काठमाडौं । नेपालको सत्ता कसरी चलिरहेको छ भन्ने एउटा ताजा उदाहरण जाजरकोट भूकम्पले दिएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत दिने क्रममा छिमेकी दुई राष्ट्रले नेपालको शासन सत्तामा कस्तो प्रभाव पारेको रहेछ भन्ने छर्लंग देखिएको छ ।
जाजरकोट भूकम्पलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कात्तिक २० गते भारतीय सेनाको विशेष विमान ‘सी–१२०’ भूकम्प प्रभावित क्षेत्रनजिकै पर्ने नेपालगन्जमा अवतरण भयो । भूकम्पबाट प्रभावितका लागि आएको भारतीय राहत बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगे । उनी त्यसबेला सुर्खेतमै थिए ।
खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विमानस्थलमै ती सामग्री हस्तान्तरण गरे । भारतले दोस्रो खेप पनि राहत सहयोग गरेको छ । दोस्रो खेपको राहत पनि मन्त्री खड्काले नै बुझे । कर्णाली प्रदेशको सुर्खेतबाटै चुनाव जितेको र भूकम्प प्रभावित क्षेत्र त्यहीँ भएकाले खड्काले भारतीय राहत बुझ्नुलाई सामान्य मानिएको छ ।
नेपालमा भूकम्पबाट मानवीय र भौतिक क्षति पुगेलगत्तै चिनियाँ राजदूत छन सोङले १० करोड बराबरको राहत आउँदै गरेको र चाँडै प्रभावित क्षेत्रमा पुग्ने सामाजिक सञ्जालमा लेखे । केरुङ–रसुवागढी नाका हुँदै एक खेप राहत सामग्री नेपाल पठाइसकेको चीनले पनि त्यसको दुई दिन नबित्दै सहयोगको अर्को प्याकेज पठायो ।
कात्तिक २२ गते बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुईवटा कार्गो विमान अवतरण भए । सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उडेका ती विमानहरू झन्डै १९ सय ९८ किलोमिटर पार गर्दै नेपाल आइपुगेका हुन् । पोखरामा विमान ओर्लिँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयं उपस्थित मात्रै भएनन्, नेपालका लागि चिनियाँ राजदूत छन सोङबाट राहत सामग्री पनि बुझे ।
गृहमन्त्री श्रेष्ठले राहत सामग्री बुझ्दै प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पु¥याउने बताए । चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पु¥याइने श्रेष्ठको भनाइ थियो । पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठले बताए । चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको छ । जसमा ४६०० थान ब्ल्याङ्केट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् ।
भारतले पठाएको राहत सामग्री उपप्रधान तथा रक्षामन्त्री खड्का र चीनले पठाएको राहत सामग्री उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुझ्नुलाई सामान्य मानिएको छैन । यसले नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने नाममा आफ्नो पक्षधरता पनि स्पष्ट पारेको देखिएको छ । यसबाट भारतीय संस्थापन पक्ष कांग्रेससँग नजिक भएको र चिनियाँ संस्थापन पक्ष कम्युनिस्ट नजिक भएको स्पष्ट हुन्छ ।
सरकारले जुन देशबाट आए पनि राहत सामग्री बुझ्न एउटै मन्त्री तोकेको भए छिमेकीले खेल्न पाउँदैनथे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसमा असफल भएका छन् । चिनियाँ ऋण सहयोगमा बनेको पोखरा विमानस्थलमा राहत सामग्री बुझ्न गृहमन्त्री श्रेष्ठलाई पठाएर उनले आफ्नो कमजोरी उजागर गरेका छन् । श्रेष्ठ दुई साताअघि मात्र चीनबाट फर्केका हुन् ।




