रिबन

आकर्षक प्याकिङ गरिएको भाइमसलाभित्र कुहिएको सामान, सरकारले गर्दैन अनुगमन

बजारमा तिहारका लागि भाइमसला आउन थालिसकेको छ । तर, व्यापारीहरूले अखाद्य, कुहिएको वा गुणस्तरहीन सामानहरू प्याकिङ गरेर भाइमसलाको रूपमा बेचिरहेका छन् । एकातिर कुहिएको, अखाद्य सामान प्याकिङ गरिएको छ, अर्कोतिर सामानको तौल कम हुँदा मूल्य भने छोइनसक्नु छ । आफूखुसी मनोमानी ढंगले व्यापारीहरूले भाइमसलाको मूल्य तोकेका छन् । व्यापारीहरूले भाइमसला भन्दै कुहिएको, सडेको सामान प्लास्टिकमा प्याक गरेर चर्को मूल्यमा सर्वसाधारणलाई बेच्दासमेत सरकार बजार अनुगमन गर्दैन ।

प्याक गरेको सामान भएपछि खोलेर हेर्न दिइँदैन । न त तौल नै चेकजाँच गर्न दिइन्छ । व्यापारीले भनेअनुसार सामानको मूल्य तिर्न र समान किन्दासमेत चेकजाँच गर्न नपाउन बाध्य छ सर्वसाधारणलाई । एक सय नपर्ने सामान तीन सयमा बेच्छन् व्यापारीहरू त्यो पनि खान अयोग्य । अहिले भाइमसलामा मात्र होइन, मिठाईमा पनि त्यस्तै छ ।

विभिन्न अखाद्य रंग हालेर मिठाइ बनाइन्छ । मिठाई बनाउने ठाउँ र बनाउने व्यक्ति दुवै फोहोरी छन् । सडेको, गलेको वा बाँसी मिठाई बट्टामा प्याक गरेर दुई सय नपर्नेमा पाँच सय लिइन्छ । फेरि त्यस्तो वस्तु खाँदा सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । जीरा, मरमसलाहरूमा पनि यही गरिएको हुन्छ । अहिले जीरा पिसिएको र प्लास्टिकमा प्याक गरिएको आउँछ । तर, त्यो प्लास्टिकमा साँच्चिकैको जीरा हुँदैन । विभिन्न सस्तो र अखाद्य वस्तु पिटेर जीराको नाममा महँगो मूल्य लिएर बेचिएको हुन्छ । एक वर्षअघि चार सय रूपैयाँमा पाइने प्रतिकिलो जीरा अहिले १४ सय पुगेको छ । प्रत्येक खाद्यान्न तथा सामग्रीमा एक सयदेखि १४ सयसम्म बढाएको पाइन्छ ।

अहिले मानिससँग पैसा नभएपछि मासु पनि बिक्री हुन छोडेको छ । खसी, कुखुरा, रांगा, बंगुरलगायत पशु चौपायाको मासु बिक्री हुन छोडेको छ । व्यापारीहरूले खसीको मासु भनेर बोकाको मासु बेच्ने, रांगाको भनेर भैंसी, बंगुर भनेर सुंगुर र लोकल भनेर बोइलर कुखुराको मासु बेच्ने गरेका छन् । पछिल्लो समय बजारमा मासु किन्नको संख्या हवात्तै घटेको देखिन्छ । मासु पसलमा एकजना देखिँदैन ।

फेरि मासु पसलहरू पनि सरकारको मापदण्डविपरीत सञ्चालन भएका छन् । मासु पसलमा जाँदा मासु काट्न प्रयोग गरिने सामग्री, मासु पखालेको पानी र मासु काट्ने मान्छे सबै फोहोरी देखिन्छन् । मासुमा तौलमा उपभोक्तालाई ठगिन्छ भने मरेको खसी, बोका, कुखुरा, सुंगुर पनि बिक्रीवितरण गरिन्छ ।

दूधदही पसलमा पनि यस्तै छ । गुणस्तरीय भन्दै दूधमा पानी मिसाएर दिइन्छ । दही पनि महंगो मूल्य लिएर खानै नहुने बेचिएको हुन्छ । पनिर पनि कहिल्यैदेखिको बासी बिक्रीवितरण गरिन्छ । दही, दूध पसलमा पनि उपभोक्ताहरूको संख्यामा कमी आएको देखिन्छ । किराना पसलदेखि होलसेल पसल, भाटभटेनी, सुपरमार्केट, बिग मार्केटहरूमा म्याद गुज्रिएको सामानमा नयाँ स्टिकर टाँसेर बिक्रीवितरण गरिएको छ । सामानको मूल्य व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो सर्वसाधारणले त्यति नै तिर्नुपर्ने बाध्यता छ ।

यसपालिको दशैंमा आर्थिक मन्दीका कारण पशु चौपायाको खपतमा कमी आयो । खसी, बोका, च्याङ्ग्रा, कुखुरालगायत मासुको बिक्रीमा भारी गिरावट आयो । त्यस्तै, मदिराहरूको पनि खासै बिक्री भएन । व्यापारीहरू सर्वसाधारण जनतालाई ठगेको ठग्यै छन् अनि राजनीतिक दलका नेताहरू तिनै व्यापारीसँग चन्दा उठाइरहेका छन् ।

व्यापारीहरूले सर्वसाधारणलाई त ठगेर कमाए । तर, भनिन्छ नि ठगेर, लुटेर कमाएको सम्पत्ति धेरै दिन टिक्दैन । त्यसरी नै सर्वसाधारणलाई ठगेर कमाएको पैसा व्यापारीहरूले घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए । सँगै कतिपयले सहकारीमा समेत जम्मा गरे । अहिले भने उनीहरूको बेहाल भएको छ । सहकारी भाग्यो त घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छायो । जो व्यक्तिको मासिक आम्दानी तीन हजारदेखि पन्ध्र हजारसम्म हुन्छ । उसले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न सक्दैन । किनकि त्यो रकमले उसलाई खानै पुग्दैन । जसले भ्रष्टाचार, कालोबजारी र अरुलाई ठगेर कमाएको थियो हो ती व्यक्तिहरू आज डुबेका छन् ।

चार हजार कित्तामा किनिएको सेयर अहिले सय रूपैयाँमा बिक्री नहुने अवस्था आएको छ । पचास लाखको गाडी लाखमा बिक्दैन त करोडमा किनेको घडेरी लाखमा जाँदैन । भर्खरै जन्मिएको बच्चालाई अरुलाई ठग्ने, लुट्ने भन्ने थाहा हुँदैन । तर, परिवारको अवस्था र समाजले उसलाई चोर्नेदेखि हत्या, हिंसा गर्नेसमेत बनाउँछ । राजनीतिक दलका नेताहरूले अहिले पनि जनतालाई झुक्याएर ठगिरहेका छन् । उनीहरूकै कारण व्यापारीले सामान मूल्य बढाएका छन् । अनि उनीहरू नै मिडियामा व्यापारीको विरोध गरेजस्तो गर्छन् । सर्वसाधारण सामान किन्न जाँदा व्यापारीहरू आफ्नो जिब्रोमा मूल्य लिएर बसेका हुन्छन् । कतिबेला ठग्न पाइन्छ भन्ने उनीहरूको मनसाय हुन्छ ।

पसलमा न सामानको मूल्यसूची उपभोक्ताले देख्ने गरी राखिएको हुन्छ न त पसल नै सम्बन्धित वडा कार्यालय, नगरपालिकामा दर्ता गरिएको हुन्छ । व्यापारीहरू सुकिलामुकिला भएर बसेका छन् । ग्राहक आउँदा मिठो बोलीबचन गर्छन् अनि ठग्न सुरु गर्छन् । सर्वसाधारणलाई त महंगोमा सामान बेचेर उनीहरू ठग्छन् नै राज्यलाईसमेत कर तिर्दैनन् ।
राज्य पनि यस्ता ठगहरूलाई कानूनको दायरामा ल्याउन सक्दैन । सर्वसाधारण त झन् बोल्नेसमेत आँट राख्दैंनन् ।

मानिससँग अहिले पैसा र रोजगारी दुवै छैन । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ । पसलमा दिनभर एउटै ग्राहक छिर्दैन । केही गरी कोही छिरेमा व्यापारीहरू उसलाई ठग्न योजना बनाइहाल्छन् ।
व्यापारीहरू पनि राजनीतिक दलमा आबद्ध छन् । पार्टीको सदस्यता लिएका छन् भने मासिक वा दिनहुँ रूपमा लेबी बुझाउँछन् । सर्वसाधारण जनता बैंकमा कर्जा लिन जाँदा बैंकका कर्मचारीहरू मिठो बोल्छन् । उनीहरू सुगर सफा हुन्छन् । एक करोडको धितो राख्दा ५० लाख कर्जा दिइन्छ ।

त्यसमा पनि पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क र ब्याज भनिने बेला १६ प्रतिशत भने पनि ४८ प्रतिशत लिइन्छ । तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाइन्छ । अब भन्नुस् यिनीहरू जनताको सेवा गर्न बसेका हुन् कि ठग्न, लुट्न ? सर्वसाधारणले थाहा नपाएसम्म सहकारीले ठगिरह्यो । जनताले सहकारी ठग, चोर हो भनेर थाहा पाएपछि सहकारीहरू रातारात फरार भए ।

बचतकर्ताहरूले सहकारीमा राखेको आफ्नो रकम धमाधम निकाले । बैंकको पनि सहकारीझैं हालत हुन लागेको छ । सर्वसाधारणले बैंकमा बचत गर्न छोडेका छन् । भएको बचत समेत निकालिरहेका छन् । चार दशकअघि एक हजार आनामा बिक्री नहुने जग्गा दलाल तथा भूमाफियाहरूले प्लानिङ र खण्डीकरण गरेर आनाकै ७५ लाखसम्म बेचे त्यो पनि दुई वर्षअघि । बैंकले सय रूपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालहरूले ३२ सयसम्ममा बेचे । भारतमा एक लाखमा पाइने सवारीसाधन नेपालमा ल्याएर ५० लाखसम्ममा बेचियो ।

गत साउन ३० गतेको मन्त्रिपरिषद्को बैठकले मुलुकभर जग्गाको कित्ताकाट फुकुवा गर्यो । कित्ताकाट खुले पनि बजारमा घरजग्गाको किनबेच बढेको छैन । घरजग्गामा लगानी गर्न चाहने कोही छैन । त्यस्तै, सेयरमा लगाएको १२ करोडमा सीमा पनि हटाइयो । तर, सेयरमा पनि लगानी गर्ने कोही छैन । नयाँ गाडी तथा पुरानो गाडीको पनि किनबेचमा गिरावट आएको छ । घरधनीहरू एउटा चिसो, अध्यारो वा दिउँसै बत्ती बाल्नुपर्ने सानो कोठाको मासिक दश हजारदेखि पन्ध्र हजारसम्म असुले । एक फ्ल्याटको ३० हजारदेखि दुई लाख र एउटा सटरको एक लाखदेखि दश लाखसम्म भाडा लिए । तर, अहिले भाडामा बस्ने कोही नभएपछि घरधनीहरू जिल्ल परेका छन् ।

काठमाडौं उपत्यकाभित्र नै घरहरू धमाधम खाली भएका छन् । तीन वर्षअघि मालपोत र यातायात कार्यालय जाँदा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । तर, अहिले यी सरकारी कार्यालय पनि सुनसान छन् । राजनीतिक दलका नेताहरूले पनि जनतालाई नै झुक्याएर ठग्ने हो । जनताले नै तिरेको करमा मोजमस्ती गर्ने हो । सरकार कर्मचारीहरूले पनि जनताले नै तिरेको करबाट तलबभत्ता खाने हो, पोसाक लगाउने हो र पेन्सन खाने हो । तर, जनताले कर उनीहरू छिटोछरितो रूपमा गर्दैनन् । यहाँ एकले अर्कोलाई ठगेको छ, झुक्याएको छ र लुटेको छ । चाहे त्यो व्यवसाय गर्ने नाममा नै होस् या सेवा दिने नाममा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *