काठमाडौं । लघुवित्तको ठगी र बैंक तथा वित्तीय संस्थाको मनोमानी कर्जा वितरणको विरोध गर्दै अभियान अघि बढाएका निजी मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले नागकिर बचाउ अभियन्ता बनेका छन् । सोही ब्यानरमा बिहीबार उनले काठमाडौंमा विशाल जनप्रदर्शन गरे । विभिन्न जिल्लाबाट मान्छे बटुलेर ल्याए । जब देशदेखि विदेशबाट समर्थन पाउन थाले अनि उनले अभियानमा राजतन्त्र घुसाए । अहिले प्रसाई आन्दोलनको एउटा नारा राजतन्त्र फर्काउने छ ।
प्रसाईको यो नाराले सबैभन्दा ठूलो घाटा आफूलाई कट्टर राजावादी ठान्ने राजेन्द्र लिङ्देन र कमल थापाहरूलाई परेको छ । केशरबहादुर विष्ट, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, प्रकाशचन्द्र लोहनी त अब दुर्गा प्रसाईले जे जे नारा अघि सार्छन्, त्यसमा होमा हो गर्ने बाहेक अरु भूमिका देखिएन । प्रसाईले आफ्नो नारा र एजेन्डा हाइज्याक गरेपछि अहिले राप्रपा पूर्वराजा ज्ञानेन्द्र शाहको भक्तिगान र उनलाई खुसामद गर्न लागिपरेको छ । जसअन्तर्गत शनिबार झापामा भव्य कार्यक्रम राखिएको छ । जसलाई लिएर राप्रपाले आफ्नो सम्पूर्ण तागत लगाएको छ ।
पूर्वराजा शाहको झापा भ्रमणलाई सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले तयारी गरेको छ । त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता झापामै बसेर व्यवस्थापन मिलाइरहेका छन् । झापामा पूर्वराजालाई राप्रपाले मोटरसाइकल ¥यालीमार्फत बिर्तामोड पु¥याउने तयारी गरेको छ । ¥यालीमा पाँच हजारभन्दा बढी मोटरसाइकल हुने दाबी गरिएको छ । पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गर्ने र जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने राप्रपाको तयारी छ ।
शनिबार दिउँसो १२ बजे मेचीनगरबाट ¥याली प्रारम्भ हुने र १ बजे इकम कलेजमा शालिक अनावरण हुने कार्यक्रम राखिएको राप्रपाले जनाएको छ । काठमाडौंमा झापाकै प्रसाईले राजावादीहरूको सहानुभूति बटुलेपछि तनावमा रहेका लिङ्देनले शुक्रबार मात्र प्रसाईको आन्दोलनलाई समर्थन गरेका छन् । राप्रपामा प्रसाईको आन्दोलनमा समर्थन गर्नुपर्ने भन्दै दुई धार जन्मिएका बेला लिङ्देनले पनि समर्थन जनाएका हुन् ।
शुक्रबार उनले सामाजिक सञ्जालमार्फत प्रसाई समूहलाई शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न दिन पाउनुपर्ने भन्दै सरकारले आफूलाई तत्काल सच्याओस् भन्दै सल्लाह दिएका छन् । ‘शान्तिपूर्ण ढंगले हिंड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपक्कड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्। धरपक्कड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस्,’ लिङ्देनले भनेका छन् । राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत प्रसाईको आन्दोलनको समर्थनमा छन् । शाही त बिहीबारको कार्यक्रममै पुगेर भाषणसमेत गरे ।
यता, राजतन्त्रको नारा छाडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले फेरि त्यही एजेन्डा समात्न आइपुगेका छन् । आफूलाई राप्रपाको अध्यक्षमा हराउन पूर्वराजा शाहले षड्यन्त्र गरेको आरोप लगाउँदै थापाले राप्रपासँगै राजतन्त्रको नारा पनि छाडेका थिए । उनले राप्रपा नेपाल गठन गरे । तर राप्रपा नेपालको अस्तित्व कहीँकतै देखिएको छैन । त्यसैले अहिले बाध्य भएर थापा पनि दुर्गा प्रसाईको एजेन्डामा आएका छन् । शुक्रबार उनले प्रसाई समूहको आन्दोलनलाई नैतिक समर्थन जनाएका छन् । यसबाट अब दुर्गा प्रसाईले राप्रपा र राप्रपा नेपालको एजेन्डा टेक ओभर गरेको प्रस्ट हुन्छ । राजेन्द्र लिङ्देन र कमल थापाले विस्तारै दुर्गा प्रसाईलाई नेता माने भने कुनै आश्चर्य नहुने राजावादीहरू बताउन थालेका छन् ।




