राजनीति

राहत वितरणमा जनार्दन हाबी हुँदा जाजरकोटका शक्ति बस्नेत निरीह

काठमाडौं । गत शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । यो एक साताका बीचमा तीन रेक्टर स्केलमाथिका जाजरकोटमा ६ सयभन्दा बढी भूकम्पको धक्का महसुस भएको छ । जाजरकोट भूकम्पले अहिलेसम्म ३५ हजारभन्दा बढी घर पूर्ण र आंशिक रूपमा क्षतिग्रस्त हुन पुगेका छन् । एक सय ५३ जनाले ज्यान गुमाएका छन् । साढे तीन सयभन्दा बढी घाइते भएका छन् । २०७२ वैशाखपछि नेपालमा भूकम्पबाट यति ठूलो जनधनको क्षति हुन पुगेको हो ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्य माओवादीका शक्ति बस्नेत छन् । उनी पार्टीका उपमहासचिव पनि हुन् । पटकपटक मन्त्री भइसकेका बस्नेत यत्रो भूकम्पमा कहाँ के गर्दैछन् ? अत्तोपत्तो छैन । बरु उनकै निर्वाचन क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चा धेरै भयो । केही दिन जाजरकोट बसेका उनले एफएम चलाएर अन्य नेतालाई ओझेलमा पार्ने प्रयास गरे ।

भूकम्पपीडितको उद्धार र राहतका नाममा रविले ‘मिसन ०८४’ को प्रचार गरे । तर पार्टीको पदाधिकारी रहेका बस्नेतको अहिलेसम्म कहीँ कतै चर्चा परिचर्चा हुन छाडेको छ । जबकि उनकी श्रीमती सत्या पहाडीसमेत पटकपटक राज्य सत्तामा पुगिसकेकी माओवादी नेतृ हुन् । यसले आगामी निर्वाचनमा जाजरकोट माओवादीको हातबाट फुत्किनेमा कुनै आशंका देखिन्न ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम धेरै प्रभावित बनेको छ । तर प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीको पीडा थपिएको छ । जाजरकोटका लागि राहत बोकेर हिँडेका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट बलपूर्वक रुकुम पश्चिमतर्फ लगिएको समाचार आएको थियो ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि पुगेको छैन । शर्माले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीले राहत सामग्री आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेको पुष्टि गरेको छ । राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली लागू गरेको छ । तर, शर्माले भने सिधै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर आफ्नो क्षेत्रमा राहत सामग्री वितरण गरेको जनाएका छन् ।

जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक सल्लीबजारबाट रुकुम पश्चिमतर्फ मोडिएको थियो । यो सामान खोजबिन हुँदा बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सोलार वितरण गर्न थालिएपछि ट्रक फेला परेको हो । जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो जिल्लातर्फ आइरहेको तीन ट्रक राहत सामग्री बाटोबाटै ‘हाइज्याक’ गरिएकामा विरोध गरेका थिए । यति हुँदा पनि माओवादी नेता शक्ति बस्नेतले केही बोलेका छैनन् । उनी शर्माका अगाडि निरीह बनेका छन् ।

भेरी गाउँपालिकाका अनुसार करिब ९५ प्रतिशत घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ । सोमबारको दोस्रो परकम्पपछि घरमा क्षति नपुगेका परिवार पनि घरभित्र पस्न डराइरहेका छन् । केन्द्रबिन्दु रामीडाँडामा र सिर्पाचौर वरपरका गाउँमा चिसो बढिरहेकाले उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ । गाउँपालिकाले आफैं व्यवस्था गरेको र सहयोग प्राप्त त्रिपालको भरमा प्रभावित क्षेत्रका बासिन्दा बसिरहेका छन् । रामीडाँडा र सिर्पाचौरलगायत ठाउँको तापक्रम राति एक डिग्रीसम्म झर्ने भएकाले भूकम्पपीडितलाई पाल, ओढ्ने र ओछ्याउने न्याना कपडाको अभाव भएको स्थानीयको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *