बागमती प्रदेश

बालेनले किन मेयर्स फोरम बहिष्कार गरे ? उपमेयर अनिता लामाले खोलिदिइन् वास्तविकता

काठमाडौँ महानगर मेयरज्यूको स्टन्ट र मेयर्स फोरम पाँचौँ बैठकको सत्य तथ्य !

काठमाडौं महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो । बैठकमा सबैको आसन ग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखेँ । त्यसपछि राष्ट्रिय गान गाइयो । त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो ।
त्यतिबेलै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले ‘एक छिन एक छिन’ भनेर हात उठाउनुभयो । बैठकका अध्यक्षज्यूले एजेन्डामाथि जाऊँ अनि त्यसमाथि व्यापक छलफल गरौँ भन्ने प्रस्ताव राखिरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरुक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो ।

बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले एजेण्डा निर्धारण गरेको र पहिला एजेण्डामाथि नै प्रवेश गरौँ त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो । लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो ।

बैठक एजेन्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो । नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सीधै प्रश्न एवं प्रस्तुति गरी अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ । नेपवेष्ट भने काठमाडौं महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ ।

नेपवेष्टले पनि विस्तृत रूपमा काठमाडौं उपत्यकाभरिका सबै पालिकामा आफ्नो कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ । त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौँ ।

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिस केही गरिएको छैन । १३ वर्षसम्म अल्झिएको जटिलताको विषयमा सुसूचित मात्रै हुने काम भयो । तर, मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु ।

बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौं बिक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ? नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौँ महानगर बढी जिम्मेवार हुनुपर्ने बुझियो । तर, महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने रु

(बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाको सामाजिक सञ्जालबाट)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *