काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईले राजतन्त्र फर्काउने अभियान भन्दै मंसिर ७ गते काठमाडौंमा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तनावमा थिए । लामो समयसम्म विदेश भ्रमणमा रहेका लिङ्देन स्वदेश फर्किएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न निर्मल निवास पुगे । भेटमा प्रसाईको काठमाडौं केन्द्रित आन्दोलनलाई छायाँमा पार्ने गरी झापामा पूर्वराजाको भ्रमण राखियो । पूर्वराजा पनि सहमत भए । यसै पनि लिङ्देनसँग अहिले निर्मल निवासले धेरै आशा र अपेक्षा राखेको छ ।
मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाईले १० हजारभन्दा बढी मानिस भेला गरेपछि राजतन्त्रको समर्थनमा नारा लगाएपछि पूर्वराजा शाह खुसी देखिए । त्यसको भोलिपल्टै उनी झापा हिँडे । एउटा निजी कलेजले बनाएको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजाको कार्यक्रम झापामा राखियो ।
राप्रपा अध्यक्ष लिङ्देन दुई साताभन्दा बढी समयदेखि झापामै बसे । उनले सालिक अनावरणको दिन पूर्वराजाको समर्थनमा हजारौं मानिस भेला पार्न सके त्यसले एक किसिमको माहोल सिर्जना गर्ने आशा राखेका थिए । काठमाडौंमा दुर्गा प्रसाईको आन्दोलनमा आफ्ना मान्छे छिराएर राजतन्त्रको नारा घन्काउन सफल लिङ्देन झापामा मान्छेको भीड जुटाउन पनि सफल भए ।
पूर्वराजा शाह बसेको होटलदेखि सालिक अनावरण कार्यक्रमसम्म लिङ्देन सँगै हिँडे । पूर्वराजा अघिअघि लिङ्देन पछिपछि देखिए । सालिक अनावरण कार्यक्रममा पूर्वराजाले सम्बोधन गरेनन् । जबकि काठमाडौंमा पूर्वराजा शाहले कडा खालको स्टेटमेन्ट जारी हुँदैछ भन्ने हल्ला चलेको थियो । तर त्यस्तो केही भएन । पूर्वराजा शाहलाई दुई घन्टासम्म सडकमा हिँडाएर लिङ्देनले एमाले अध्यक्ष केपी ओलीलाई दह्रो चुनौती दिएका छन् ।
गत मंसिरको निर्वाचनमा एमालेको साथ र सहयोगमा लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । उनले यसपटक पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । यसपटक सिटौलाले चुनाव जित्ने अनुमान गरिएको थियो । किनकि ओली र लिङ्देनबीच खासै राम्रो सम्बन्ध नभएको प्रचार गरिएको थियो । तर ओलीले लिङ्देनलाई चुनाव जिताउन पार्टी कार्यकर्ता र समर्थकलाई निर्देशन दिए ।
सोही कारण करिब तीन हजार मतान्तरले लिङ्देनले सिटौलालाई पराजित गरे । यदि एमालेको सात हजारभन्दा बढी मत लिङ्देनले नपाएको भए सिटौलाले चुनाव जित्ने थिए । तर ओलीकै कारण चुनाव जितेका लिङ्देन अहिले पूर्वराजा शाहलाई झापामा अघिपछि लगाएर हिँडेका छन् ।
ओलीले लिङ्देनको विषयमा अहिलेसम्म केही टिप्पणी गरेका छैनन् । उनले केही राजावादी समर्थक उफ्रिँदैमा राजतन्त्र नफर्किने सामान्य टिप्पणी गरेका छन् । ओलीले चाँडै झापा पुगेर लिङ्देन र पूर्वराजा शाहबीचको सहकार्यबारे बोल्ने धेरैले अनुमान गरेका छन् । यसै पनि ओली प्रतिक्रियात्मकवादी नेता हुन् । उनले आफूलाई मन लागेको कुरा मौका पाउना साथ भनिहाल्छन् । तर अहिले राप्रपा अध्यक्ष लिङ्देन कस्सिएर राजा फर्काउने अभियानमा लागेकाले अबको ओलीको रणनीति कस्तो हुन्छ भन्ने चासो सर्वत्र देखिएको छ ।




