी र नेसपाबीच एकता नै टरेको उनै बाबुरामले घोषणा गरेका थिए । तर, पछिल्लो समय दुई दलबीच एकता हुनेगरी वार्ता तथा छलफल भए । बाबुराम र प्रचण्डले नै पार्टी एकता गर्नेगरी निर्णायक छलफल गरेका थिए । त्यसपछि बाबुरामले केन्द्रीय कमिटीको बैठक राखेर माओवादीसँग एकताबारे महत्वपूर्ण निर्णय लिएका छन् । उनकै नेतृत्वमा एकता संयोजन समिति गठन भएको छ ।

उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफल गरेको र आफू नेतृत्वको सरकारको विकल्प खोज्ने कार्य गरेको प्रचण्डको बुझाई छ । खासगरी कोशीमा कांग्रेसका शेखर कोइराला समूहले विद्रोह गरेर सरकार बनाउँदा यता केन्द्रमा पनि सरकार ढाल्न सकिन्छ भनेर ओली निवास बालकोटमा उपेन्द्रसहितका नेताहरु छलफल जुटेको बालुवाटारको बुझाई छ । सोही कारण प्रचण्डले छिट्टै जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी गरेको बुझिएको छ । जसपाबाट अशोक राई शिक्षा र वीरेन्द्र महतो वन तथा वातावरणमन्त्री छन् । प्रमिला कुमारी शिक्षा राज्यमन्त्रीको भूमिकामा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *