रिबन

काभ्रे, ढुंखर्कको खुवा देशभर प्रसिद्ध

काठमाडौं । दूधलाई धेरै बेर पकाएर पानी जति सुकाएर बनाइएको परिकार हो खुवा अर्थात् कुराउनी । काभ्रेको बेथानचोक गाउँपालिकाको ढुंखर्क, च्यांम्राङबेसी, च्यासिङखर्क, भुग्देउ खुवाका लागि प्रसिद्ध छ । नेपालमा सबैभन्दा पहिले दूध चिस्याउने केन्द्र पनि नालाको चिसापानीमा स्थापना गरिएको थियो ।

कुनैबेला नालाको खुवा भक्तपुर, काठमाडौँमा बिक्री गरिन्थ्यो, तर अहिले खुवा बनाउने कारखाना बन्द भइसकेको छ । पछिलो समय दूध नै बिक्री गर्न सजिलो र बनमा दाउरा ल्याउन समस्या भएकाले नालामा खुवा बनाउने काम बन्द गरिएको हो । खुवालाई नेवारी भाषामा दुरू मह्री वा दुरू मारी भनिन्छ ।

खुवाबाट धेरै प्रकारका मिठाइहरू लालमन, रसभरी, बर्फी आदि बनाइन्छ ।
काभ्रेका डाँडापारि क्षेत्रका तीनवटा गाउँपालिकाका किसानको आयआर्जनको मुख्य स्रोत गाईभैसीको दूधबाट बानाइने खुवा बनाउनु र बेच्नु बनेको छ । यहाँ उत्पादन गरिने खुवा ढुंखर्क, कामीडाँडा, च्यांम्राङबेसी, च्यासिङखर्क, भुग्देउ र पनौतीबजार हुँदै काठमाडौं उपत्यकासम्म पुग्ने गर्दछ ।

जिल्लाको ढुंखर्क, भुग्देउ, चलाल गणेशस्थान, च्यासिङखर्कलगायतका क्षेत्रमा पनि प्रशस्त खुवा उत्पादन गरिन्छ । ढुंखर्कको पाट्नेखोलामा खुवा कारखाना चलाई रहेका पूर्णबहादुर बजगाईंका अनुसार उनी विगत १६ वर्षदेखि खुवा घोटिरहेका छन् । कुनैबेला उनले तीन सय लिटरभन्दा बढी दूध लिन्थे र त्यसैबाट खुवा घोट्थे, तर अहिले १६० लिटर मात्र दूध लिन्छन् । लकडाउनले धेरै गरेको उनको भनाइ छ ।

तीन लिटर दूधबाट चार पाउ खुवा बन्ने उनको दाबी छ । उनी भन्छन्– पाउँ ८० रुपैयाँमा सजिलै यहीँबाट खुवा बिक्री हुन्छ । अहिले बजगाईंले करिब ५० कचौरा खुवा बनाउने गरेका छन् । एक कचौरामा चार पाउ खुवा हुन्छ । ढुंखर्कको वडा नम्बर २ मा मात्र तीनवटा खुवा कारखाना छन् ।
स्थानीय स्रोतका अनुसार महिनाको ७५ हजार धार्नीभन्दा बढी खुवा बेच्दै आएका यहाँका किसानले मासिक तीन करोड रुपैयाभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पनौतीमा हरेक दुई दिनमा पाँच हजार धार्नीभन्दा बढी खुवा संकलन हुने गरेको व्यापारीको भनाइ छ । प्रतिकिलो ४३० रुपैयाँसम्ममा पनौतीमा खरिद गरिने खुवाका कृषकले मासिक रूपमा भुक्तानी पाउने गरेका छन् । काभे्रबाहेक सिन्धुपाल्चोक र ललितपुरका गाउँहरूबाट समेत पनौतीमा खुवा आउने गरेको छ । अहिले तीन जिल्लाको खुवाको मुख्य संकलन केन्द्र काभ्रेको पनौती बनेको छ । काभे्रको ढुंखर्क, भुग्देऊ, च्यासिंखर्क, च्याम्राङ्बेसी, सिपालीलगायतका क्षेत्रमा दूध संकलन गरी खुवा बनाउने भट्टाहरू दर्जनौंको संख्यामा स्थापना भएका छन् । काभ्रेको ढुंखर्कमा मात्र चारवटा खुवा कारखाना छन् ।

खुवा कारखानाहरूले प्रतिमाना दूधको २१ रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् । मोटरबाटोलगायतको असुविधाका कारण डाँडापारि क्षेत्रका कृषकले दूधको खुवा बनाएर बेच्नुलाई मुख्य पेसा नै बनाएका छन् । डाँडापारिमा उत्पादित खुवा बाह्र घण्टासम्म भरियालाई बोकाएर पनौतीमा ल्याउने गरिन्थ्यो । एक धार्नी खुवा बोकेबापत भरियाले ३५ रुपैयाँसम्म लिने गरेका थिए । एकजना भरियाले २७ धार्नीसम्म खुवा बोक्न सक्थे, तर अहिले त हिउँदमा अधिकांश ठाउँमा मोटर आवत–जावतको सुविधा पुगिसकेको छ ।

राजधानीमा खपत हुने खुवाको ३० प्रतिशत पनौतीबाटै आउने गरेको पूर्णबहादुर बजगाईंको भनाइ छ । हरेक दुई दिनमा पाँच हजार धार्नी खुवा राजधानी पु¥याइन्छ । कृषकले पाएको बजार भाउको हिसाबले मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम तीन जिल्लाका कृषकहरूले लिने गरेको खुवा व्यवसायी ढुंखर्कका बजगाईले बताए । खुवा बनाउनमा आवश्यक पर्ने दाउराका कारण यस क्षेत्रमा वनविनाश हुदै गएकोमा भने कसैको ध्यान गएको छैन ।

नेपालको ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकहरूबाट उत्पादन गरिएको दूधको समुचित बजार व्यवस्थापन गर्नु र उपभोक्ताका लागि स्वच्छ तथा प्रशोधित दूध तथा दुग्ध पदार्थहरूको उचित मूल्यमा आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐनअनुसार २०२६ साउन १ गतेदेखि दुग्ध विकास संस्थान अस्तित्वमा आएको हो । तर ढुंखर्कमा २०२८ सालतिर मात्र दूध संकलन गर्न थलिएको हो । संकलित दूध पनौती चिस्यान केन्द्रसम्म बोकाएर लानुपर्ने स्थानीय शिक्षक केदारबहादुर क्षेत्रीले बताए ।

डेरी एसोसिएसनको तथ्यांकअनुसार अहिले देशभर दैनिक ६२ लाख लिटर दूधको आपूर्ति भइरहेको छ । सामान्य अवस्थामा त्यसको आधा अर्थात् ३१ लाख लिटर दूध बजारमा बिक्री हुन्थ्यो । डेरी एसोसिएसनका अनुसार ‘लकडाउन सुरु भएपछि पनि यो आपूर्ति निरन्तर छ, तर माग भने निकै घटेको छ । ३१ लाख लिटरमध्ये २५ लाख लिटर दूधको ओभरसप्लाइ छ, कसैले खाइरहेका छन् । खान नसक्नेले गाईवस्तुलाई नै खुवाइरहेका छन् ।

निजी क्षेत्रले २०३६ सालबाट दुग्ध व्यवसायमा लगानी गर्न प्रारम्भ गरेको हो । वर्तमानमा काठमाडौं उपत्यकाभित्र र बाहिर विभिन्न क्षमताका थुप्रै निजी डेरीहरू (सहकारीसमेत) छन् । आधुनिक दुग्ध प्रशोधन सुविधा सहित काठमाडौंमा रहेका मुख्य डेरीहरूमा नेपाल डेरी, हिमालय डेरी, सीताराम डेरी, अनमोल डेरी, काठमाडौं डेरी, आधुनिक डेरी हुन् । त्यस्तै, उपत्यका बाहिर चितवनमा चितवन मिल्कस् लिमिटेड, पोखरा उपत्यकामा सुजल डेरी तथा सुनसरीमा कामधेनु डेरी रहेका छन् ।

यी डेरीहरूले प्रशोधित दूध तथा दही, आईस्क्रिम, मखन एवं घ्यू जस्ता दुग्ध पदार्थहरू उत्पादन गर्दछन । चितवन मिल्कस् र सुजल डेरीले धुलो दूध पनि उत्पादन गर्दछन् । दूधबाट चीज उत्पादन गर्ने कार्यमा पनि निजी उद्यमीहरू संलग्न छन् । तथापि देशमा सञ्चालनमा रहेका डेरीहरूको संख्या बारेको एकिन तथ्यांक उपलब्ध हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *