काठमाडौं । एमालेले कोशी प्रदेशमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायमै राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए। कोशी प्रदेशमा एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले शनिबार राजीनामा दिएका थिए। कांग्रेसको विद्रोही (शेखर कोइराला) पक्ष र एमालेबीचको समझदारीविपरीत मुख्यमन्त्री कार्कीले माओवादी र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो।
मगर असोज २८ गते विनाविभागी मन्त्री नियुक्त भएका थिए । तर उनले मन्त्रालयको जिम्मेवारी नसम्हाल्दै राजीनामा दिएका थिए ।मुख्यमन्त्री कार्कीले कात्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मत दिएका थिए। राप्रपा भने मतदानमा सहभागी नै भएन ।




