काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाजरकोट पुगेका छन् । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्न सोमबार उनी जाजरकोट गएका हुन् ।
उनको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेता अमर थापालगायत जिल्लाका नेता कार्यकर्ता छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले खलंगास्थित भेरी नगरपालिका–३ पुगेर भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरे ।
नेता नेपालको अवलोकनका अवसर पारेर एकीकृत समाजवादी निकट भ्रातृसंगठनले सो क्षेत्रमा अस्थायी घरटहरा बनाउन सुरु गरेको छ । नेता नेपालले खलंगास्थित अस्पताल पुगी बिरामीहरूसँग हालको अवस्था, समस्या र सामाधानको विषयमा छलफल गरेका छन् । सो क्रममा मन्त्री ज्वालाले अब बन्ने आवास पूर्णरुपमा भूकम्प प्रतिरोधि हुनुपर्ने बताए ।
भूकम्प गएको तीन सातापछि नेपाल त्यस क्षेत्रमा पुगेका हुन् । सरकारले अहिलेसम्म भूकम्प प्रभावितको पुनःस्थापना गर्न सकेको छैन । जसकारण जाजरकोट र रुकुम पश्चिममा हालसम्म चिसोले १४ जनाको मृत्यु भइसकेको छ ।




