काठमाडौं । दशैं बिदापछि सबै सरकारी कार्यालय खुलिसकेका छन् । अधिकांश कर्मचारी काममा फर्किएका छन् । मालपोत र यातायात कार्यालयमा कर्मचारीको ओइरो छ । तर, सेवाग्राही कम छन् । सेवाग्राही नआएपछि कर्मचारीहरू फुर्सदमा छन् ।मालपोत र यातायात कार्यालय छेउछाउमा कोठा भाडामा लिएर बस्दै आएका तथा फ्ल्याट र सटर लिएर अफिस तथा व्यापार व्यवसाय गर्दै आएकामध्ये अधिकांशले दशैंअघि नै कोठा, फ्ल्याट र सटर छाडेका थिए ।
यो क्रम बढ्दो छ ।दशैंपछि पनि घरजग्गा र सवारीसाधनको कारोबार नबढ्ने थाहा पाएपछि उनीहरूले कोठा, फ्ल्याट र सटर छाडेका हुन् । दशैंपछि पनि सेयर कारोबार बढ्न सकेको छैन । उल्टै सेयरको मूल्य घटिरहेको छ । दशैंको मौका छोपेर धेरै सहकारीहरू भागेका छन् । दशैं मान्न गाउँघर गएकामध्ये आधाभन्दा बढी मानिसहरू उपत्यका फर्किएका छैनन् । फर्किएका पनि कोठाको सामान लिएर फेरि गाउँ फर्किन थालेका छन् ।
भक्तपुरको थिमी, गठ्ठाघर, सूर्यविनायक, काठमाडौंको जडीबुटी, कोटेश्वरलगायत ठाउँमा कोठा सर्ने मानिसहरूको लाम छ । उनीहरू भन्छन्, ‘एकातिर काम पाउँदैन, पाए पनि तलब पाइँदैन । यति महँगो भाडा तिर्न कसरी बस्नु ? त्यसैले, हामी त आफ्नै गाउँघर फर्किन थालेका छौं ।’ गाउँ फर्किएमध्ये पनि पैसा हुनेले निजी प्लेटको सवारीसाधन तथा पैसा नहुनेले सार्वजनिक यातायातमा आफ्नो सामान हालेर लगेको देखिन्छ ।
कतिपयले त भाडा तिर्न नसकेर घरधनीलाई नै सामान छाडेको पनि भेटिन्छ । भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएको खसीबोका र च्याङ्ग्रा अझै नबिकेर त्यत्तिकै राखिएको छ । दशैंमा बिक्री नभएपछि व्यापारीहरूले किलोमै दुई सय ५० रुपैयाँसम्म मूल्य घटाएका थिए । यद्यपि खसीबोका र च्याङ्ग्राको बिक्री भने भएको छैन । दशैंपछि पसल खोलेका व्यापारीहरू पनि बोहनी हँुदैन, सामान किन्न कोही आउँदैनन् भन्छन् ।
होटल, रेस्टुरेन्टमा पनि ग्राहक कमै जाने गरेका छन् । हार्डवेयर, ब्युटीपार्लर, कपडा पसलहरूका व्यापारीहरू बिहानै आउँछन्, बेलुकासम्म पनि बोहनी नभएपछि रित्तो हात फर्किने गरेका छन् ।चार दशकअघि भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतमा बाहिरी जिल्लाका मानिसहरू खेतीपातीको काम गर्न आउँथे । उब्जनी हुने जमिन थियो । अहिले त जताततै घरैघर बनेको छ । कतै खेतीयोग्य जमिन छैन । उपत्यका तथा बाहिरी जिल्लामा घरैघर बनेपछि अहिले ज्यालादारी गरिखानेलाई पनि समस्या आइपरेको छ ।घरजग्गा कारोबारमा मन्दी आएको छ ।
सबै ठाउँमा घर बनिसकेको हुनाले काम गर्नेहरू समस्यामा परेका छन् । घर बनाउनेको संख्या घटेसँगै हार्डवेयर पसलको व्यापारमा गिरावट आएको छ । अधिकांश ग्रिल कारखाना बन्द भएका छन् । त्यहाँका मजदुर सबै विदेश पलायन भएका छन् ।जो व्यक्तिले मासिक तीन हजारदेखि पाँच हजारसम्ममा घरायसी काम गर्दै आइरहेका थिए, उनीहरूलाई पनि घरधनी तथा साहुहरू तलब दिन नसकेपछि कामबाट निकालेका छन् । विभिन्न संघसंस्था, पसल, होटल, रेस्टुरेन्टमा काम गर्नेहरूलाई पनि तलब दिन नसकेपछि जागिरबाट निकालिएको छ ।बजारमा प्रत्येक दिन महँगी बढेको छ ।
सर्वसाधारणको भान्छा महँगिदै गएको छ । दाल, चामलदेखि नुनसम्मको मूल्य बढिरहेको छ । महँगी बढिरहेको अवस्थामा एकातिर काम पाइँदैन, पाए पनि तलब पाइँदैन ।अधिकांश मानिसले दुई करोडदेखि पाँच करोड लगानीमा घर बनाएका छन् । घर सबै भाडामा लगाए । तर, अहिले त्यो घर न भाडामा जान्छ, न सस्तोमा बिक्री नै हुन्छ । हिजो पाँच करोडमा बनाएको घर अहिले करोडमा बिक्री हुन मुस्किल छ ।
बैंकको कर्जा तिर्न नसकेपछि बैंकले पनि चिठी ल्याएर घरको ढोकामा टाँसेर छरछिमेकमा प्रचार गर्नुका साथै ऋणीको तीनपुस्ते पत्रपत्रिकामा निकालिदिन्छ । सेयर लगानीकर्ताको पनि हालत उही छ । बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर दलालको लहलहैमा लागेर चार हजारमा किने । चार हजारमा किनेको सेयर अहिले चार सय रुपैयाँमा बिक्री हुन्न ।घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरू अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । हिजो नाफा हुन्छ भनेर बैंकबाट महँगो ब्याजमा कर्जा लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।
अहिले ऋण तिर्न नसकेर बैंकले सताइरहेको छ । फेरि बैंकको ऋण तिर्न न पैसा छ न घरजग्गा, गाडी र सेयर नै बिक्री हुन्छ । गाडी बनाउने वर्क सप पनि सुनसान छ । पैसा नभएपछि मानिसहरूले गाडी बनाउनुको साटो थन्काएका छन् । जसले गर्दा अधिंकाश वर्क सप बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् ।सर्वसाधारणले दैनिक उपभोग्य वस्तुसमेत किन्न छोडेका छन् । अहिले सबैभन्दा बढी व्यापार मेनपावर कम्पनीको भएको छ । पैसा हुनेहरू अमेरिका, अस्ट्रेलिया गइरहँदा कन्सलटेन्सीहरूलाई फाइदा भएको छ भने पैसा नहुनेहरू खाडी मुलुक जाँदा मेनपावर कम्पनी फस्टाएका छन् ।




