काठमाडौं । केही समययता नेपालमा राजावादीहरू राजतन्त्र फर्काउन सक्रिय भएर लागेका छन् । कतिसम्म भने नेपालमा राजतन्त्र ल्याउन पूर्वराजावादीहरू संयुक्त मोर्चा बनाउने गृहकार्यमा पनि जुटिरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी नेताहरूको कमजोरीलाई अस्त्र बनाएर उनीहरू व्यवस्था नै परिवर्तन गर्ने असफल प्रयत्नमा लागेका बेला ठूला दलका शीर्ष नेताहरू गणतन्त्रप्रति एकढिक्का भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने घोषणा गरिसकेका छन् । यसले अब राजावादीको मनोबलमा धक्का लाग्ने देखिएको छ ।
कांग्रेस सभापति देउवाले अब कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उदघोष गरेका छन् । सोमबार कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै हालतमा राजतन्त्र नफर्कने बताएका हुन् । ‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधानसभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन । पत्रकारले शेरबहादुर बोलेन भन्छन् मैले भन्नै पर्छ, संविधानसभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ,’ उनले भने ।
एमालेका अध्यक्ष ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनको टिप्पणी छ । हालै युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।
‘केही तत्वहरू हेर्दा हेर्दा हेर्दा हेर्दा वाक्कदिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै फ्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिक रूपमा, वैचारिक रूपमा, सैद्धान्तिक रूपमा कुनै हिसाबले पनि राजतन्त्र । एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने । चेत नै नभएका मूर्खहरूले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा लाटो जन्मिन्छ कि गँजडी, ड्रगिस्ट, लफंगा भएर जन्मिन्छ कि जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी,’ उनको भनाइ थियो । उनले अहिले मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेकोमा उनी रोष प्रकट गरे ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले इतिहास जहिले पनि अग्रगमनतर्फ अगाडि बढ्ने र पछाडि नफर्कने बताएका छन् । सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने, भ्रम छर्ने गतिविधि भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि योगदान दिएका राजनीतिक दल, दलका नेता, नागरिक रहेसम्म इतिहास पछाडि नफर्किने उनको दाबी छ ।
‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियामा कहीँ कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएका छन् । इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोसिसहरू देखिएकै छ । तर, तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ । पछाडि फर्किँदैन । हामी जबसम्म यो परिवर्तनका वाहक राजनीतिक दल, नेताहरू, बुद्धिजीवी, नागरिकहरू तपाईँ हामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरू रहन्छौं, इतिहास पछाडि फकिँदैन । अगाडिनै बढ्छ,’ उनले भने । तीन पार्टीका शीर्ष नेताको प्रतिबद्धताले राजावादीको उत्साहमा पानी फेरिदिएको छ ।




