राजनीति

दुर्गा प्रसाईंकाे उदयले रवि लामिछानेको ‘मिसन ८४’ लाई धक्का

काठमाडौं । मुलुकमा आर्थिक मन्दी छ । बेरोजगारी छ । महँगी छ । व्यापार, व्यवसायमा समस्या छ । सांस्कृतिक, धार्मिक, सामाजिक रूपमा एक खालको विचलन आएको छ । चार दशकदेखि एउटै नेताहरू सत्तामै छन् । पार्टीमा बुढा नेताहरूले नेतृत्व छाडेका छैनन् । तर पनि देश र जनताको मुहार परिवर्तन गर्छु भन्न छाडेका छैनन् । त्यसैले सर्वसाधारण जनता आजित बनेका छन् । उनीहरूले २०७९ को स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो असन्तुष्टि व्यक्त गरे ।

ठूला दलहरूको वर्चस्वलाई धक्का दिन काठमाडौंमा बालेन्द्र साह बालेन, धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमालहरूको उदय भयो । यो डेढ वर्षमा उनीहरू को कति पानीमा भन्ने जनताले देखिसकेका छन् । २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो । सो पार्टी खोल्ने रवि लामिछाने एकाएक राजनीतिमा स्थापित भए । टेलिभिजनमा सञ्चारकर्म गर्दाको फाइदा उनले पार्टी गठन गरेर बटुले । सोझासिधा जनतालाई भ्रममा पारे । आफूले जितेपछि विदेश गएका सबै युवालाई नेपाल फर्काउँछु भनेर भाषण दिए ।

जनताले होला त भनेर विश्वास पनि गरे । तर उनी आफैं दोहोरो नागरिकता र राहदानी काण्डमा फसे । दोहोरो नागरिकता काण्डमा उनले भएकै पद गुमाए । पार्टी अध्यक्ष, सांसद, मन्त्री सबै गुमाए । उपनिर्वाचनमा जनताले फेरि पनि जिताएर पठाइदिए । अहिले पनि उनी लोकरिझ्याइँ गर्न उद्यत नै छन् । जाजरकोट भूकम्पका बेला उनले पहिलेको बानी छाडेनन् । जनताले भूकम्पले घरबास उठेको बेला पनि उनले ‘मिसन ८४’ भनेर हिँड्न छाडेनन् । अहिले उनी त्यही मिसन बोकेर जिल्ला जिल्ला पुगेका छन् ।

यही बेला विवादास्पद निजी मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौंमा आफ्नो शक्ति देखाएका छन् । हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र २० लाखसम्म बैंकका ऋण भएका ऋणीको ऋण मिनाहा गरिदिने आश्वासन दिएर प्रसाई गणतन्त्रको खिलापमा लागेका छन् । मंसिर ७ गते यो व्यवस्थालाई अन्तिम धक्का दिने भनेर लागेका प्रसाईले एमालेको युवा संघको भन्दा धेरै मानिस जम्मा गरेर आफ्नो शक्ति प्रदर्शन गरेका छन् । कुनै पार्टी नभएको, राजनीतिमा लामो समय नलागेको एक व्यक्तिले बिहीबार काठमाडौंमा निकालेको जुलुस विशाल थियो । प्रसाईको अभियानमा सहभागी भएका नागरिकको संख्यालाई अब कसैले नजरअन्दाज गर्न भने सक्दैन ।

दुर्गा प्रसाईको यो प्रदर्शनले ‘मिसन ८४’ भनेर हिँडेका रवि लामिछाने, राजेन्द्र लिङ्देन, काठमाडौंका मेयर बालेन, धरानका मेयर हर्कलाई ठूलो धक्का दिने चर्चा हुन थालेको छ । प्रसाईको आन्दोलनमा लाग्ने धेरैजसो भलै राजतन्त्रका समर्थक पनि होलान्, तर एक व्यक्तिले तठस्थ भएको मत यसरी प्रभावित पार्न सक्छ भन्ने देखिएको छ । त्यसैले अहिले रवि लामिछानेहरू दुर्गा प्रसाईको आन्दोलनलाई टिप्पणी गर्न चाहिरहेका छैनन् । हिजो रवि लामिछानेलाई सामाजिक सञ्जालमा ‘गुड लक रवि दाइ’ भन्नेहरू आज ‘दुर्गा प्रसाई गुड लक’ भन्न थालेका छन् ।
यो सामान्य विषय होइन । राज्यले विधि र विधानबाट काम गर्न नसक्दा हिजो जसरी बालेन, रवि, हर्कहरूको जन्म भएको थियो, फेरि पनि प्रसाईं प्रवृत्तिहरूको जन्म हुने देखिएको छ । अहिले रोजगारी, आर्थिक सुरक्षा, सुशासन नभएकाले मान्छेमा असन्तुष्टि छ । त्यसलाई उच्छृंखल तत्वहरूले उपयोग गर्ने प्रयास गरेका छन् । प्रसाईले पनि त्यसै गरेका हुन् । प्रसाईको बिहीबारको जनप्रदर्शनले दलप्रति विश्वास सकियो, नेताप्रति भरोसा सकियो, परिवारवाद र नातावाद अन्त्य हुने, मनोमानी र स्वेच्छाचारी प्रवृत्तिलाई धक्का लाग्ने देखिएको छ ।

बैंकहरूबाट साढे पाँच अर्ब ऋण लिएको भनिएका प्रसाईंसित भीड छ । त्यो भीडको ठूलो हिस्सामा तिनीहरू छन्, जसले बैंकमा निक्षेपको रुपमा राखेको रकम नै प्रसाईंले कर्जाको रूपमा लिएका थिए । प्रसाईं भने बैंकलाई ऋण नतिर्ने ढिपी गरेर हिँडिरहेका छन् । उनका समर्थकहरू आफ्नै बचत रकम फिर्ता नगर्ने बताइरहेका प्रसाईंको पक्षमा हुटिङ लगाइरहेका छन् । प्रसाईंले वित्तीय संस्थाबाट ऋण लिँदा छलकपट गरेको महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले इंगित गरेको छ ।

प्रसाईंले धितोको अधिक मूल्यांकन गरेर निक्षेपकर्ताको रकम दुरुपयोग गरेको आरोप छ । प्रसाईंले २०७७ मा आठ करोड थैली रकम कायम गरेर आफ्नै स्वामित्वको बी एन्ड सी अस्पताललाई बेचेको जग्गा दुई दिनपछि चारवटा बैंक तथा वित्तीय संस्थामा धितो राखेर एक अर्ब ७४ करोड रुपैयाँ ऋण लिएका थिए । तर पनि प्रसाईलाई किन उनीहरूले साथ दिइरहेका छन् भन्ने बुझीनसक्नुको छ ।

रास्वपा सभापति रवि लामिछाने जति मिठो भाषण गर्छन्, महिलालाई धेरै सम्मान गरेको देखाउँछन्, तर उनी महिला पीडक हुन् भन्ने सबैलाई थाहा छ । अमेरिकामा एउटी श्रीमती, दुई छोरी र एक प्रेमिका र उसबाट जन्मेको छोरा छाडेर नेपालमा आई अर्को बिहे गर्ने रविलाई चितवनदेखि अन्यत्रका महिलाले पनि धेरै सम्मान गर्छन् । जो महिला पीडक छ, उसलाई नै महिलाले शतप्रतिशत मत दिएर चितवनमा दुई दुईपटक जिताएर पठाए । अहिले दुर्गा प्रसाई पनि त्यसरी नै अघि बढेको देखिएको छ । भोलि उनले पार्टी नखोल्लान् भनेर भन्न सकिन्न । त्यतिबेला रवि, बालेन, हर्कहरूलाई हुने हो चुनौती ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *