देश

भूकम्पको इपीसेन्टरमा राहत होइन, सहानुभूति दिनेको लर्को

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण देश शोकमा छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाले ज्यान गुमाए । तीन सयभन्दा बढी घाइते भएका छन् । ३५ हजार मानिस घरबारविहीन बनेका छन् ।

भूकम्पपछि अहिले देशविदेशबाट प्रभावित क्षेत्रका लागि राहतको घोषणा भइरहेको छ । भारत र चीनले पठाएका राहत सामग्री प्रभावित क्षेत्रमै पुगिसकेको छ । भूकम्पपछिको केही घन्टा प्रभावित क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंमा राहत रकम बुझ्न व्यस्त छन् । विभिन्न दल, सामाजिक संस्था, बैंक तथा वित्तीय संस्थाबाट सहयोगस्वरूप प्राप्त रकम प्रचण्डले बुझिरहेका छन् । विभिन्न स्थानीय निकाय, प्रदेश सरकारले राहत घोषणा गरिरहेका छन् । सामाजिक संघसंस्थाले दिएका राहत पीडितको हातमा पुग्न सकेको छैन । अझै पनि पीडितहरू खुला आकाशमुनि रात काट्न विवश छन् । तर पीडितलाई सहानुभूति दिनेको लर्को नै लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार जाजरकोट पुगे । उनले त्यहाँ पुगेर घाइते र पीडितलाई भेटी विपदका बेला कोही छैन भनेर नआत्तिन आग्रह गरेका छन् । उनले जनतालाई सहयोग गर्न सरकार रहेको पनि बताए । ‘हामी सबै मिलेर विपदको सामना गरौं । विपदका बेला कोही छैन भनेर नआत्तिनुस्, मद्दत गर्ने सरकार छ,’ पौडेलले भने । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, प्रधानसेनापति प्रभुराम शर्मालगायत सहभागी छन् । राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई सहानुभूति दिएर फर्किए ।

प्रधानमन्त्री प्रचण्डले सुरुमै सहानुभूति दिए ? नारायणकाजी श्रेष्ठलगायतका मन्त्री, सांसदले सहानुभूति दिए । एमाले सचिव पद्मा अर्यालले पनि पीडितलाई भेटेर सहानुभूति दिइन् । शनिबारदेखि नै प्रभावित क्षेत्रमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दिनसम्म सहानुभूति नै दिए । सोमबार उनले पार्टीबाट प्राप्त राहत जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरे । राप्रपाका नेता मुकुन्दश्याम गिरी, ज्ञानबहादुर शाहीलगायत सहानुभूति दिनै व्यस्त छन् ।

अहिले जाजरकोट र रुकुम पश्चिममा आवश्यकता त्रिपालको छ । आवश्यकता खाद्यान्न, औषधि, लत्ता–कपडाको छ । भूकम्प गएको पाँच दिन बित्यो । पीडितहरूले त्रिपाल टाँगेर चिसो भुइँमा सुत्न पाएका छैनन् । हेलिकोप्टर र महँगा गाडी चढेर नेताहरूको लर्को लागेको छ । यतिबेला सरकारले खटाएको प्रतिनिधि र सुरक्षाकर्मीबाहेक अरुको प्रभावित क्षेत्रमा काम छैन । सबैले सकेको सहयोग जहाँ बस्या हो त्यहीँबाट गर्ने हो । तर ‘डिजास्टर टुरिस्ट’ प्रमोट गर्न अहिले रवि लामिछाने, ज्ञानेन्द्र शाही, पद्मा अर्यालहरूको भिड लागेको छ । यसले पीडितहरूलाई राहत होइन, आहत दिने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *