देश

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । आइतबारदेखि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै छ। त्यसका लागि सडक पुनः रंगरोगन गरिएको छ।

संविधान दिवसको अवसर पारेर असोज ३ गते उद्घाटन गरी सञ्चालन गरिएको द्रुत बस सेवा एक महिनामै बन्द भएको थियो । द्रुत बस सेवा गुड्नेभन्दा कुर्ने समय बढी भएको भन्दै आलोचनासमेत भएको थियो ।

अहिले पुनः यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटको हुनेछ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ। द्रुत बस सञ्चालनका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।